• १२ पुस २०८१, शुक्रबार

क्रिकेटमा प्रतिस्पर्धी अनवर

blog

सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–१० निवासी कलाम धोबीका छोरा अनवर अलीको उमेर नौ वर्ष मात्रै भयो ।

जेसिज अङ्ग्रेजी आवासीय विद्यालय मलङ्गवाको कक्षा १ मा पढ्ने अनवर विद्यालय सकेपछि प्रत्येक दिन मलङ्गवाको कभर्ड हलमा क्रिकेट खेलिरहेका भेटिन्छन् । अनवरले सर्लाहीबाट १६ वर्षमुनिको प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन् । 

बायाँहाते ब्याट्सम्यान र लेग स्पिन बलिङ गर्ने अनवरलाई उत्कृष्ट खेल खेल्ने भएकै कारण विद्यालयले पठनपाठनको कुनै शुल्क लिँदैन् । अनवरले क्रिकेट खेलेरै एक दिन चर्चित राष्ट्रिय खेलाडी बन्ने सोच रहेको सुनाए । 

बुवाआमाले आफूलाई पढाइ र खेललाई सँगसँगै अघि बढाउन भनेका अनवरले बताएका छन् । “दाइ अली हसन पनि क्रिकेट खेल्नुहुन्छ, मलाई पनि बुवाआमाले राम्रोसँग पढेर खेल पनि खेल्न भन्नुभएको छ,” अनवरले भने, “म भविष्यमा एक दिन ठुलो खेलाडी बनेरै छाड्छु ।” 

मलङ्गवाको कभर्ड हलमा नियमित क्रिकेट खेलको अभ्यास हेर्न आउने जो कोहीलाई पनि अनवरको खेलले आकर्षित गर्छ । मलङ्गवाका स्थानीयवासी समेत रहेका नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका सचिव सुनील ठाकुरले सानै उमेरमा अनवरले निकै उत्कृष्ट खेल प्रदर्शन गरेको देख्दा आश्चर्य लाग्ने गरेको बताउनुभयो । 

अनवरले सानै उमेरमा लोभलाग्दो खेल पस्कने गरेको ठाकुरले बताउनुभयो । परिवारका अनुसार अनवरले सात वर्षको उमेरदेखि नै क्रिकेट खेलप्रति चासो दिएर बल र ब्याट समाउन थालेका हुन् । 

अनवरका बुवाआमा कृषि पेसामा आबद्ध हुनुहुन्छ । बुवा कलाम धोबीले छोराको इच्छा अनुसार क्रिकेट खेल्नका लागि सहयोग गरिरहेको बताउनुभयो । 

कलिलो उमेरमै छोराले क्रिकेट खेलप्रति देखाएको लगावले आफूहरूलाई पनि खुसी दिएको उहाँले बताउनुभएको छ । “उसले क्रिकेट खेल्न नै रुचाउँछ, त्यसमा हाम्रो पूर्ण साथ छ,” बुवा कलामले भन्नुभयो । 

मधेश प्रदेशमा पछिल्लो समय बालबालिकालाई क्रिकेट खेलले आकर्षित गर्न थालेको छ । यहाँका गाउँ गाउँमा बालबालिका विद्यालय प्राङ्गण, चौर, खाली खेतलगायत खुला स्थानमा क्रिकेट अभ्यास गरिरहेको देखिन्छ । 

शब्द/तस्बिर : जनार्जन खत्री