• १३ साउन २०८१, आइतबार

'श्रीरामको प्राणप्रतिष्ठा अनुष्ठान’ को रौंनक'

blog

‘श्रीरामको प्राणप्रतिष्ठा अनुष्ठान’ को स्वागतमा शृङ्गारिएको नेपालगन्ज । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, माघ ८ गते । भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ को रौंनक नेपालगञ्जमा पनि छाएको छ । आइतबार रातिदेखि नेपालगञ्जको त्रिभुवन चोक, सदरलाइन लगायतका मन्दिर क्षेत्र र टोलवस्ती सजाएर राखिएको छ ।

सोमबार बिहानैदेखि नेपालगञ्जका विभिन्न स्थानमा भण्डारा, प्रसाद वितरण र रामभजनसहितका दर्जनौँ धार्मिक र्‍याली आयोजना भइरहेका छन् । नेपालगञ्जमा केही स्थानमा मुस्लिम समुदायका अगुवा पनि यस खालको कार्यक्रममा देखिएका छन् ।

गत असोजमा दुई समुदायबिच विवाद भएको घटनालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्थापन कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू प्रशासनमै बसेर कमान्डिङ गरिरहनुभएको छ ।

नगरमा निस्किएका विभिन्न र्‍यालीमा सुरक्षाकर्मीले स्कर्टिङ गरिरहेका छन् । नेपालगञ्जमा दिउँसै आतसबाजी समेत भइरहेको छ । बाँकेको नरैनापुर, जानकी र डुडुवा गाउँपालिकाले ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ दिन पारेर सोमबार सार्वजनिक बिदा दिएका छन् ।