• १५ असार २०८१, शनिबार

धानमा आत्मनिर्भर हुन चैते धानको क्षेत्रफल विस्तार गरिँदै

blog

काठमाडौँ, माघ ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पुर्‍याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ । 

चैते धान विस्तार, त्यसको विकासका लागि के के गर्नु पर्छ भनी वैज्ञानिक ढङ्गबाट अध्ययन गर्नका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई अध्ययन गरेर प्रतिवेदन बुझाउन जिम्मेवारी पनि दिएको छ । बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने भएकाले धानमा चाँडै आत्मनिर्भर भई निर्यात पनि गर्न सकिने उद्देश्यले यसको विस्तारमा जोड दिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । 

कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार चैते धानको विकास र विस्तारका लागि १८ हजार हेक्टर क्षेत्रफलमा ठुला सिँचाइ आयोजनासँग समन्वय गरी सिँचाइ सुविधा पुर्‍याएर २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन गर्न कृषि मन्त्रालयले तयारी थालेको छ । चैते धान उत्पादन कार्यक्रमका लागि करिब ३० करोड रुपियाँ खर्च हुने कृषि मन्त्रालयले जनाएको छ । 

चालु आवमा स्थानीय तहभन्दा सङ्घीय तहबाटै चैते धान उत्पादनमा लाग्ने कृषि मन्त्रालयले जनाएको छ । नार्कले बिउ वितरण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन एकाइहरूले र कृषि विभाग अन्तर्गतको कृषि विकास फार्म सुन्दरपुर कञ्चनपुर, कृषि विकास फार्म चन्द्रडाँगी झापाले सिँचाइसँग समन्वय गरेर चैतै धानको क्षेत्रफल विस्तार गर्ने कृषि मन्त्रालयको तयारी रहेको छ । 

चैते धान उत्पादन गर्दा किसानलाई बिउ उपलब्ध हुने, बिउ किन्नु परेमा ५० प्रतिशत अनुदान दिइने व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो । त्यस्तै सिँचाइ सुविधा पनि दिन कृषि मन्त्रालयले तयारी थालेको उहाँले बताउनुभयो । चैते धानको उत्पादकत्व हाल रहेको प्रतिहेक्टर ४.९७ मेट्रिक टनलाई छ मेट्रिक टन पुर्‍याउने लक्ष्य रहेको छ । हाल चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टन छ भने बर्खे धानको प्रतिहेक्टर ३.९० रहेको छ ।