• ७ जेठ २०८१, सोमबार

सूर्यविनायकमा चिडियाखाना निर्माण अनिश्चित

blog

भक्तपुर, माघ ८ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उद्यान निर्माणको कार्य अनिश्चित बन्दै गएको छ । नेपालमै पहिलो पटक निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यानको बजेट अभावमा निर्माण कार्य अनिश्चित बन्दै गएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता अजय कार्कीले प्राणी उद्यान निर्माण सम्पन्न गर्न करिब १५ अर्ब रुपियाँ लाग्ने भएकाले अहिले प्राणी उद्यान निर्माण कार्य सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यान बन्दै नबन्ने चाहिँ होइन तर कहिले बन्छ भन्ने पनि यकिन छैन ।”  

उहाँका अनुसार प्राणी उद्यानको गुरुयोजना र विस्तृत परियोजना प्रस्ताव (डिपिआर) राष्ट्रिय प्राणी उद्यानको कार्यालयले विभागमा पेस गरेको छ । डिपिआर स्वीकृत हुन समय लाग्दैन । प्राणी उद्यान डिपिआर र गुरुयोजनाका कारणभन्दा पनि बजेटकै कारणले बन्न ढिलाइ भएको हो । 

प्राणी उद्यान निर्माणका लागि नगरी नहुने संरचना निर्माण गर्न मात्र करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान छ । त्यससँगै प्राणी उद्यान क्षेत्रको भौतिक पूर्वाधार सडक, आवासीय रेस्टुरेन्ट निर्माण, रानीकोट डाँडासम्म केबुलकारबाट आवतजावत गर्न सकिने गरी गुरुयोजनामा प्रस्ताव गरिएको छ । 

अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न प्राणी उद्यान निर्माण हुन लागेकोले धेरै बजेट लाग्ने भएकाले अहिले निर्माण कार्य अगाडि नबढेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो, “सरकारले प्राणी उद्यान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थाका लागि सरकार, दातृ निकाय, अन्तर्राष्ट्रिय चिडियाखानालगायतका निकायले लगानी गर्न सक्ने सम्भावनाबारे वैकल्पिक उपायको खोजी गर्दै छ ।” अहिलै प्राणी उद्यानको आफ्नै प्रशासनिक कार्यालय निर्माण भएको छ भने २४५ हेक्टर जमिनमा तारबार घेर्नेबाहेक अन्य भौतिक रूपमा देखिने काम हुन सकेको छैन ।

विसं २०७१ मा तत्कालीन मन्त्रीपरिषद्ले सूर्यविनायकको २४५ हेक्टर जमिनमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । राष्ट्रिय प्राणी उद्यान कार्यालयका निमित्त निर्देशक भूपेन्द्रप्रसाद यादवले अहिले उद्यान कार्यालयले प्राणी उद्यानको विस्तृत परियोजना प्रस्ताव र गुरुयोजना निर्माण गरी स्वीकृतिका लागि विभागमा पठाइएको बताउनुभयो । गुरुयोजना स्वीकृत भएर नआएसम्म कुनै पनि काम अगाडि नबढ्ने भएकाले अहिले प्राणी उद्यानको काम अलपत्र बनेको छ । 

पर्याप्त बजेट र जनशक्ति भएको अवस्थामा राष्ट्रिय प्राणी उद्यान निर्माण हुन करिब १० वर्ष लाग्ने गुरुयोजनामा प्रस्ताव गरिएको छ । निर्माणाधीन प्राणी उद्यानमा बाघ, गैँडा, हात्ती, चित्तल, मृग, निलगाई, चौँरी, गोही, झारल, हुँडार, हाब्रे, बाँदर प्रजाति अजिङ्गर र सबै प्रकृतिका चरा प्रजाति रहने छन् । 

प्राणी उद्यान निर्माण भइसकेपछि अन्तर्राष्ट्रियस्तरको जैविक अनुसन्धान केन्द्रका रूपमा विकास हुने राष्ट्रिय प्राणी उद्यानले जनाएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ । उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने प्राणी उद्यान कार्यालयले जनाएको छ ।