• १० मंसिर २०८१, सोमबार

कठ्याङ्ग्रिएका समुदाय

blog

समय शीतलहरको छ । बाक्लो हुस्सुले बस्ती ढपक्क ढाकेको छ । शीतको थोपाले जस्ताको छानो भिजेको छ । घरको छानोबाट शीतका थोपाहरू तपतप चुहिरहेको छ । घरभित्र चिसो प्लास्टरमा पराल ओछ्याएर बनाइएका सुत्ने ठाउँसमेत ओसिएको छ । ओछ्यानमा डस्ना र भोटियाभित्र आफ्ना ससाना नानीबाबुहरू च्यापेर गुटुमुटु परेका छन् बस्तीका मान्छेहरू । घरबाहिर आँगनमा घुर सल्काएर बसेका छन् अलिकति तन्दुरुस्त मान्छेहरू । र, आपसमा बात मारिएका छन्, समाजका नयाँ पुराना घटित घटनाहरू, आफ्ना कथा र व्यथाहरू, केही कहानी र फकराहरू, बिचबिचमा थोरै राजनीतिका कुराहरू पनि फलाकिरहेका छन्, बस्तीका मान्छे । आकाशबाट झर्ने असिनाको थोपाले उहाँहरूले लगाएको लुगासमेत भिजिरहेको छ तर कुनै प्रवाह छैन उहाँहरूमा । आआफ्नै तरिकाले जाडोमा घुरको न्यानोको मजा लिने कोसिस गरिरहनुभएको छ उहाँहरू । सिरसिरे हावाले छेउमा रहेको रुखको पातहरू हल्लिरहेका छन् । रुखको पातबाट समेत शीतका थोपाहरू चुहिरहेका छन्, तपतप । यसरी सिमसिमे जाडो र शीतको थोपाले बस्तीका मानिसहरू परेसानी खेपिरहेका छन् । र, आफ्नै तरिकाले झेलिरहेका छन्, चिसो ।

बिहान करिब चार बजेको छ । जाडोको लामो रात र छोटो दिनको समय । रात काट्न मुस्किल । लामो दिन भेट्न मुस्किल । एकाराति निद्रा ब्युझिने बानी मेरो । बाहिर निस्किने उकुसमुकुस मन भयो । संयोगले म नजिकै रहेको खोला किनारको त्यो मुसहर बस्ती घुमफिर गर्दै एकाबिहानै पुगे । निर्वाचनपछि मेरो पहिलो प्रवेश थियो यो बस्ती । बस्तीको मुखमै घुर तापिरहेका ती मानिसहरू नजिक पुगे । घुर नजिकै हुनुहुन्थ्यो करिब ७५ वर्षकी एक ज्येष्ठ नागरिक । च्यात्तिएको भोटिया शरीरमा बेरेर गुटुमुटु परेर आगो तापिरहनुभएको थियो । छेउकै घरबाट नाङ्गै भुतुँगै एउटा नानी दुवै हात चिउरोमुनि थिचेर थरथर काँप्दै दगुर्दै आइन् । ‘दादी हमहुँ आगी तापबैय’ बजैको न्यानो काँखमा आएर बसिन । म भने दृश्य हेर्दा स्तब्ध भएँ । ‘मालिक बैठु’ परालले बनाएको पिँडी मेरो नजिक सार्दै एक जनाले आग्रह गर्नुभयो । मैले पनि उहाँहरूको आग्रह स्वीकारे र उहाँहरूको छेउमा बसेँ । त्यसपछि एकछिन त्यहाँ शान्त सन्नाटा छायो । उहाँहरूको मनभित्र धेरै कुरा रहेछ तर बोल्न सकिरहनुभएको थिएन । मैले महसुस गरिरहेको थिएँ ।

‘के छ गाउँको हालखबर’ केही बेरपछि मैले नै उहाँहरूको मुख खोल्ने जमर्को गरे । “गाउँको हालखबर ठिकै छ मालिक साहेब” छेउमै बस्नुभएका ती ज्येष्ठ नागरिकको पहिलो जवाफ थियो । त्यसपछि उहाँले थप्नुभयो, “चुनावपछि धेरै दिनमा दर्शन दिनुभयो । शीतलहरको समय गरिब दलित बस्तीहरूमा न्यानो कपडा बाँडिरहेको सुन्दै छु । हाम्रो यो १० घरका लागि पनि कतै पहल हुन्छ कि मालिक साहेब ?” “गै बुढिया चुप । अखैनी अहेन बात नै कही नेताजीके । ओतें चुनाव हारल छौ । ओकरा कहैकें हक नै छौ । अइसालकें सब राहत भूकम्प प्रभावित क्षेत्र जाजरकोटदिसन जारहल छै” ती ज्येष्ठ नागरिकको कुरा काट्दै छेउमा रहनुभएका हरि सदाले भन्नुभयो । मैले हरिलाई आग्रह गरे–“हरिजी ! बोल दियौँ दादीके । बृद्धसबके बात सुन परतै । ओइसबके बात आशीर्वाद जेंका होइछै ।” मेरो कुरापछि छेउमै बसेका एक युवकले भन्नुभयो, “हो नि, नेताजीले भनेको कुरा ठिक छ । बोल्नेलाई बोल्न दिनु पर्छ । उहाँहरू सुन्ने मान्छे हो । सुन्ने ठाउँमा हुनुहुन्छ । बोल्ने मान्छेको थोरै भए पनि मनको सन्तुष्टि मिल्छ बोलेर ।” 

यसरी उहाँहरूको बिचमा वाद संवाद लामै चल्यो । मैले भने सबैको कुरा सुन्दै गएँ । निर्वाचन हारेकोले मलाई यस्तो कुरा भन्ने हक कसैलाई नभएको केहीको तर्क थियो । “विचरा मालिकको चुनावमा कति धेरै खर्च भएको होला, तर मानिसहरूले भोट दिएनन्” दारु, मासु र दुई पैसाको लोभमा अनावश्यक मानिसलाई भोट हालेकोमा हरिले त्यहाँ ठुलो चिन्ता व्यक्त गर्नुभयो । “उहाँहरू जस्तो मालिकलाई जिताउनुपथ्र्यो । मतदाताले ठुलो गल्ती गरे । काठमाडौँ र धरानका सचेत जनताले भोट फेरेपछि अहिले कति राम्रो काम गरिरहेको सुन्दै छु । हाम्रो मधेशका जनता कहिले परम्परागत भोट फेर्ने र त्यो दिन ल्याउन जान्ने हो ?” ज्येष्ठ नागरिक बुढो जति देखिए पनि उहाँका हरेक कुरा उत्तिकै चाखलाग्दो थियो । उहाँको हरेक शब्दमा आशा, भरोसा र उत्साहका कुरा देखिन्थे तर केही नयाँ र समाज पढे जानेका मानिसहरू भने केही निराशाका कुरा त केही स्वार्थका कुरामा अल्झिरहेका देखिन्थे । जोसँग समाजले परिवर्तनको अपेक्षा गर्छन्, उनीहरूमा यस्तो सोच चिन्तन देखा पर्नु दुःखद दृश्य देखिरहेको थियो ।

मलाई ज्येष्ठ नागरिकको कुरा बडो मजा लागिरहेको थियो । तर अरूलाई उहाँको कुरा राम्रो लागिरहेको थिएन । मैले उहाँलाई बोल्न उत्साह थपेको थिएँ । यसरी लामो संवाद र प्रश्नको वर्षामा केही वर्तमानका कुरा, केही भविष्यका कुरा र केही विगत र विरासतका कुराहरू बेजोडले चल्यो । ज्येष्ठ नागरिकको माइतीघर लहान सहरमा रहेछ । त्यसैले सानैदेखि उहाँको नेपाली, मैथिली भाषा र ज्ञान तथा राजनीतिक रूपमा समेत राम्रो दखल रहेको मैले अनुभव गरेँ । १० सालमा कलिलै उमेरमा बुबाआमाले खडक नदी गाउँमा बिहे गरिदिनुभएको रहेछ । कलिलै उमेरमा उहाँ चार सन्तानकी आमा बन्नुभयो । दुई सन्तान विभिन्न रोग र भोकमरीले आफ्नै अगाडि बितेको पीडा उहाँसँग छ । अहिले आफ्नो न्यानो काँखमा नातिपनातिहरू खेलाई रहनुभएको छ, हुर्काइ रहनुभएको छ । आजकलको जमानामा यतिका उमेर र जिन्दगी बाँच्न मुस्किल छ । त्यसैले उहाँसँग लामो कालखण्डको लामो इतिहास, ज्ञान र अनुभव छ । “यो दस घर पनि चार वर्षको खुला आकाशमुनिको लामो कष्टकर जीवनपछि नयाँ निर्वाचित मेयर साहेबले बनाई दिएको घर हो” लामो सास तान्दै ती ज्येष्ठ नागरिकले भन्नुभयो ।

पहिलो पटक चुनाव जितेको मेयरले यो बस्ती पक्कीको बनाई दिन्छु भनेर बस्ती नै भत्काउनुभएको रहेछ तर उहाँले आफ्नो कार्यकालमा बस्ती बनाउन सक्नुभएन । भत्काउन मात्र सक्नुभयो । पक्कीको घरमा सुत्न पाइने भयो भनेर मुसहर बस्तीका मानिसहरू खुसीले गद्गद् थिए तर बस्ती भत्केपछि तीन जनाले मुद्दा हाले छन् । एक जनाले यो बस्ती आफ्नो जग्गामा रहेको दाबी गर्नुभयो । अर्कोले आफ्नो नम्बरी जग्गाको बाटो बन्द गरेको भनेर निवेदन ठोक्नु भएछ र अर्कोले सार्वजनिक जग्गामा कुनै व्यक्ति र निश्चित समुदायले घरटहरा बनाउन पाउनु हुँदैन, यो सबैको साझा सम्पत्ति हो भनेर अदालतको अन्तरिम आदेशबाट रोक्का गर्नुभएको रहेछ । बस्ती बनाई दिने र मुद्दा हाल्ने चारैजना उहाँहरू सबै एउटै वर्ग चरित्रका हुनुहुन्थ्यो । जसको पुर्खौली इतिहास नै समाजलाई दमन, शोषण, उत्पीडन र विभेदमा जाँकेको निरन्तर इतिहास छ । यस्तै शासक र मालिकहरूले समाजमा युगसापेक्ष सबै खाले जातीय, क्षेत्रीय, लैङ्गिक र धार्मिक विभेद र छुवाछुत जस्तो अमानवीय विभेदका पर्खालहरू खडा गर्नुभएको हो र निमुखा सर्वसाधारण नागरिक यसलाई बोक्दै आएका हुन । उदार र निमुखा हृदय भएका ती निमुखा निर्धाहरू फेरि उहाँहरूबाटै आफ्नो मुक्ति, अधिकार, स्वतन्त्रता र मानवीय समाज निर्माणको सपना देख्दै आएका छन् र उहाँहरूलाई बोक्दै आएका छन् । अहिलेको लोकतान्त्रिक युगमा पनि उहाँहरूलाई नै भोट दिएर आफ्नो मानवीय जीवन खोजिरहनुभएको छ । सामाजिक मनोविज्ञान कस्तो विडम्बनापूर्ण छ ?

बाघ कहिले घास खाँदैन । मासु नै खाने प्राणी हो तर हामी बाघलाई जहिले पनि घास खुवाउने लोभमा निरन्तर मासु खुवाउँदै आएका छौँ । यो सबैभन्दा दुर्भाग्यको कुरा हो मानव जीवनको । जसले आफू स्वयम्लाई पहिचान गर्न सकेनन् र आफ्नो वास्तविक शत्रुलाई छुट्याउन सकेनन् । जहाँ गुलियो त्यहाँ भुलेको अवस्था नै आजसम्मको मानवीय चेतनाको परिणाम हो । यसरी १० घरपरिवारका मानिसहरू करिब चार वर्षदेखि खुला आकाशमुनिको जीवन बिताउन विवश थिए । ७५ वर्षीया ज्येष्ठ नागरिकले भन्नुहुन्छु, “हामीले पुस्तौँदेखि बसोबास गरेको जमिन कसरी अरूको हुन्छ ? कसरी सार्वजनिक भयो ? मालिकहरूको नम्बरी कसरी बन्यो ? बाबु, नेपालको कानुन बुझ्नै सकिने भएको छैन । कसको हो ? कसका लागि बन्छ ? हामी त केही होइन रहेछौँ । हामीसँग एउटा शरीर मात्र छ । जन्मदेखि मृत्युसम्मको जीवन अरूकै आशीर्वाद रहेछ ।” आफ्नो पक्षका नयाँ निर्वाचित मेयरले बस्तीमाथि परेको मुद्दा फुकुवा गर्दै यो बस्ती निर्माण गरेको ठुलो गुण लागेको छ यतिबेला यो बस्तीमा । आवास निर्माण भएकोमा उहाँहरू निकै खुसी देखिनुहुन्थ्यो । नयाँ मेयरप्रति बस्तीका मानिसहरू नस्तमस्तक छन् ।

उहाँहरूले पाउनुभएको एक परिवार बराबरको दुईकोठे सानो घर उहाँहरूका लागि पर्याप्त भने छैन । परिवारमा छोराछोरी र आमाबाबुको लाज छोप्ने गरी सुत्ने ठाउँ पनि पुग्ने स्थिति देखिँदैन । गर्मीमा अत्यधिक गर्मी । जाडोमा अत्यधिक जाडो हुन्छ । कठ्याङ्ग्रिएर धेरैको ज्यान जाने अवस्थाको जोखिम छ जनता आवासको नाममा । छेउमा बसेका शीतल मुसहर भन्नुहुन्छ, “योभन्दा राम्रो र न्यानो त फुस र परालकै घर थियो । जाडोमा त्यति जाडो नहुने । गर्मीमा त्यति गर्मी नहुने । ठिकको अर्गानिक संरचना परालको घर हुने रहेछ ।” पहिलेको जमानामा पनि मालिकहरूले अछुत भनेर जग्गा जमिन राख्न नपाउने र गैरदलित बस्तीले फोहोर फाल्ने ठाउँमा बस्तीको छेउकुनामा दलित बस्ती बसाउने चलन थियो । अहिले के नै परिवर्तन भएको छ र ? फरक यति हो यसको ठाउँमा आजकल सरकार र सामन्ती नेताहरू मिलेर बस्तीभन्दा अझ अलग जङ्गलझार, खोला किनार र त्यस्तै काम नलाग्ने सार्वजनिक जग्गामा जनता आवासको नाममा नयाँ विभेदको संरचना खडा गरेको देखिन्छ तर पनि उहाँहरू सन्तुष्ट हुनुहुन्छ युगसापेक्ष सामन्तीहरूको विभेदमा । यतिका सन्तुष्ट मानिस संसारमा कुन समुदाय छन् ?


म एकोहोरो सुन्दै गए । र, उहाँहरू बिस्तारै खुल्दै जानुभयो । मनको उवापोह पोख्दै जानुभयो । बलियो प्रमाण भूतभोगीहरूको हातमा हुने गर्छन् । नक्कली शासकहरूको हातमा कोरा बोली, व्यवहार र शासन मात्र हुन्छन्, जालझेल र षड्यन्त्रमा मात्र बाँच्छन् । आफ्नो आयु त्यही देख्छन् उनीहरू । त्यो पनि शोषणको बलमा । यस्तो भनिरहँदा एक जना जनप्रतिनिधि (वडाका दलित जनप्रतिनिधि) टक्टकिनुभयो । मैले जिद्दी गर्दै भनेँ, “चिसोको समय छ । यस्तो समयमा भगवान्ले पनि एक नजर हेर्छ । हामी त मानव हौ । आँखा चिम्लेर शासकहरूको समर्थन गर्न सकिँदैन । यसरी हरेक हिसाबले कठ्याङ्ग्रिएको समुदायलाई हामीले पनि एक नजर हेर्नु पर्छ । यो दुई दिनको जिन्दगीमा सेवा नै धर्म हो ।”

यति बेला मुलुकको सीमान्तकृत समुदाय जाडोले मात्र कठ्याङ्ग्रिएको छैन । राज्यको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा जातीय क्षेत्रीय हिसाबले समेत कठ्याङ्ग्रिएका छन् । हरेक हिसाबले कठ्याङ्ग्रिएका ती समुदायका मानिस जीवनभर न्यानोको खोजीमै कैयौँ पुस्ता बितिसकेका छन् । यो युग र पुस्तामा मात्र होइन, उहाँहरू आजसम्म मानिस भएर पनि मानिसको दर्जा पाएका छैनन् । माटोमा जन्मेर पनि एक इन्च माटोको मालिक हुन पाएका छैनन् । पुस्तौँदेखि उहाँहरूसँग भूमिहीनता र सुकुमवासीको कथा छ । अरूको जमिनमा हजारौँ भकारी अन्न उब्जाएर एक छाक राम्रोसँग खान नपाएको व्यथा छ । यो देशको नागरिक भएर पनि युगौँदेखि उहाँहरूसँग नागरिकको कुनै परिचय र प्रमाणपत्र नरहेको इतिहास छ । यो सबै खाले भीमकाय अन्याय, अत्याचार, शोषण, दमन, अत्याचार, छुवाछुत, विभेद र उत्पीडनबाट मुक्ति पाउन आजसम्म भएका आन्दोलन, क्रान्ति र विद्रोह लडे बलिदान गरे तर उहाँहरूका लागि आजसम्म एउटा पनि आन्दोलन, विद्रोह र व्रmान्ति अर्थात् परिवर्तन आफ्नो हुन सकेनन् । यसरी एउटा चिसोले मात्र कठ्याङ्ग्रिएको छैन, हरेक हिसाबले कठ्याङ्ग्रिएका र ठगिएका छन्, तराईका दलित समुदाय ।