• ५ जेठ २०८१, शनिबार

वीरताको गाथा नालापानी

blog

नेपालीको वीरताको कुरा गर्दा नालापानी किल्लाको लडाइँ र त्यो लडाइँमा बलभद्र कुँवरको साहसिक युद्ध कलाको कुरा नेपाली इतिहासको अध्ययनमा धेरै पटक आउने गर्दछ तर त्यो वीरताको इतिहास बोकेको स्थान अहिले कहाँ छ र त्यो स्थान संरक्षणको अवस्था के छ ? यो विषय कतिपय नेपालीलाई थाहा नहुन सक्छ । 

दुई सय वर्षअघि तत्कालीन ब्रिटिस शासनको साम्राज्य विश्वभरि फैलिएको बेला नेपाली सैनिकले नालापानी किल्लामा अङ्ग्रेजलाई धुलो चटाएका थिए । नालापानी किल्लामा हतियार र गोलाबारुदसहित रहेका अङ्ग्रेज सेनालाई सामान्य खुकुरी, धनुषवाण र घरायसी हतियारको बलमा नेपाली सेनाले तीन पटक हराएको थियो । 

संवत् १८१४ मा नालापानी किल्लामा ठुलो शक्तिका साथ आधुनिक हातहतियारसहित आक्रमण गरेको अङ्ग्रेज फौजलाई नालापानी किल्लामा बलभद्र कुँवर नेतृत्वको नेपाली सेनाले कडा प्रतिवाद गरेको  थियो । अङ्ग्रेजका सेनापति मेजर जनरल रोबर्ट रोलो जिलेस्पीको नेतृत्वमा आएको अङ्ग्रेज सेनाले नेपालको पश्चिमको अन्तिम पोस्ट नालापानीमा आक्रमण गरेको थियो । नेपाली सेनाले खुकुरी, धनुषवाण, ढुङ्गामुढासहित घरायसी हतियारको बलमा दुस्मन सेनालाई ठुलो क्षति पु-याएको थियो । साढे तीन हजार सेना लिएर तत्कालीन नेपालको पश्चिमको अन्तिम किल्ला कब्जा गर्न आएका अङ्ग्रेज सेनाले तीन पटकसम्म नराम्रोसँग हार बेहोरेको थियो । 

ठुलो तयारीका साथ तीन पटकसम्म आक्रमण गर्दा पनि अङ्ग्रेज सेनाले नालापानी किल्ला कब्जा गर्न नसकेपछि चौथो पटक नालापानी किल्लामा जाने खानेपानीको मुहान बन्द गरिदिएर मात्र नालापानी किल्ला कब्जा गर्न सफल भएको थियो । यस युद्धमा अङ्ग्रेज सेनाका आठ सय सेनासहित सेनापति मेजर जनरल जिलेप्सी मारिएका थिए । नेपालको तर्फबाट बलभद्र कुँवरको नेतृत्वमा नेपाली सेना महिला र बालबालिकासमेत यो युद्धमा वीरताका साथ लडेका थिए । 

अङ्ग्रेज सेनाले नालापानी किल्लामा पानीको मुहान बन्द गरी मुहान कब्जा गरेपछि पानीको अभावमा कुँवर नेतृत्वको नेपाली सेना नालापानी किल्लामा लड्न फेरि आउने छौँ भन्दै ७० सैनिक लिएर किल्लाबाट बाहिरिएका थिए । पानीको अभावमा नेपाली सेनाले नालापानी किल्ला छाडेपछि अङ्ग्रेज सेनाले बल्ल किल्ला नियन्त्रणमा लिएको थियो । त्यसपछि भारतीय अङ्गे्रज सरकार र नेपालबिच १८१६ मा सुगौली सन्धि भएको र नेपालको नालापानी किल्लासहितको ठुलो भूभाग नेपालबाट अलग्गिन पुगेको थियो । 

नालापानीमा वीरताको इतिहास बनाएर नालपानीबाट बाहिरिएका कुँवर अङ्गे्रज सेनाविरुद्ध लडनु पर्छ भन्दै फेरि पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ती हुनुभएको थियो । पञ्जाबका राजा सिंहको तर्फबाट अङ्ग्रेजसँग लड्दालड्दै १८२४ मा अफगानिस्तानमा कुँवर मारिनुभएको थियो । कुँवरका बुवा चन्द्रवीर कुँवर सेनाको माथिल्लो ओहोदामा हुनुहुन्थ्यो । त्यस कारण अमरसिंह थापाले दरबारमा पत्र लेखेर पठाएपछि कुँवरलाई कप्तानीको जिम्मा दिइएको थियो । १८१३ सालमा कुँवरलाई नलापानी किल्लाको सुरक्षा जिम्मा दिई त्यता पठाइएको थियो । 

१८१४ देखि १८१६ सम्म नेपाल र अङ्ग्रेजबिच नेपालका विभिन्न नाकामा युद्ध चलेको थियो । नेपाल र अङ्ग्रेजबिच १८१६ सालको अक्टोबर–नोभेम्बरसम्म नालापानीमा युद्ध चलेको थियो । नालापानी युद्ध नै नेपाल र अङ्ग्रेजबिचको अन्तिम युद्ध थियो । युद्धपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार    (भारतीय अङ्ग्रेज सरकार) ले नालापानी किल्लामा मारिएका आफ्ना सेनापति जनरल जिलेस्पी र नेपाली कमान्डर वीर योद्धा कुँवरको सम्मानमा दुई वटा स्तम्भ (स्मारक) बनाएको थियो । स्तम्भमा राखिएको शिलामा अङ्ग्रेज सरकारले नेपाली सेनालाई ‘वीर शत्रु’ भनेर सम्मान गरेको शिलालेख आज पनि भारतको देहरादुनमा बनाइएको स्तम्भ हेर्न सकिन्छ । नालापानीमा लडाइँ सकिएपछि अङ्ग्रेजहरूले नेपाली सेना र कुँवरको प्रशंसा गरेर लेखेका थिए । स्तम्भ रहेको स्थानलाई भारत सरकारको पुरातìव विभागले संरक्षण गरेर राखेको छ । 

नेपालीले गर्व गर्ने त्यो लडाइँको स्थान नालापानी किल्ला नेपालीको वीरताको प्रतीक नालापानी किल्ला सुगौली सन्धिपछि भारतीय भूभागमा पर्न गयो । नालापानी किल्ला अहिले भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा रहेको छ । देहरादुनको मुख्य बजारदेखि करिब १५ किलोमिटर उत्तरपूर्वको पहाडी भागमा रहेको छ । अङ्ग्रेज सेनालाई हराएर नेपाली सेनाले कीर्तिमान कायम गरेको नालापानी किल्ला जङ्गलको बिचमा पहाडी टापु सामान्य पर्खाल लगाएर राखिएको भए पनि यसको ऐतिहासिकता झल्कने खालका पुराना स्थान एवं वस्तुहरूको संरक्षण हुन सकेको छैन । नेपाली सङ्घर्षको इतिहासमा अत्यन्तै गौरवको विषयका रूपमा रहेको नालापानी किल्ला भौगोलिक हिसाबले भारतीय भूभागमा रहेकाले यसको संरक्षणको दायित्व कसको हुने भन्ने विषय स्पष्ट हुन नसक्दा यो ओझेलमा परेको छ । 

भारतमा बस्ने नेपाली भाषी र सामाजिक सङ्घ संस्थाहरूको पहलमा नालापानी किल्लाको माथिल्लो भागमा पर्खाल बनाएर एउटा स्तम्भ बनाइएको छ । स्तम्भको तल्लो भागमा एउटा मार्बलको शिलामा अङ्ग्रेजी भाषामा नालापानीको सामान्य परिचय लेखिएको भए पनि वीरताको इतिहास झल्कने अन्य कुनै वस्तु वा लिपिबद्ध गरिएको कुनै दस्ताबेज वा संरचना छैन । स्तम्भ बनाइएको किल्लाको चारैतर्फ बाक्लो जङ्गल रहेको छ । युद्धका बेलामा अङ्ग्रेजहरूले किल्लाको माथिल्लो भागमा बम प्रहार गरेका कतिपय स्थानमा फुटेका ढुङ्गाहरू, पानीको मुहान, किल्लामा ल्याइएको पानीको कुलो, तल्लो मैदानी भागमा बेस बनाएर अङ्ग्रेजहरूले गरेको आक्रमणका स्थानहरू सबै अहिले क्रमशः अतिक्रमित हँुदै गएका छन् भने ऐतिहासिक किल्लाको ऐतिहासिक पहिचान हराउँदै जाने खतरा बढेको छ । यो क्षेत्रलाई केन्द्र बनाएर नालापानी युद्धको सङ्ग्रहालय बनाउन सकिने अवस्था रहे पनि यो काम भारत सरकारले गर्ने वा नेपालले गर्ने वा दुवै सरकारको संयुक्त योजनामा बन्ने भन्ने विषयमा कूटनीतिक रूपमा टुङ्गो लागेको छैन । नेपाली सेनाको साहसिक युद्धका कारण नै तत्कालीन विश्व साम्राज्य कायम गरेको ब्रिटिस सरकारले गोरखा (नेपाली) लाई साहसीका प्रतीकका रूपमा सम्मान गर्न थालेको इतिहास छ । 

पछिल्ला केही वर्षदेखि नेपाली सेनाले देशभित्रका ऐतिहासिक गढी र किल्लाहरूको खोजी गरी संरक्षण गर्ने काम सुरु गरेको भए पनि नालापानी किल्लाको संरक्षणको विषयमा कुनै योजना बनाएको पाइएको छैन । देहरादुन एवं उत्तराखण्ड क्षेत्रमा भएका नेपालीका केही सामाजिक सङ्घ संस्था, केही अगुवा नेपालीको तत्परतामा हरेक वर्ष नोभेम्बर महिनामा खलङ्गा (नालापानी युद्ध स्मृति) दिवस मनाउने गरेको छ । अहिलेसम्म नेपाल सरकारको तर्फबाट यसलाई प्रवर्धन वा अध्ययन अनुसन्धानको कुनै पनि योजना बनाएको पाइएको छैन । 

नेपालबाट पछि गएर बसेका नेपाली एवं पहिलादेखि नै बसोबास गर्दै आएका नेपाली भाषीका सामाजिक सङ्घ संस्था जस्तै वीर गोरखा कल्याण समिति, गोरखा सोसलिस्ट कल्चर फाउन्डेसन, बलभद्र खलङ्गा विकास समिति, गोरखा डेमोक्रोटिक फ्रन्ट जस्ता सामाजिक संस्थाहरूको अगुवाइमा नालापानीको किल्लामा नालापानी स्मृति स्तम्भ बनाइएको हो । 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनारसमा रहेको पशुपतिनाथ मन्दिरको संरक्षणका लागि भन्दै कतिपय आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गरेको छ भने भारत सरकारले पनि नेपालमा भारतीय दूतावासमार्फत भारतीय भाषा संस्कृति संरक्षणलगायतमा बजेट रकम छुट्याउने प्रचलन रहेको छ । नेपालीको ऐतिहासिक वीरताको प्रतीक नालापानी किल्ला अहिले सीमाङ्कनको हिसाबले भारतमा भए पनि हाम्रो इतिहासको संरक्षणका लागि नेपाल सरकारले पहलकदमी लिनु पर्दथ्यो तर त्यसो हुन सकेको छैन । 

नालापानी किल्लादेखि करिब १० किलोमिटर पश्चिमको मैदानी भागमा सहस्रधारा सडक किनारमा अङ्ग्रेजहरूले नै नेपालीको वीरतालाई सम्मान गर्दै शिलालेखमा वीर दुश्मन भन्दै बलभद्र कुँवरको नाम लेखेको स्मारकमा बलभद्रको थर कुँवर नभएर बलभद्र थापा लेखेको छ । त्यो लिखत सुधार्नसमेत भारत सरकारसँग नेपालले आग्रह गर्नुपर्ने देखिन्छ । देहरादुनमा मात्रै करिब १० लाख नेपाली भाषीको बसोबास रहेको भए पनि निर्णायक स्थानमा नहुँदा नालापानी (खलङ्गा) किल्लाको अध्ययन, अनुसन्धान तथा संरक्षणको कामले तीव्रता पाउन सकेको छैन । नेपालले भारत सरकारसँग कूटनीतिक छलफल गरेर नालापानी क्षेत्रलाई संरक्षण गर्दै युद्ध सङ्ग्रहालय निर्माणका लागि पहल गर्नु उपयुक्त देखिन्छ ।