• ५ जेठ २०८१, शनिबार

जाडो र फेसन

blog

भनिन्छ, “फेसन गर्नेहरूलाई कुनै पनि मौसमले छेक्दैन । चिसो होस् वा गर्मी मौसम आफूलाई फेसनेबल बनाउनेको जमात बढ्दो देखिन्छ ।” शिरदेखि पाउँसम्म शरीरलाई न्यानो बनाउने खालका लुगा मात्र नभएर फेसनेबल र स्टाइलिस्ट लुगा खोज्ने धेरै हुन्छन् । युवा पुस्ता, महिला, पुरुषदेखि अभिनेता, अभिनेतृहरू सबैलाई फेसनेबल देखाउने चाहना हुन्छ । 

पारदर्शी र छोटा लुगा लगाउँदा मात्र फेसनेबल र स्टाइलिस्ट देखिन्छ भन्ने सोच गलत हो । फेसन गर्नेहरूलाई जाडो न गर्मी कुनै मौसमले फरक पार्दैन, आफूलाई कस्तो लुगा सुहाउँछ भन्ने ज्ञान भए जहिले पनि फेसनेबल देख्न सकिन्छ । दिनप्रतिदिन चिसो बढ्दै छ; जसले गर्दा शरीरमा लगाइने कपडा पनि थपिँदै छ । काठमाडाँैस्थित विभिन्न कपडा पसल, मल, सपिङ सेन्टरहरूमा थरीथरीका फेसनेबल न्याना लुगाहरूले भरिभराउ देख्न सकिन्छ । चिसोबाट शरीरलाई न्यानो बनाइराख्न लुगा किन्नेहरूको निकै भिड देख्न सकिन्छ ।  फेसन डिजाइनर तथा कासा बुटिङका प्रोपाइटर रमिला नेम्कुलले जाडो महिनामा विशेष गरी महिलाका लागि अनेक थरी कपडा बजारमा पाइने बताउनुभयो । “उनी (उलन) र मखमलको कपडा जाडो महिनाका लागि उपयुक्त मानिन्छ,” उहाँले भन्नुभयो, “कामकाजी महिलाको हकमा लामो लङ कोटमा प्लाजो पाइन्ट वा वानपिस जाडो मौसमका लागि उपयुक्त हुन्छ । कोटमा हिपसम्मको सर्ट कोट पनि राम्रो देखिन्छ । लङ कोट पनि अहिले चलेको फेसनमा पर्छ ।” 

रङको हिसाबमा कुरा गर्दा जाडोयाममा गाढा कालो रङका कपडा बढी प्रयोग गर्दा राम्रो हुन्छ । भेला, लाइव्रmा जस्ता कपडाले न्यानो बनाउँछ । डिजाइनको कुरा गर्दा क्याजुअल पोसाकमा प्यारलल पाइन्ट र लङ कोटहरू जाडोका लागि उपयुक्त हुन्छ । यता नायिका स्वस्तिमा खड्कालाई जाडोमा लङ कोटमा प्लाजो लगाउन मन पर्छ । आफूलाई सुहाउँदो र मौसम अनुकूलको कपडा लगाउँदा बढी फेसनेबल  देखिन्छ । सबै शरीर ढाकेर पनि कपडाको रङ र कपडाको आकारको आधारमा फरक फेसन देखाउन सकिन्छ, उहाँको अनुभव छ । 

नायक अनमोल केसीलाई पनि जाडो महिनाको फेसनले मन जितेको छ । जाडोमा लङ कोट र बुट लगाउन मन परेको उहाँ बताउनुहुन्छ । फेसनका साथसाथै न्यानो पनि हुने भएकाले जाडोमा कोट जहिले साथमा हुने उहाँको भनाइ छ । जाडो बढ्दै जाँदा सहरमा लेडिज बुटहरू नभई नहुने चिज हो । यस्ता बुट न्यानो मात्र नभएर यसले फेसनेबल देख्न पनि मद्दत गर्छ । विभिन्न कम्पनीले न्यानो र फेसनेबल बुटहरू बजारमा ल्याएपछि युवतीको मन कसरी नजाओस् ? अहिले न्यानो मात्रै भएर पुग्दैन, स्टाइलिस र स्मार्ट पनि देखिने चाहना हुन्छ । अहिले बजारमा पाइने बुटहरू कतिपय नयाँ डिजाइनका र कतिपय भने पुरानै डिजाइनका छन् । तैपनि पहिरन अनुसार बुट लगाउने प्रचलन बढ्दो छ । जसको प्रभाव बुटमा पनि पर्छ । पहिरन र उमेर अनुसार पनि बुटको रोजाइमा फरक पर्ने गरेको छ । विशेष गरी काठमाडौँमा बढी चिसो र अन्य सहरको तुलनामा कामकाजी महिलाको सङ्ख्या पनि धेरै हुन्छ । उहाँहरू सहज, न्यानो र फेसनेबल बुट रोज्छन् । आफ्नो पेसा अनुसार पनि बुट रोज्ने गर्छन् । 

बजारमा एङ्कल र नी बुटहरू आएका छन् । तिनमा पनि कपडा, लेदर, भेल्बेटलगायतबाट निर्मित थरीथरी मूल्यका बुट उपभोक्ताको रोजाइमा परेका छन् । अहिले उलनका न्याना कुर्ताहरू पनि टे«न्डमा आएको छ, यु्वादेखि पाका उमेरसम्मका महिलाको विशेष रोजाइमा पर्न सफल भएको व्यापारी रितु श्रेष्ठले बताउनुभयो । “उलनको कुर्ती, उलनकै सुरुवाल र सलले कामकाजी महिलालाई आकर्षक मात्र देखाउँदैन, फेसनेबल पनि देखाउँछ,” श्रेष्ठले भन्नुभयो । थरीथरीका बुट्टा र डिजाइनले भरिएका उलनका कुर्तीलाई धेरै महिलाले आरामदायी पहिरनका रूपमा प्रयोग गरेको उहाँ अनुभव सुनाउनुहुन्छ । फेसन डिजाइनर नेम्कुलका अनुसार जाडोमा टसर सिल्क, मुँगा, खादी, भेल्बेट फेब्रिक लगाउँदा स्टाइलिस देखिनुका साथै चिसोबाट पनि बचाउँछ । उहाँ भन्नुहुन्छ, “कालो, सेतो र ग्रे जाडोको रङ हो ।” जाडोमा शरीरलाई न्यानो राख्नका लागि सूर्यको किरण सोस्ने भएकाले गाढा रङको पहिरन लगाउनुपर्ने उहाँको भनाइ छ । 

जाडो मौसममा कस्तो भित्री वस्त्र लगाउने भन्ने चिन्ता सबैलाई हुन्छ । यस्ता कपडा लगाउनु भनेको जाडोबाट जोगिनु मात्र होइन, फेसनमा रमाउनु पनि हो । भित्री कपडा न्यानो र कसिलो भयो भने बाहिरबाट उकुसमुकुस हुने गरी बाक्लो स्वेटर वा ज्याकेटहरू लगाइरहनु पर्दैन । हल्का र छरितो कपडा बाहिरबाट लगाउँदा हिँडडुल गर्न सहज हुन्छ ।  नेपाली बजारमा धेरै किसिमका भित्री पहिरन उपलब्ध छन् । जाडो मौसम सुरु हुनासाथ यस्ता कपडाको माग बढ्छ । ठुला व्यापारिक मल वा कम्प्लेक्समा ब्रान्डेड भित्री पहिरनका छुट्टै पसल सञ्चालित छन् । थर्मल (थर्मकोट), मोजा, हाइनेक, स्टकिङ, नाइट गाउन जस्ता पहिरन जाडोमा धेरै बिक्री हुन्छन् । पसिना नगन्हाउने तथा एलर्जीको समस्या नहुने भएकाले फेसनेबल पुस्ताले ब्रान्डेड पहिरन बढी रुचाउने व्यवसायीहरू बताउँछन् । बजारमा जाडोका लागि भनेर विभिन्न कपडाको रोजाइ बढेको छ । 

बाक्लो पहिरनबाट बच्ने

चिसोबाट बच्न धेरैले बाक्लो र धेरै पहिरन लगाउँछन् । यसले जाडोबाट बचाए पनि भद्दा देखाइरहेको हुन्छ । चिसोबाट बच्नुका साथै फेसनेबल देखिनका लागि लेयरिङ पहिरन लगाउनु पर्छ । हल्का पातलो हाइनेकसँग ज्याकेट वा कोट लगाउन सकिन्छ । फुल स्लिभ टिसर्टमाथि स्वेटसर्ट लगाउँदा शरीर न्यानो हुन्छ र स्टाइलिस पनि देखिन्छ ।

लङ कोट

जाडो मौसमको फेसनमा लङ कोट छुटाउन सकिँदैन । यसले जाडोमा न्यानो बनाउनुका साथै फेसनेबल एवं स्टाइलिस लुक दिन्छ । यो अफिस वा क्याजुअल वेयरका रूपमा लगाउन सकिन्छ र पार्टी वेयरमा पनि लङ कोट फिट हुन्छ । यसको विशेषता भनेकै जुनसुकै पहिरनसँग पनि मिलाएर लगाउन सकिने हो । साडी, कुर्ता होस् वा वेस्टर्न पहिरन, जिन्स होस् वा फर्मल; सबै पहिरनसँग मिलाएर लगाउन सकिन्छ ।

ज्याकेट

डेनिम ज्याकेट, लेदर ज्याकेट प्रायः सबैसँग हुन्छ । यसको क्रो ज सधैँ देख्न सकिन्छ । यो हरेक मौसममा उपयोगी हुन्छ । हाइनेक टिसर्ट र कालो जिन्ससँग डेनिम ज्याकेट निकै खुल्छ । यसमा हाई हिल लगाएर ग्ल्यामर लुक दिन सकिन्छ । डार्क ब्राउन, मरुन, कालो, डार्क ग्रिन रङको लेदर ज्याकेटसँग निलो जिन्स लगाउन सकिन्छ । यो ज्याकेट जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । ज्याकेटको विशेषता भनेकै जुनसुकै पहिरनसँग मिलाएर लगाउन सकिने हो ।

उलन टिसर्ट

हल्का चिसो मौसमका लागि बजारमा विभिन्न स्टाइलका उलन टिसर्ट उपलब्ध छन् । उन, सुती तथा भेल्बेटमिश्रित टिसर्ट विशेष गरी भिनेक, हाइनेक तथा राउन्ड नेकमा उपलब्ध हुन्छन् । 

 स्वेटर

अहिले हल्का उलन स्वेटर प्रचलनमा छ । भी नेक, क्लोज नेक, चेक, ननचेक, स्ट्रिप तथा ननस्ट्रिप जस्ता डिजाइनमा उपलब्ध जिपर र बटन दुवै स्टाइलमा पाइन्छ । 

हुडी

हुडी अहिलेको मौसमका लागि निकै उपयोगी पहिरन हो । पाँच–छ वर्षदेखि फेसनमा रहेको हुडी प्रायः कटनबाट तयार गरिन्छ । हुडी जिपर र नन जिपर, टोपी भएको वा नभएको जस्ता स्टाइलमा उपलब्ध हुन्छन् । अहिले हुडीको लुज र बडी फिटिङ स्टाइल फेसनमा छ । 

ट्राउजर पाइन्ट

जिन्स, फर्मल पाइन्टबाहेक अहिले स्ट्रेचेबल ट्राउजर पनि फेसनमा छ । पाइन्ट तथा ट्राउजरमा निलो र कालो रङ बढी चलेका छन् । 

ढाकाको कोट

परम्परागत रूपमा तयार पारिएको फेसनेबल कोट सबैको रोजाइमा परेको छ । जाडो या गर्मी दुवै मौसममा लाउन मिल्ने ढाकाको कोट भोजभतेरदेखि अफिसका लािग पनि उपयोगी हुन्छ । जसको मूल्य दुई हजारदेखि पाँच हजार रुपियाँसम्म पर्ने गरेको छ ।