• १३ साउन २०८१, आइतबार

७ वर्षमा पनि सडक नीतिले समेट्न सकेन स्थानीय तह

blog

चौबिसे गाँउपालिकाको केन्द्र जोड्ने निर्माणाधिन भेडेटार राजारानी रबि राके सडक खण्ड । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे

हिले, माघ ५ गते । कोशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चार वटा बाटो अहिले सञ्चालनमा छन् । त्यस्तै, मध्येपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ । तर यीमध्ये कुनैपनि सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । 

हिउँदमा सबै बाटो सञ्चालनमा आएपनि वर्खामा भने सबै बाटोको यात्रा कष्टकर हुन्छ । स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संघीय सरकारको नीति थियो । तर सरकारको यो नीतिले महालक्ष्मी नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । 

कोशी राजमार्गको सिदुवा बजार हुँदै लेगुवाघाट जोड्ने २३ किलोमिटर सडक कालोपत्रे गर्न पाँच वर्ष अघि नै संघीय सरकारलाई सिरफारिस गरिएको थियो । त्यस्तै कोशी राजमार्गको त्रीसुलीबाट जितपुर जोड्ने सडक पनि कालोपत्र गर्ने चर्चा पटकपटक चल्ने गर्छ । तर महालक्ष्मी नगरपालिका स्थापना भएको करिब ७ वर्ष पुरा हुँदा पनि कुनैपनि सडक कालोपत्र बन्न सकेको छैन । सडक कालोपत्रे गर्न माग गर्दै पटकपटक मन्त्रालय धाउँदा पनि काम अघि बढ्न नसकेको महालक्ष्मी नगरपालिका मेयर ध्रुबराज राय बताउनु हुन्छ । “हामीले वर्षमा दुई पटकसम्म काठमाडौं र विराटनगर पुगेर ताकेता गर्दै आएको छौं तर हाम्रो सडकको बारेमा कुनै सुनुवाई नै हुदँैन,” मेयर राय भन्नुहुन्छ । पहुँच पुग्नेहरुको मात्र काम हुन्छ, पहुँच नपुग्नेहरुको काम हुन धेरै गाह्रो छ, मेयर राय थप्नुहुन्छ ।  

स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच वर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संघीय सरकारको नीति थियो । तर, नयाँ संरचना अन्तर्गत स्थानीय सरकार सञ्चालनमा आएको सात वर्ष बित्न लाग्दा पनि धनकुटामा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणको काम अपेक्षा गरिए अनुसार अघि बढ्न सकेको छैन । 

धनकुटाका जम्मा सात पालिकामध्ये साँगुरीगढी गाँउपालिका, धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र छथर जोरपाटी गाँउपालिका सहित चार पालिकाको केन्द्र राष्ट्रिय राजमार्गबाट करीब पाँच सय मिटरको दूरीभित्र छन् । ती बाहेकका अन्य पालिकामा सडक मुख्य समस्याको रुपमा छ । महालक्ष्मी नगरपालिका बाहेक शहिदभूमि गाउँपालिकाको केन्द्र पिप्ले जोड्ने पनि मुख्य तीन सडक छन् । गुठिटार र हिलेबाट पिप्ले जोड्ने सडकमा कालोपत्रे गर्ने काम सुरु भएको छ । बाँकी सडक कहिले कालोपत्रे हुन्छ भन्नसक्ने अवस्था छैन । सडकको ट्रयाक खुलेको करीब २० वर्षपछि यो सडकमा कालोपत्रे सुरु गरिएको हो । कालेपत्रेको काम सुरु भएकोले अब भने केहि आशा पलाएको शहिदभूमि गाँउपालिकाका अध्यक्ष मनोज राई बताउनुहुन्छ ।

यता भेडेटारबाट चौविसे गाउँपालिको केन्द्र जोड्ने सडकको ट्र्याक खुलेको तीन दशक भइसकेपनि कालोपत्रेको काम सुरु भएको छैन । कोशी राजमार्गको भेडेटारबाट चौबिसे गाँउपालिकाको केन्द्र राजारानी बजार २२ किलोमिटरको दूरीमा छ । भेडेटार राजारानी रबिराके सडकले यो पालिकाको केन्द्र राजारानी बजारलाई छुन्छ । सडक कालोपत्रे गर्न पाँच वर्षअघि ठेक्का लागेपनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । पालिका जोड्ने सडक कम्तीमा पनि एउटा मात्रै पनि कालो पत्रे भएको खण्डमा पालिकामा आवतजावत गर्न मात्र नभई समग्र क्षेत्रको लागि कोशेढुङ्गो बन्ने पालिका प्रमुख हरुको भनाइ छ । 

एउटै मात्र सडक कालोपत्रे भएपनि बाह्रै महिना सडक प्रयोग गर्न सहज हुने चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्ग बताउनुहुन्छ । “पालिकाको कामको लागि भन्दा पनि यी सडकहरु पालिकाबासीलाई बढी आवश्यक हुन्छ, कृषिजन्य बस्तु बजारसम्म पुर्याउन, दैनिक उपभोग्य बस्तु गाँउसम्म पुर्याउन सडक महत्वपुर्ण हुन्छ त्यसैले पनि सडक चाँडोभन्दा चाँडो कालोपत्रे गर्न आवश्यक छ,” चेम्जोङ्ग भन्नुहुन्छ । न्यून आन्तरिक आय रहेका स्थानीय तह पूर्वाधारका ठूला परियोजना संचालनका लागि प्रदेश र संघीय सरकारकै भर पर्नुपर्ने अवस्था छ चेम्जोङ्ग थप्नुहुन्छ ।

हिउँदमा जसोतसो यातायात र ढुवानीका साधन सञ्चालन भएपनि बर्खामा यी कुनैपनि सडक छिचोल्न सकिने अवस्था हुँदैन । संघीय सरकारले आफ्नो नीति अनुसार बजेट उपलब्ध नगराउँदा मुख्य राजमार्गबाट स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नती र कालोपत्रे हुन सकेका छैनन् । स्थानीय तह सञ्चालनमा आएपछि प्राय सबैजसो स्थानीय तहमा कच्ची सडक विस्तार भएको छ । सङ्ख्या बढेपनि गुणस्तर नहुँदा त्यस्ता सडक स्थानीय नागरिकको जीवन निर्वाहसँग जोडिन सकेको स्थानीयको गुनासो छ ।