• २० असार २०८१, बिहिबार

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड सुरु

blog

बुटवलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरिँदै । तस्बिर : गोरखापत्र

छविलाल पाण्डे 

बुटवल, माघ ४ गते । बुटवलमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार सुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख पाण्डेले बुटवलबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताउनुभयो । उहाँले विद्यालयहरूलाई खेलाडी उत्पादनमा उपमहानगरपालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रूपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आग्रह गर्नुभयो । बुटवल शिक्षामा अब्बल नगर रहेको र सोही अनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको प्रमुख पाण्डेको भनाई छ । 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो ।

नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने बताउनुभयो । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरूको बिमाको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपियाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताउनुभयो । प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दो लगायतका खेल हुनेछन् । कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का जयप्रकाश भट्टराई, पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै खेल क्षेत्रको विकासमा नगरले गरेको कार्यक्रम प्रभावशाली रहेको बताउनुभयो ।

यस्तै मार्चपासमा सहभागी भई उत्कृष्ट हुने पहिलोलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५ सय रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र सङ्घ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख रुपियाँ बजेट रहेको छ । 

गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोस्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेस्रो भएका थिए ।