• २० असार २०८१, बिहिबार

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार घोषणा

blog

प्रतियोगिताका लागि बिहीवारबाट सञ्चालनमा ल्याइएको सचिवालय । तस्बिर : गोरखापत्र

गजेन्द्र गुरुङ

खजुरा, माघ ४ गते । नेपालगन्जमा पहिलो पटक सञ्चालन हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को पुरस्कार घोषणा गरिएको छ ।

प्रतियोगिताको सञ्चालनका लागि बिहीबार नेपालगन्जमा सचिवालयको स्थापना गर्दै आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष मीन मल्लले विजेता खेलाडीले प्राप्त गर्ने पुरस्कार राशिको घोषणा गर्नुभएको हो ।

उपाध्यक्ष मल्लका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५/१५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५/१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने उहाँले बताउनुभयो ।

पुरुष युगल (बि लेभल)तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०/१० हजार र पुरुष युगल (भेट्रान्स ४५ प्लस)तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १०/१० हजार रुपियाँ प्रदान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा विजेता खेलाडीलाई नगद रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

माघको ११ देखि १३ गतेसम्म नेपालगन्जको कभर्डहलमा सञ्चालन हुन लागेको प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घ र प्रवर्द्धकमा प्रदेश खेलकुद परिषद् लुम्बिनी रहेको अध्यक्ष सञ्जय थापाले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५ प्लस भेट्रान्स डबल्स गरी पाँच वटा विधा राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलाडीहरूले समेत सहभागिता जनाउने उक्त प्रतियोगितामा देशभरका करिब एक सय ५० जना खेलाडीहरूको सहभागिता रहने र राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरूद्वारा प्रतियोगिता सञ्चालन गराइने उहाँले बताउनुभयो ।