• १३ साउन २०८१, आइतबार

बाँके बैजनाथ महोत्सव हुँदै

blog

पत्रकार सम्मेलनमार्फत् महोत्सवको जानकारी गराउँदै आयोजक । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ ४ गते । बाँकेको बैजनाथमा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बैजनाथ समितिले पहिलो पटक माघ १० गतेदेखि २१ गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको हो । बैजनाथ गाउँपालिका ५ स्थित कोहलपुर न्यु सिटीको खाली क्षेत्रमा महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत् औपचारिक रूपमा जानकारी गराएको हो । महोत्सव आयोजक समितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवम् प्रचार–प्रसार संयोजक सुमन विश्वकर्माले महोत्सवमा एक सय ५० देखि २ सय वटासम्म स्टल रहने जानकारी दिनुभयो ।

स्थानीय स्रोतको सदुपयोग गरी उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदावार, हस्तकला, ऊर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।

"महोत्सवमा स्थानीय एवम् राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुनेछन् भने मेला अवधिभर संस्थाले एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिएको छ," प्रचार–प्रसार संयोजक विश्वकर्माले भन्नुभयो, "लघु घरेलु तथा साना उद्योगले स्थानीय तथा बाह्य स्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीको बजार प्रवर्द्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवर्द्धनमा महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत देखिन्छ ।"

बैजनाथ गाउँपालिकामा आन्तरिक पर्यटक भित्र्याउन, यहाँको मौलिक कला संस्कृति सभ्यता तथा मनमोहक प्राकृतिक सभ्यतालाई राष्ट्रिय स्तरमा चिनाउनका साथै पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र विकासमा महोत्सवलाई प्रमुख उद्देश्य एवम् लक्ष्यका रूपमा समेत लिइएको आयोजकले जनाएको छ ।

महोत्सवबाट करिब एक करोड रुपियाँको हाराहारीमा आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवबाट प्राप्त आम्दानीको २० प्रतिशत रचनात्मक काममा र २० प्रतिशत रकम कमजोर अवस्थामा रहेका उद्यमीका लागि र बाँकी रकम महासङ्घको कार्यालय भवन निर्माण कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवले गाउँपालिकाभित्र रहेका विभिन्न कला, संस्कृति, भेषभुषा, मौलिक तथा सांस्कृतिक महत्त्व बोकेका विविधतायुक्त झाँकी, बाजा, परम्परागत पेसा, सीप लगायतका कुरालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

गाउँपालिकाभित्रका तथा सम्भावना बोकेका पर्यटकीय स्थललाई राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग पुर्‍याउने अपेक्षा पनि गरिएको छ । "गाउँपालिका क्षेत्रका घरेलु तथा साना उद्योग, महिला उद्यमीले आफ्ना उत्पादनको महोत्सवमार्फत प्रचार–प्रसार तथा बजारीकरणमा समेत सहयोग प्राप्त गर्ने अवसरको सृजना हुनेछ," संयोजक विश्वकर्माले भन्नुभयो ।

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु एवम् सामग्री र लुम्बिनी प्रदेशको मौलिक कला संस्कृतिको प्रदर्शनी, कृषि उत्पादन एवम् प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामाग्री एवम् बस्तुको प्रदर्शनी, नविनतम् प्रविधि एवम् वैकल्पिक ऊर्जाको प्रदर्शनी महोत्सवको आकर्षण रहने उहाँले जानकारी दिनुभयो ।

यस्तै बैङ्क तथा वित्तीय सङ्घ–संस्था एवम् सेवा प्रदायक सङ्घ संस्थाको वर्तमान स्किमहरूको प्रदर्शनी, विभिन्न औद्योगिक तथा व्यापारिक प्रतिष्ठानबाट उत्पादित बस्तु तथा सामग्रीको प्रदर्शनी, बाल उद्यान, सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलाप, थारु परिकार तथा सम्बन्धित सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति आकर्षण रहेको आयोजकले जनाएको छ।