• १३ साउन २०८१, आइतबार

‘दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ ३ गते । सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधवार बसेको मन्त्रीपरिषद् बैठकले सो विधेयक सङ्घीय संसदमा पेस गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयको प्रस्तावमा सो विधेयक सङ्घीय संसदमा पेस गर्ने अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताउनुभयो । त्यसैगरी बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन–२०७६ लाई संशोधन गर्न बनेको २०८०’ जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक पद रिक्त थियो । त्यो रिक्त पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने भनेर निर्णय भएको छ । अर्को अर्थ मन्त्रालयकै प्रस्तावमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने भन्ने पनि निर्णय भएको छ ।’’ 

अर्को गृह मन्त्रालयको प्रस्तावमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमका किरणबाबु पुनलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’’

यस्तै मन्त्रीपरिषद् बैठकले गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । त्यसैगरी नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।  बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गरेको छ ।