• १३ साउन २०८१, आइतबार

सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारीसम्बन्धी छलफल गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढङ्गले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो ।

उहाँले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्नुहुँदै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औंल्याउनुभयो ।

सहकारीसम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।