• १५ असार २०८१, शनिबार

चार करोडभन्दा बढीको सुन्तला बिक्री

blog

फाइल तस्बिर

त्रिवेणी (रुकुम पश्चिम), माघ ३ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गतवर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग हुनुहुन्छ । 

अघिल्लो वर्ष प्रतिकेजी २५ का दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ मा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको उहाँले बताउनुभयो । “बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो ३० का दरले र ठूलो दानालाई प्रतिकिलो ५२ का दरले सुन्तला बिक्री हुँदा खुशी लागेको छ । गतवर्ष २५ का दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको थियो । यस वर्ष दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा निकै खुशी छु,” खड्काले भन्नुभयो । 

सुन्तला बिक्रीबाट ५३ हजार आम्दानी भएको र बिक्री गर्न अझै केही सुन्तला बाँकी रहेको उहाँले बताउनुभयो । हाल खड्काको बारीमा एक सय बोटले फल दिन थालेको छ । सुन्तला राम्रो उत्पादन हुने भएकाले एक सय बोट थप गर्ने सोचमा खड्का हुनुहुन्छ । वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्काले पनि निकै खुशी लागेको बताउनुभयो । 

अघिल्लो सालको भन्दा दोब्बर आम्दानी हुनाका साथै बारीबाटै ८३ हजारको सुन्तला बिक्री गरिएको उहाँको भनाइ थियो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुवै वृद्धि भएकाले किसानले राम्रो मूल्य पाएको रुकुम पश्चिमस्थित कृषि विकास कार्यालले जनाएको छ । जिल्ला यस वर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले चार करोड ६० लाख आम्दानी गरेका उक्त कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार गतवर्ष प्रतिकेजी २५ देखि ३० सम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी  ४० देखि ६० सम्ममा बिक्री गरेका छन् । जिल्लामा विशेष गरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै अन्य पालिका मुसिकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाफीकोट गाउँपालिकामा केही मात्रामा सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । 

थोरै उत्पादन गर्ने किसानका लागि  सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यावसायिकरूपमा सुन्तला खेती गर्ने किसानलाई बजारको समस्या नरहेको उहाँको भनाइ थियो । सुन्तला खरिद गर्न किसानको बारीमै व्यापारी पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान र नेपालगञ्जसम्म जाने गरेको छ । थोरै सुन्तला उत्पादन गर्ने किसानलाई भने ढोकामा बोकेर बजारसम्म लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । जिल्लामा व्यावसायिकरुपले सुन्तला खेती गर्ने किसानले वार्षिक आठ लाखदेखि नौ लाखसम्म आम्दानी गरेका छन् ।

व्यावसायिकरुपले सुन्तला खेती गर्ने किसानको सङ्ख्या आठ दशजना मात्र भए पनि सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सयभन्दा बढी रहेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । “कृषि पेसाबाट किसानको आयस्तर बढेको छ । हरेक कृषि बालीमा व्यावसायिकीकरण हुँदै गएको छ । कृषि विकास कार्यालयले अनुदानभन्दा पनि किसानलाई बिक्री परिमाणका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा परिश्रम गर्ने किसानलाई थप उत्पादन गर्न हौसला मिलेको छ,”उहाँले भन्नुभयो । रासस