• १३ साउन २०८१, आइतबार

महिलालाई नौमती बाजा हस्तान्तरण

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ ३ गते । गुल्मीमा महिलालाई नौमती बाजा हस्तान्तरण गरिएको छ । जिल्लाको इस्मा गाउँपालिकाको स्वीकृत कार्यक्रम अनुसार वडा नम्बर– ४ हुलका मगर समुदायका महिलाहरुलाई संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो । 

जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो । मगर समुदायको पराम्परागत संस्कृति संरक्षणका लागि नौमती बाजा हस्तान्तरण गरिएको छ । 

लोप हुँदै गइरहेको परम्परागत र मौलिक नौमती बाजाको संरक्षणका लागि गाउँपालिकाले महिलाहरुलाई नौमती बाजा हस्तान्तरणसंगै सीप पनि सिकाउने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । 

मगर समुदाय भित्रका महिला दिदिबहिनीहरुलाई बाजा बजाउन सिकाइ सांस्कृतिकसँगै आर्थिक रुपमा परिपक्व बनाउने गाउँपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो । आवश्यकता अनुसार गाउँपालिकाले नौमती बाजा बजाउने तालिम समेत प्रदान गर्ने भएको छ । 

त्यहाँका महिलालाई करिब दुई लाख रुपियाँ बराबरको नौमती बाजा हस्तान्तरण गरिएको छ । अहिले यहाँका महिला दिदिबहिनीहरुले राम्रोसँग बाजा बजाउन सिक्नुभयो भने प्रभावकारी रुपमा यसलाई अगाडि बढाउन सकियो भने कालान्तरमा सबै वडाहरुमा महिला नौमती बाजा समूह बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । 

बाजालाई सहि सदुपयोग गर्न आग्रह गर्दै यसबाट महिला दिदीबहिनीहरुले मनग्य लाभ लिन जरुरी रहेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो । बाजा टुट्ने फुट्ने गरि कसैको घरमा राख्न नहुने जुन उद्देश्यले तपाईंहरुले माग गर्नुभएको हो त्यो पूरा गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

गाउँपालिकाबाट नौमती बाजा पाएसँगै त्यहाँ महिलाहरु अत्यन्तै खुसी देखिएका थिए । उहाँहरुले राम्रोसँग नौमती बाजा बजाउन सिकेर अरुलाई पनि प्रेरणा मिल्ने गरी अगाडि बढ्ने भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो ।