• १३ साउन २०८१, आइतबार

सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु

blog

सर्केगार्डको सडकमा निर्माण गरिएका टहरा भत्काउँदै स्थानीय । तस्बिर : राजन रावत

 राजन रावत

हुम्ला, माघ ३ गते । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा पर्ने सडकमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएको छ । करिडोरको सडकमा स्थानीयले आफूखुसी निर्माण गरिएका घर टहरा हटाउनका लागि सम्बन्धित वडा र गाउँपालिकाले सूचना जारी गरेपछि भत्काउन सुरु गरिएको  हो ।

सर्केगार्ड बजारका स्थानीय सूर्यबहादुर शाहीले बजार क्षेत्रको सडकमा जथाभावी निर्माण गरिएका घर टहरा भत्काउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा एक दिन भत्काउनैपर्ने भएका कारण सम्बन्धित व्यक्ति आफैँले भत्काउन सुरु गरेको बताउनुभयो । आइतबार पहिलो दिन दुई वटा टहरा सम्बन्धित व्यक्तिले भत्काएर सुरुवात गरेको उहाँको भनाइ छ ।

मुख्य सडक छेउछाउमा जथाभावी निर्माण गरिएका घर टहरा भत्काउनका लागि सर्केगार्ड गाउँपालिकाले १५  दिने सूचना जारी गरेकोे थियो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले गाउँपालिकाको सूचनालाई आधार मानेर सडक किनारमा निर्माण गरिएका घर टहरा भत्काउन सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।

अब सडक क्षेत्रमा निर्माण गरिएका बाँकी संरचना चाँडै भत्काएर सहयोग गर्न उहाँले स्थानीयलाई अनुरोध गर्नुभयो । सो क्षेत्रको दुई सय मिटरमा पर्ने सर्केगार्ड खोलापारीदेखि मुख्य बजारसम्म चार वटा पक्की घर र ६६ वटा टहराहरु भत्काउनुपर्नेछ । स्थानीयले जथाभावी निर्माण गरिएका घरटहरा भत्काउने कार्य गरेपछि हिल्सा सिमकोट सडक आयोजनाले सो क्षेत्रको सडकलाई चौडा र स्तरोन्नति गर्ने कार्य सुरु हुने जनाएको छ ।