• २४ असार २०८१, सोमबार

तीन महिनापछि भेटिए चेतन

blog

तीन महिनापछि घर फर्किएका चेतन शाही तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा  
कालीकोट, माघ २ गते ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक युवक  हराएको झण्डै तीन महिनापछि फेला परेका छन् । गत कात्तिक ७ गतेदेखि हराएका विनायक नगरपालिका –५ (साबिकको ल्याटी गाविस–२) बस्ने बिर्खबहादुर शाहीका १८ वर्षीय छोरा चेतन शाही सम्पर्कमा आएका हुन् ।

गत मङ्सिर २५ गते गोरखापत्र अनलाइन र पत्रिकामा दुई महिनादेखि युवक वेपता शीर्षकमा समाचार प्रकाशनपछि चेतन भारतको नानपारामा पुगेको खबर घर परिवारलाई आएको थियो । त्यसपछि आफन्तले चेतनको उद्धार गरी घर ल्याउनुभएको छ । वडा नं ५ का वडाध्यक्ष हेमबहादुर शाहीले युवकको खोजीका लागि सार्वजनिक सूचना जारी गर्नुभएको थियो ।

उहाँले कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल ९७४४२९८००६ र ९७४२२०३०७८ मा खबर गरिदिन अपिल गर्नुभएपछि सोही नम्बरमा फोन आएकाले नेपालगन्ज रुपैडियादेखि भारततर्फको २० किलोमिटर टाढाबाट युवकको उद्धार गरिएको बताउनुभयो ।

चेतनका आफन्त देविन्द्र बमले छोरा हराएदेखि आमा बेहोस हुनुभएको बताउनुभयो । वेपत्ता चेतनका खोजी गर्दा पनि नभेटिएपछि परिवारका सदस्यहरू चिन्तित भएका बेला गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । बेपत्ता चेतन घर पुग्नुभएको आज (मङ्गलबर) तीन भएको आफन्त बमले जानकारी दिनुभयो ।