• १३ साउन २०८१, आइतबार

थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै माघ

blog

दिवाकर पोख्रेल

देउखुरी, माघ २ गते । पुसको अन्तिम साताबाट माघको तयारीमा जुटेका थारु समुदाय आजपनि माघकै रमझममा जुटेका छन् । माघ १ गते खोला या तालतलैयामा स्नान गर्न र निस्राउको काम सकेका थारु समुदायले आज माघ २ गते वर्षभरिको कामको समिक्षा र आगामी एक वर्षको लागि योजना बनाउन व्यस्त छन् । 

थारु कल्याणकारिणीसभा देउखुरीका अध्यक्ष प्रकाश चौधरीले आज माघको २ गते समीक्षा गर्ने योजना बनाउने र नयाँ नेतृत्व छान्ने काम जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "आगामी वर्षको लागि कटकनदार, अगुवालगायतको नेतृत्व छानिन्छ । कुलोपानीको विषयमा पनि समीक्षा गर्ने, थप एक वर्षको लागि योजना बनाउने काम हुन्छ ।"

वर्षदिनमा भएका कामको विषयमा लिखित अलिखित प्रतिवेदन पेश गर्छन् र सोही अनुसार बितेको वर्षको कामको लेखाजोखा गर्ने, के कति काम सम्पन्न भयो, के के काम गर्न बाँकी छ, त्यसको समीक्षा गर्नुको साथै आगामी वर्षको लागि वार्षिक नयाँ कार्ययोजना बनाउने काम हुने थारु अगुवाहरु बताउँछन् । 

थारु अगुवा शेरबहादुर चौधरीले माघ थारु समुदायको नयाँ वर्ष भएकाले पनि वार्षिक रुपमा गर्नुपर्ने सबै गतिविधि हुन्छन् । उहाँले भन्नुभयो, "माघ हाम्रो महान् पर्व मात्र नभई नयाँ वर्ष पनि हो, अन्य पर्वमा खानपिनमा जोड दिने भए पनि माघमा योजना तर्जुमा गर्ने काम बढी हुन्छ ।" 

यसैगरी माघ पर्व विशेष गरेर नाचगान गरेर रमाउने गर्दछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले आ–आफनो समूह बनाएर घर–घरमा पुगेर मघौटा नाच्ने गर्दछन् ।

यसरी गीत गाउँदै नाच्दै घर घरमा पुगेर थारु समुदायले ‘माघ’ को शुभकामना आदानप्रदान गर्ने गर्दछन् । थारु समुदायले करिब एक सातासम्म यसरी नाचगान गरेर माघी मनाउने गरेको घोराही-६ लख्वारका मीनबहादुर चौधरीले जानकारी दिनुभयो । माघमा नाचेर उठेको पैसाले सामुहिक कार्यमा लगाउनेदेखि नाचेको समूहले मिठो मिठो परिकारसहित खाँदै रमाउँदै माघलाई बिदाइ गर्ने गर्दछन् ।

थारु संस्कृतिका ज्ञाता छविलाल कोपिलाले थारु समुदायको माघी नभई माघ मनाउने भएकाले माघी भनेर अन्य समुदायको पर्वसँग नजोड्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, "थारु सुमदायको पर्व माघ हो माघी होइन माघ हाम्रो नयाँ वर्षको रुपमा मनाउने पर्व हो ।"