• ६ जेठ २०८१, आइतबार

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क लठ्ठी सहयोग

blog

ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, माघ २ गते । पाल्पाका ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निःशुल्क लठ्ठी प्रदान गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाभित्रका तीन हजार पाँच सयभन्दा बढी ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई लठ्ठी (लौरो) निःशुल्क प्रदान गरिएको हो । 

बगनासकाली–२, का समाजसेवी पदम रानाले जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई लठ्ठी प्रदान गर्नुभयो । बगनासकालीका नौँ वटै वडामा पुगेर रानाले लौरो प्रदान गर्नुभएको हो । 

ज्येष्ठ नागरिक हिँड्न, डुल्न पर्‍य ाे भने त्यसको सहारा लठ्ठी हो, त्यसैले उहाँहरूलाई केही साहारा पुगोस् भनेर लठ्ठी सहयोग गरेको समाजसेवी रानाले बताउनुभयो । उहाँले गाउँमा अभाव र दबाबबीचमा बसेका अपाङ्गता भएका नागरिकलाई समेत आफूले सहारा मिलोस् भनेर लठ्ठी प्रदान गरेको बताउनुभयो । 

"लठ्ठी सुन्दा सानो वस्तु होला तर असहाय, जेष्ठ नागरिक र अपाङ्गता भएकाका लागि ठूलो सहारा हो", उहाँले भन्नुभयो । लठ्ठी पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । बुढेसकाल प्रवेश गरेपछि समाज र परिवारबाट सहाराको आशा गरेका बेला लठ्ठी पाउँदा खुसी लागेको बगनासकाली–३, नायरकी ९२ वर्षीया सूर्यकुमारी कुँवरले बताउनुभयो । उमेरका कारण कसैको सहाराको आशामा बाँचेकाले लठ्ठी पाउँदा धेरै खुसी लागेको उहाँले बताउनुभयो । 

समाजसेवी रानाले जिल्लाका दश विद्यालयमा २५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । विभिन्न विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍य ाउने गरी आफूले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो ।