• १३ साउन २०८१, आइतबार

पार्टी पुनः निर्माणको काममा अघि बढेको छ : अध्यक्ष प्रचण्ड

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्विर : राधा नेपाली

राधा नेपाली 

सन्धिखर्क, माघ १ गते  । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ । 

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा पार्टी पूर्णरुपले पुनः निर्माण हुने उहाँको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीद्वारा सोमबार आयोजित राजनीतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टी पुनः निर्माण र सरकारका काम कामकारबाहीलाई फरक ढङ्गले लगेका छौँ । म युगाण्डाबाट फर्किएपछि थप प्रभावकारी रूपमा काम अघि बढाउँछु ।” 

प्रधानमन्त्री प्रचण्डले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुगाउन सरकारका राम्रा कामका बारेमा जनतालाई सुसूचित गराउन र जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।  

प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसैको आधारमा दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सरकारको नेतृत्व लिँदा अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदैगएका छन् ।”

प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार आएको चर्चा गर्दै भन्नुभयो, “यस अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ ।” 

प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन छिट्टै पारित गरेर कार्यान्वयन लैजाने बताउनुभयो । पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन पनि प्रधानमन्त्री प्रचण्ड पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनु भएको थियो ।  

नेपाली काँग्रेसकी नेता एवम् प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीको सडक, शिक्षा स्वास्थ्य, कृषि र पर्यटनको विकासमा केन्द्रीय योजनाहरू हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक विकास गरी गरिबीको अन्त्य हुन जरुरी छ । संविधानको कार्यान्वयन सुशासन कायम गर्नु छ । शान्ति प्रक्रियाको टुङ्गो नलाग्दासम्म समग्र विकास हुन सक्दैन ।”      

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले जिल्लाको समृद्धिको हकमा साझा दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “समृद्धिका लागि कृषि र पर्यटकीय क्षेत्रको पूर्वाधार विकास जरुरी रहेको छ, सरकारले विकास र आर्थिक समृद्धिको लागि विशेष ध्यान दिएको छ ।”

पर्यटन विकासले अर्घाखाँचीको आर्थिक समृद्धि गर्ने भएकाले पर्यटन कार्यक्रम गरिएको उहाँको भनाइ छ । राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र विकासको राष्ट्रिय एजेण्डा भएको उहाँले बताउनुभयो । 

लुम्बिनी प्रदेश सभा सदस्य राम्जीप्रसाद घिमिरेले पर्यटनको विकाससँगै आर्थिक विकास गर्न सकिने बताउनुभयो । स्थानीय तहको बजेटले जिल्लाको पर्यटन विकास गर्न नसकिने भन्दै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।