• ११ मंसिर २०८१, मङ्गलबार

बर्दियाको ठाकुरबाबा मन्दिरमा भक्तजनको घुइँचो

blog

बर्दियाको ठाकुरबाबा मन्दिरमा भक्तजनको घुइँचो । तस्बिर : मुकुन्द सुवेदी

मुकुन्द सुवेदी
बर्दिया, माघ १ गते । 
थारु जातिको महान् पर्व माघीको सुरुवातसँगै ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि माघ १ गते पूजापाठ गर्ने श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाका–९ मा रहेको यस ठाकुरबाबा मन्दिरमा विवाह नगरेको कुमार केटा पण्डित रहने व्यवस्था छ । नेपालमै थारु जातिको पुजारी रहने एक मात्र धार्मिक तीर्थस्थल ठाकुरबाबा मन्दिर हो ।


विशेषगरी निःसन्तान दम्पतीहरूले मन्दिरमा आई पूजा पाठ गरेमा सन्तान प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास बोकेको ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्न बर्दिया, कैलाली, बाँके, सुर्खेत र दाङलगायतका जिल्लाबाट एवम् भारतीय श्रद्धालु भक्तजनहरू आएका छन् ।

पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँग गाँसिएको यस ठाकुरबाबा मन्दिरमा पूजापाठ गर्न हजारौँको सङ्ख्यामा आउने श्रद्धालु भक्तजनहरूको मनोकाङ्क्षा पूरा हुने पुजारी बताउँछन् ।

प्रत्येक वर्ष माघ १ गते श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने यस ठाकुरबाबा मन्दिर परिसरमा १ देखि ५ गतेसम्म परम्परागत धार्मिक मेला समेत लाग्ने गर्दछ ।