• २४ वैशाख २०८१, सोमबार

सडक दुर्घटना : पाँच वर्षमा तेह्र हजारको मृत्यु

कारण नै खोजिँदैन सडक दुर्घटनाको

blog

काठमाडौँ, पुस २९ गते । बर्सेनि सडक दुर्घटना हुन्छन् । हजारौँ नागरिकले अकालमै ज्यान गुमाउँछन् । घाइते भएर अङ्गभङ्ग हुनेको सङ्ख्या अरू बढी हुन्छ तर त्यसको न छानबिन नै हुन्छ, न कारण नै खोजिन्छ । 

शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । नेपाल प्रहरीका अनुसार नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे.१ ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । २४ जना घाइते छन् ।

बा.प्र–०१–०२३ च ६९८५ नम्बरको गाडी शनिबार थानकोट–चित्लाङ सडकखण्डको सेतो पहरामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । काठमाडौँकै नागार्जुनमा बा.९१ प १५९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । 

त्यसै गरी बागलुङको ढोरपाटनमा ध.१ ज १९ नम्बरको जिप दुर्घटनामा दुई जनाको मृत्यु भयो, नौ जना घाइते छन् । झापामा बा.४६ प २१०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । दोलखामा लु.३ त ६८८२ नम्बरको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भयो । 

सडकसम्बन्धी नीति नै छैन 

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गयो भने ८० हजारभन्दा धेरै घाइते भए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सडक सुरक्षाविद्देखि यातायात व्यवसायीसम्मले राज्यको नीति प्रभावकारी नहुँदा नै सडक दुर्घटनाको भयावह अवस्था देशले भोगिरहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र यातायात तथा सडक सुरक्षासम्बन्धी विज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारीले दुर्घटनाको विकराल अवस्था हुनुमा राज्यको कमजोर नीति नै जिम्मेवार रहेको बताउनुभयो । मन्त्री ज्वालाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर ढङ्गले अध्ययन गरी प्रभावकारी कानुन निर्माण कार्य अघि बढाइएको बताउनुभयो । 

सडक सुरक्षाविज्ञ अधिकारीले ‘राज्यको सवारी नीतिले कहिल्यै पनि चालकलाई जिम्मेवार नबनाएका कारण’ दुर्घटना बढेको बताउनुभयो । उहाँले चालक अनुमतिपत्र वितरणका प्रव्रिmयादेखि चालकको सिटमा बस्दासम्मको प्रव्रिmयामा राज्यले आफ्नो भूमिका कहिल्यै पनि नदेखाएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, “एक लाख २५ हजार फर्जी लाइसेन्स बोकेर हिँडेको तथ्य भर्खरै आएको छ, अदक्ष चालक स्टेयरिङ सिटमा बसिरहेका छन्, सरकारको यातायात नीति नै प्रभावकारी देखिएन । त्यसैकारण अधिकांश दुर्घटनामा ८० प्रतिशतभन्दा बढी चालकको दोष रहेको प्रमाणित हुने गरेको छ ।”

सडकको ज्यामिति मिलेकै छैन

ट्राफिक व्यवस्थापनमा लामो समय नेतृत्व गर्नुभएका पूर्वडिआइजी अधिकारीले सडकमार्गको ज्यामिति नमिलेको र सडक अप्ठ्यारा भूगोलमा बनेका कारण दुर्घटना बढेको बताउनुभयो । उहाँले कुन सडकमा कस्ता सवारीसाधन सञ्चालन अनुमति दिने भन्ने विषयमा नीति नहुँदा जोखिम अझै बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “चालकले ४० सिटको गाडीमा कोचाकोच गरेर ६५ जना यात्रु बोकेर अप्ठ्यारा भूगोलमा रेखाङ्कन गरिएका सडकमा लिएर जान्छन् । यात्रुको सुरक्षाको चासो सरोकारवालालाई छैन । सडकको बेथितिलाई हेर्ने राज्यको निकाय ट्राफिक प्रहरी हो, एउटा ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामै एक हजार पाँच सय सवारीसाधन हेर्नुपर्ने छ । बाहिरको अवस्था झन् विकराल छ ।” 

यातायात व्यवस्था विभागका अनुसार अहिलेसम्म देशमा झन्डै ६४ लाख यातायातका साधन दर्ता भएका छन् । राजधानीमा मात्रै दर्ता भएका १८ मध्ये करिब १४ लाख ५० हजार दैनिक प्रयोगमा आउने गरेका छन् । 

सडक सुरक्षाविद् अधिकारीले भन्नुभयो, “नियमित चेकजाँचमा प्रहरीले आफ्नो जनशक्ति व्यवस्थापन गर्नै सक्दैन । लामो वा छोटो रुटमा अप्रत्याशित रूपमा चेकजाँच गर्नु पर्छ । चालकलाई कहाँ ट्राफिक पोस्ट आउँछ भन्ने कुराको राम्रो ज्ञान हुन्छ र त्यस्तो ठाउँमा सतर्क हुने अरूबेला लापरबाही गर्ने जुन आदत परेको छ समस्या यहीँनेर छ ।”

राज्य संवेदनशील बन्नैपर्छ 

सडक सुरक्षाविद् अधिकारीले विगतमा ठुला ठुला दुर्घटना कहाँ कहाँ भएका छन् भन्ने कुराको अभिलेख सरकारका निकायमा उल्लेख भएकाले त्यस्ता दुर्घटनाग्रस्त क्षेत्रलाई सुधार गर्ने योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो । उहाँले सरकारले राजस्वको २५ प्रतिशत यातायात क्षेत्रबाटै उठाउने बताउँदै भन्नुभयो, “तर त्यही क्षेत्रलाई सुधार गर्नेतर्फ सरकार कहिल्यै पनि संवेदनशील देखिएन । विमानको चक्कामै समस्या आउँदा पनि छानबिन हुन्छ । अनि बसमा यात्रा गर्ने नागरिकको अभिभावक पनि सरकार नै होइन ? यो क्षेत्रलाई ओझेलमा राखेर नागरिकको ज्यान लिने काम भइरहेको छ । संवेदनशील बन्नैपर्छ ।”

यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक दुर्घटनाको सन्दर्भमा सरकार गम्भीर र संवेदनशील छ, राप्ती नदीमा बस दुर्घटना भएको सन्दर्भमा पनि चालकले तीव्र गतिमा गुडाउँदा राप्ती नदीमा बस खस्यो । कारण जेसुकै भए पनि नागरिकको ज्यान जाने कुरा दुःखद हो ।”

उहाँले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सडकको स्तरोन्नति गर्ने कार्यमा सरकार लागिपरेको बताउनुभयो । उहाँले सडक सुरक्षामा ध्यान दिनुपर्ने विषयलाई दृष्टिगत गरी सार्वजनिक सडक ऐन निर्माणको चरणमा रहेको बताउनुभयो । 

मन्त्री ज्वालाले सडक सुरक्षाका सन्दर्भमा विशेष व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात क्षेत्र र सडक सुरक्षाका सन्दर्भमा कानुन पर्याप्त छैन, कानुन बनाइरहेका छौँ, कानुनको मस्यौदा अर्थ मन्त्रालयमा पु-याइएको छ, सडकको अवस्था सुधार्नेदेखि चालकलाई प्रशिक्षण दिने र कानुनको प्रभावकारी व्यवस्थामार्फत सडक सुरक्षाको प्रत्याभूति गरिने छ ।”

सुरक्षामा ध्यान दिएका छौँ : व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दुर्घटनाका सन्दर्भमा कानुनी समस्यासँगै प्राविधिक समस्या पनि कारक रहेको बताउनुभयो । उहाँले पूर्वाधार निर्माणमा राज्यको ध्यान नपुग्दा दुर्घटना हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्राविधिक कारण, चालकको लापरबाही र सडक पूर्वाधारमा समस्या भएकाले दुर्घटना हुने गर्छ । सडक साक्षरता र सडकको अवस्थाबारे जानकारी दिने व्यवस्था गरे धेरै हदसम्म दुर्घटनाको जोखिम कम हुन्छ ।”