• ५ जेठ २०८१, शनिबार

अस्ताए चञ्चल

blog

ठट्टै ठट्टामा आठ दशकको उमेर टेकेपछि विश्वम्भर चञ्चललाई आफ्नो विश्वास सार्थक भएको मात्र होइन, अझै केही वर्ष मजाले बाँचिन्छ भन्ने आत्मविश्वास पलाएको छ । ‘तर रोगले ओछ्यानमा थला परेर बाँच्न चाहिँ नपरोस्’ भन्नुुहुन्छ उहाँ । 

यतिखेर भन्नुहुन्थ्यो उहाँ भन्नुपर्ने भएको छ । 

सोचे जस्तो कहाँ हुँदो रहेछ र अझै केही वर्ष मजाले बाँच्छु भन्ने आत्मविश्वासलाई उहाँले पालेको रोगले साथ दिएन, ८२ वर्षको उमेर नकाट्दै पुस २२ गतेको रात बित्नुभयो उहाँ तर रोगले थला पारेर उहाँलाई ओछ्यान पर्न दिएन ।

छोरीज्वाइँकहाँ पुगेर अस्टे«लियाबाट नेपाल फर्केको धेरै पनि भएको थिएन । सायद अस्टे«लिया यात्राको संस्मरण लेख्ने योजना पनि बुन्नुभएको थियो होला । बढ्दो उमेरमा रोगले दिनप्रतिदिन गलाउँदै लग्दासमेत लेखन रोकिएन उहाँको । झन्डै तीन दर्जन कृति प्रकाशमा आइसक्दा पनि लेखन र कृति प्रकाशनको अनेकौँ योजना थिए ।

मनमा धेरै योजना छन्– एउटा बेजोडको उपन्यास लेख्ने, नाटक लेख्ने, कथाको सङ्ग्रह थप्ने, लेखिएका र फुटकर छापिएका निबन्ध तथा कवितालाई परिमार्जन गरेर त्यसलाई किताबका रूपमा प्रकाशित गर्ने, मनमा पहिलेदेखि लागिरहेका केही विदेशी उपन्यासको नेपालीमा अनुवाद गर्ने, नयाँ नयाँ बालगीत, कविता, कथा, उपन्यास लेख्ने । कति हो कति मनमा जाग्ने इच्छाहरू । (सरिबरि आत्मपरक व्यङ्ग्य निबन्ध सङ्ग्रह, २०८०) लेखनमा चञ्चल नै हो उहाँ, लेखेर नथाक्ने, स्वभाव पनि त्यस्तै जुनसुकै उमेर समूहसँग पनि घुलमिल भइदिने, लागेको कुरा भनिहाल्ने । कथाकारका रूपमा विशेष स्थान बनाउनुभएका चञ्चल बालसाहित्यको क्षेत्रमा पनि त्यत्तिकै सफल र सव्रिmय भएर सम्मानित हुनुभयो । जीवनका पछिल्ला वर्ष आत्मकथा, संस्मरण लेखनमा पनि उहाँको कलम चलेकै हो । 

बढ्दो उमेरले सेताम्मे कपाल भइसक्दा पनि बुढो भनाउन उहाँ तयारै नहुने स्वभावको, साहित्यमा राष्ट्रकवि माधव घिमिरे, सत्यमोहन जोशी, श्यामदास वैष्णव, मदनमणि दीक्षित जस्ता साहित्यकारले पाएको दीर्घ जीवन उहाँका लागि पे्ररणादायी थियो र भन्नु पनि हुन्थ्यो– उहाँहरूको सव्रिmय जीवन र दीर्घ जीवन देख्दा आफू पनि त्यति नै बाँचिएला जस्तो लाग्छ मलाई ।  

पूर्वाग्रह र राजनीतिको आँखाले साहित्यलाई कित्ताकाट गर्नेहरूले न्याय गर्न नसकेको नमिठो अनुभूति पनि थियो उहाँसँग । कहिले आफ्नै हाकिम भनाउँदोले कामु लेखक भनेर पाठ्यपुस्तकमा नाम राखेको त कहिले विश्वम्भर चञ्चल भनेको तपार्इं नै हो भनेर कसरी चिन्ने ? प्रमाण दिनुस् भनेर सरकारी अड्डाका जुङ्गेमुठे हाकिमले पारिश्रमिक दिन नमानेको प्रसङ्ग त कहिले केट्यौले उमेरको पत्रकार भनाउँदोले तपार्इंको स्तर नपुगेर रचना नछापिएको भनेर हाकाहाकी भनेको सुनेर बेहोरेका चोट र पीडा पनि थिए । भन्नेहरू, सोध्नेहरू, कामु लेख्नेहरू अहिले कुन दुलोमा होलान् ? 

चञ्चल भने नेपाली साहित्यकाशमा सुपरिचित नाम बनेर चिनिने बन्नुभयो, सम्मानित नाम बन्नुभयो तर थाक्ने र हरेस खाने स्वभावै थिएन । लागेको कुरा भनिहाल्ने, राजनीतिको हावामा नबहने स्वभावले पनि होला, छ दशक लेखनको मूल्याङ्कन गर्न हतपत कसैको कलम चलेन, सम्मान र पुरस्कारको सन्दर्भमा पनि त्यति सम्झिएनन् उहाँलाई । यी समग्रको आक्रोश थियो । जीवन बाँच्ने त आफैँले हो, आफ्नो पाराले भने जस्तै उहाँको असन्तुष्टि एकातिर रह्यो, सन्तुष्टि अर्कोतिर आफ्नै कर्ममा, आफ्नै लेखनबाट आर्जेकोमै सन्तोष । सके जति साहित्यमा योगदान दिएकोमा त्यत्तिकै सन्तुष्ट । 

आफ्नै सन्तोषका लागि लेख्ने उहाँलाई लेखनबाटै सन्तोष मिलेको थियो, मूल्याङ्कन र सम्मान पुरस्कार त तपसिलका कुरा थिए उहाँका लागि । पाएका पुरस्कार प्रायः बालसाहित्य र कथामै केन्द्रित थिए– मैनाली कथा पुरस्कार, राष्ट्रिय बालसाहित्य पुरस्कार, बालपुस्तक पुरस्कार, रत्न बालपुरस्कार, नूरगङ्गा बालसाहित्य पुरस्कार, कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान सम्मान आदि । काठमाडौँको धर्मस्थली महाँकालमा विक्रम संवत् १९९८ साल जेठ महिनामा जन्मिनुभएका विश्वम्भर घिमिरे अग्रजको देखासिकी र आफ्नो स्वभाव अनुरूप चञ्चल थपेर विश्वम्भर चञ्चल बन्नुभयो र अविरल यही नामबाट चिनिन थाल्नुभयो । 

काठमाडौँको काँठ भनेर चिनिने धर्मस्थलीमा जन्मे पनि अभिनय, जागिर, लेखनले सहरसँग बढी नजिकिनुभएका उहाँले आफूलाई सहरवासीका रूपमा चिनाउन सुरुका रचनाहरूमा कोपुण्डोल ठेगाना राखेर लेख्ने पनि गर्नु भयो । आठ वटा कथा सङ्ग्रह  (अतृप्ति २०२६, विश्वम्भर चञ्चलका कथाहरू २०३३, जीवनवृत्त २०४०, युद्ध भड्किरहेछ २०४७, अनामनगर २०५४, गन्तव्यहीन दिशाहीन २०५७, यौन र पीडा २०६४, धाँजो २०७३, क्षितिजदेखि क्षितिजसम्म २०५८, वारिदेखि पारिसम्म २०६२, इन्मेरिका यात्रा संस्मरण, बाँचेका युग, मरेका मान्छे  (अनुभव र अनुभूति), सरिबरि (आत्मपरक व्यङ्ग्य निबन्ध सङ्ग्रह) बालगीत, कविता र बालउपन्यास गरी १६ वटा बालसाहित्य, अन्तर्राष्ट्रिय स्तरका तीन वटा बालपुस्तक अनुवाद गरी ३२ वटा कृति प्रकाशमा आइसकेका छन् उहाँका । 

उमेरले जति बाँचे पनि विश्वम्भर चञ्चलले जीवनपछिको समय पनि बाँचिरहने बाटो अँगाल्नुभएको छ त्यसैले बचाउँछ । कथा, बालसहित्य, निबन्ध, संस्मरण, अनुवाद, कविता सबैतिर छरिएर निरन्तर  छ दशकदेखि साहित्य साधनामा रमाउने विश्वम्भर मूलतः आफूलाई कथाकारका रूपमा बढी सफल ठान्नुहुन्थ्यो ।

लेखक, साहित्यकार, जागिरेमा मात्र सीमित भएन उहाँको चिनारी । बिसको दशकमै गाउँटोलमा कहिले रावण, कहिले दुर्योधन त कहिले राजा हरिश्चन्द्र भएर रङ्गमञ्चमा रमाएका दिनहरूले उहाँलाई कुनै बखत राष्ट्रिय नाचघर कमलादी नै पु-याएर ऐतिहासिक नाटक भीम मल्लमा तेस्रो भारदारका रूपमा चरित्र अभिनय गरेर निकै स्यावासी पाउनुभयो । शैक्षिक कर्यक्रमको रेडियो नाटकमा एक दशक काम गर्र्नुभयो । विसं २०२४ सालमै बेलायत बस्दा बिबिसी नेपाली सेवाको पहिलो वर्षमै टेप प्रोग्राम चलाएर नेपालको सञ्चार जगत्लाई बल पु¥याउनुभयो । यसैले विश्वम्भरको चिनारीमा रेडियोकर्मी र कलाकार भनेर पनि थप्न सकिन्छ । 

बिसको दशकमै हो ललितपुरको शान्तभवन अस्पताल अघिल्तिरको फाँटको घरमा बस्ने एउटी युवतीसितको अव्यक्त पे्रमले साहित्यकार बन्न प्रेरित हुनुभएका उहाँले त्यही विशेष अर्थात् पे्रम र पे्रमिकाको संस्मरण लेखेर लाज बचाउन आफ्नो नाम नराखी अर्कै नाम राख्नुभयो र त्यतिबेलाका चर्चित पत्रिका रूपरेखा पुग्दा यसका सम्पादक उत्तम कुँवरले अर्काका बारेमा लेखिएको संस्मरण छापिँदैन भनेपछि ‘कालो सुरुवाल’ नामको कथा लेख्नुभयो । 

यो कथा विसं २०२० सालको रूपरेखामा छापिएपछि अहिलेको चिनारीको थालनी भयो । उतिखेरै बनेको कथाकार व्यक्तित्व नै उहाँको परिचय, सम्मानको मुख्य विधा बनेको छ । त्यसो त कथा लेखनअघि नै रूपरेखाकै कविता विशेषाङ्कमा एक लास हाँसिरहेछ शीर्षकको कविता छापिएर साहित्यकारका रूपमा दरिए पनि कविताको कुनै किताब प्रकाशमा आएन । २०२८ सालदेखि खास गरेर बालसाहित्य, अनुवाद, संस्मरणमा बढी केन्द्रित बन्नुुभयोे, समसामयिक निकै लेखरचना पनि छाप्नुभयो । तीन दर्जनभन्दा बढी पाठ्यपुस्तक पनि लेख्नुभयो तर पनि विश्वम्भर चञ्चलको व्यक्तित्व, कथाकार तथा बालसाहित्यकारका रूपमै बढी चिन्लान्, यो उहाँको विश्वास हो र यथार्थ पनि यही नै हो । 

एउटै कार्यालयमा कार्यरत अम्बिका सिलवालसँगको नजानिँदो प्रेमस्वरूप विसं २०२९ मा बिहे बन्धनमा बाँधिएर सहयात्रा थाल्नुभएका विश्वम्भरले लेखनमा पनि सहलेखनलाई अगाडि बढाउनुभएको छ । विसं २०६० मा प्रकाशित चित्रकथा चिन्टु र पिन्टु घिमिरे दम्पतीले लेख्नुभएको कृति हो । बालसाहित्यमा खासै पुस्तक नदेखेपछि यसैमा कलम चलाउन २०२८ बाट थाल्ने उहाँले लेखन, अनुवाद र सङ्घ संस्थामा रहेर पनि बालसाहित्यको क्षेत्रमा मनग्गे योगदान दिनुभयो । 

सर्वेयर भएर १५ वर्षे उमेरमा जागिरे जीवन सुरु गर्नुभएका चञ्चलले २०१९ मा लाजिम्पाटको चेतभवनदेखि बबरमहल, सानोठिमी, हरिहर भवन र पुनः सानोठिमी हुँदै सर्वे विभाग र पाठ्यव्रmमको गरी झन्डै ४० वर्ष जागिरे जीवनको अनुभव सँगाल्नु भयो । केही वर्ष साझा प्रकाशनको सञ्चालक र महाप्रबन्धक, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य भएर पनि बिते । ८२ वर्षसम्मको जीवन लेखेरै बाँच्नु भयो उहाँ ।