• १० मंसिर २०८१, सोमबार

चरैवेति–चरैवेति

blog

कहिलेकाहीँ मन अलिक भावुक हुन्छ । तरल भएर समयका गहिराइमा बग्छ । समयका सन्नाटामा-जीवनका शून्यतामा-परिस्थितिका एकान्तमा-भीषण मौनताका मौन–कोलाहलमा नदी झैँ कलकलाउँदै बग्छ र शनैः शनैः बगिरहन्छ निरअविच्छिन्न आफ्नै वेगमा । 

मनको कुनै आकार हुन्न । यो निराकार छ । कहिल्यै कसैको वशमा छैन मन । हरघडी मुक्त छ । समयका कोलाजहरूमा सधैँ छताछुल्ल छ । रल्लसल्ल छ । निर्वाध पवन झैँ नृत्यमग्न छ । चैत–वैशाखको चञ्चल घनघटा झैँ मडारिँदै फैलिदिन्छ–निस्फिक्री नील–गगनमा । नियन्त्रणबाहिर पुगेको क्यानभासको रङ झैँ जथाभावी पोखिन्छ-लतपतिन्छ । कहिले बुढो भ्वाइलिनको धुन झैँ कोठाको सन्नाटा चिरेर शून्यतामा हराउँछ । मन फैलिएर कता कता पुग्छ । पोखिएर कहाँ कहाँ झर्छ । छरिएर भुइँभरि हुन्छ । झाँगिएर मन–मुटुमा बस्छ ।

बन्द कोठामा छु । बाक्लो साँझले सिँगौरी खेलिरहेको छ– उज्यालोसँग । बाहिर उज्यालो हराएको छ । झ्यालबाट कहीँ कतै देखिन्न । देखिन्छ त केवल चकमन्न, निस्तब्ध र कालै–कालो । निशाचरहरू पनि सन्नाटाले नुहाइरहे छन् । बेला बेला कुकुर रोइरहेको हुँक् हुँक् आवाज आउँछ । पल्लो घरभित्रबाट यदाकदा खोकीको बुढो आवाज निस्किन्छ । बाँकी केवल निस्तब्द अँध्यारोमा छन्– बस्तीहरू । रातले खर्लप्पै निलेको छ उज्यालो । अँध्यारोको सघन साम्राज्य चलिरहेको छ । कोठामा एउटा सानो बत्ती निरन्तर उज्यालो छरिरहे छ । एउटा सानो बत्तीको आलोकमा खुम्चिएको छु म । यो अन्धकारको कोलाहल भत्काउनु छ मैले । म उज्यालोको प्रतीक्षामा छु । भोलिको प्रतीक्षामा छु । 

एउटा नयाँ बिहानको स्वागतमा छु । चैतन्यले उज्यालो खोजिरहे छ । मन–मस्तिष्कमा हुतुतु उज्यालोका अनेकौँ विम्ब आइरहे छन् । उज्यालो जीवनको सपना हो । उज्यालो सौन्दर्यको प्रतिविम्ब हो । म आँखाभरि उज्यालो र मनभरि खुसी खोजिरहेको छु ।

हत्केलाका रेखाहरूमा खुसीको बेर्ना उमारिरहे छु ।

कोठाको भित्तोबाट मस्तिष्कमा एक तमासले छक् छक् गर्दै घडीको आवाज आइरहे छ । त्यही भित्तामा अघिदेखि माउसुली तल–माथि दगुरिरहेको छ । माउसुलीको ध्येय केवल खानेकुरामा मात्रै छ । मानौँ, ऊ खानकै लागि बाँचिरहेको छ । यस्तो लाग्छ, उसको बँचाइ खानकै लागि हो । मभित्रको मुटु बाँच्नका लागि सङ्घर्ष गरिरहेको छ । 

माउसुली रातभर भोको पेट भर्न उद्यत छ । ऊ ट्युबलाइटको आडमा लुकेर निरन्तर लामखुट्टे र किराको सिकार गरिरहे छ । म उसको तमासा हेरेर एकाग्रता भत्काइरहेको छु । उसलाई रात प्यारो छ । मलाई दिन प्रिय लाग्छ । माउसुली रात मन पराउँछन् । रात्रिकै गीत गाउँछन् । म उज्यालो पर्खिरहेको छु । उज्यालोमा अनुवाद गर्नु छ– जीवन । ऊर्जाले सिँचन गर्नु छ– मस्तिष्क अनि हृदयलाई हिरा झैँ चम्किलो बनाउनु छ । म बेला बेला अन्तष्करणको गहिरो दहमा डुबुल्की मार्छु । कैले मनलाई उन्मुक्त बनाएर छोडिदिन्छु शून्यतामा । कैले थुमथुम्याएर राख्छु कङ्व्रिmटको गुफाभित्र । 

त्यतिबेला म आफ्नै भित्री मनसँग गहिरो मौन संवाद गर्छु । 

–“म किन जन्मिएँ ?” 

केका लागि जन्मिएँ ? 

यो सुन्दर धरामा किन पदार्पण भएँ ? 

मेरो जीवनको लक्ष्य के हो ? उद्देश्य के हो ?

 ....यस्ता कैयौँ प्रश्नले घेरिइन्छु म । 

मानव जन्म अज्ञेयबाट ज्ञेयतर्फको यात्रा हो । अज्ञेयलाई ज्ञेयमा बदल्ने अनेकौँ विज्ञ र दार्शनिक सम्झिन्छु । उनीहरूको त्याग, तपस्या र समर्पण सम्झिन्छु । अनि आफैँलाई थुमथुम्याउँछु– चरैवेति चरैवेति ।

मभित्रको चेतनाको सार्थकता के हो ?

...र के हो मानिसको मुमुक्षा ? किन निर्लज्ज छन्– चेतनशील जिजीविषा ? ...पटक पटक मेरा प्रश्नसँग मन पराजित हुन्छ । प्रश्नको चाङबाट खै कता भाग्छ मानवीय चेतना ! यस्तो लाग्छ, मनमा प्रश्नको यति ठुलो चाङ छ कि जसको तुलनामा पृथ्वी पनि सानो देखिन्छ । उत्तरको खोजीमा हमेसा मस्तिष्क उद्वेलित हुन्छ । बत्तिएको मनलाई सुस्तरी सुमसुम्याउँछु ।

मन अशान्त समुद्र बनेको छ । समुद्र प्रायः शान्त हुन्छ तर यदाकदा समुद्रमा आउने सुनामी कति खतरनाक हुन्छ ! सायद आज मेरो शान्त मनमा पनि सुनामीको धक्का महसुस भइरहेको छ । म मनलाई प्रायः शान्त समुद्र झैँ चुपचाप राख्न मन पराउँछु । यद्यपि मन न हो । कहिलेकाहीँ सुनामीका छालसँगै बत्तिने गर्छ ।

जीवनको असली परिभाषा के हो ? खोज्नु छ मैले । पढ्नु छ– जीवनको गहिरो दर्शन । भोग्नु छ– जीवनका अथाह दुःख–सुख÷हाँसो–रोदन÷आशा–निराशा÷चिसो–तातो÷मिलन–बिछोड÷जोड–घटाउ । पलपल सदुपयोग गर्नु छ जीवन । चढ्नु छ– जीवनका अनेकौँ चुली र चुचुराहरू । झर्नु छ– जीवनको गहिरा खोँच र खलियानहरू । म हुन्नँ कहिल्यै स्थिर । बस्दिनँ मौनताभित्र रुमल्लिएर । सधैँ बनिदिन्छु गतिशील । मस्तिष्कमा हुर्काउने छु – आगो ! 

शून्यता मेरो मार्ग हुँदै होइन । म जीवनसँग जीवन खोजिरहेको मानिस हुँ । म निराशाको थुप्रोमा आशा खोजिरहेको प्राणी हुँ । पैतालामा कोलम्बस उभ्याइरहेको पात्र हुँ । म भावुक बनिदिन्छु । शून्यता एक हिसाबले रित्तिनु हो । निख्रिनु हो । सकिनु हो । भौतिक रूप र आकार नदेखिएको निराकार स्वरूप हो । भावनात्मक रूपले शून्यता आफैँमा महìवपूर्ण अवस्था हो । म पनि कहिलेकाहीँ रित्तो रित्तो भइदिन्छु । रित्तो हुनु भरिने व्रmमको सुरुवात पनि हो । मेरो दुई आँखा पनि छन् हेर्नका लागि तर यी आँखाले नजिक हेर्छन् । सतह मात्रै हेर्छन् । म कैले कैले परसम्म हेर्न खोज्छु । 

परसम्म हेर्नका लागि मैले यी आँखा चिम्म गर्नु पर्छ । हृदयको आँखाले हेर्नु पर्छ । हरेक कुराको गहिराइ हेर्न होस् कि, उचाइ हेर्न, आफैँलाई हेर्न होस् कि, अन्यलाई हेर्न होस् । आँखा चिम्म गरेर हेर्दाको दृश्यको आनन्द नै बेग्लै हुन्छ । मानिसले हरेक दृष्टिकोणबाट हेर्न सक्छ । स्वार्थका दृष्टिले÷निःस्वार्थ दृष्टिले÷प्राप्तिका दृष्टिले÷अप्राप्तिका दृष्टिले ...!

संसारमा मानिस यस्तो प्राणी हो – जो सम्बन्धमा पनि कुनै न कुनै स्वार्थ राख्छ । कुनै न कुनै अपेक्षा बोक्छ । निःस्वार्थ सम्बन्ध त मानिसइतरका प्राणीमा मात्रै हुन्छ । म पनि त्यो स्वार्थभन्दा टाढा छैन ।

हमेसा म आफैँभित्र 

आफैँलाई खोजिरहेको हुन्छु । 

आफैँभित्र आफैँलाई सोधिरहेको हुन्छु । 

किन म अलमलमा छु ! 

किन म हुलमुलमा छु । 

दिनहरू आउँछन् – जान्छन्, 

रातहरू आउँछन् – जान्छन्, 

सम्बन्धहरू बन्छन् – भत्कन्छन् । 

जीवनले एक तमास गीत गाइरहन्छ । 

छातीभित्र निरन्तर नृत्यमग्न छ जीवननको गति तर तर हाम्रो जीवनको शब्दातीत सौन्दर्य किन अपरिवर्तित छ ! 

हामी किन परिवर्तन हुँदैनौँ ? 

म आफैँलाई निर्मम प्रश्न गरिरहेको हुन्छु ।

मैले त आफैँलाई चिन्नु छ । 

आफैँलाई बुझ्नु छ । 

म हरेक दिन ऐनाअगाडि उभिँदा आफैँलाई गहिरोसँग नियाल्छु । मैले आफैँलाई चिन्न सकिनँ भने दुनियाँ कसरी चिन्न सकुँला ! आफैँलाई नचिन्नु, आफैँलाई नबुझ्नु, आफैँलाई नजान्नु र आफैँलाई नपढ्नु पनि जीवनको अर्को दुर्भाग्य हो । आफैँलाई नचिन्नेले अरूलाई बुझेको छु भन्नु बेकार हो । संसार भोगेको छु भन्नु व्यर्थ हो । ब्रह्माण्ड चिन्नेले पनि पहिले आफू चिन्न सक्नु पर्छ । आफूलाई बुझ्न सक्नु पर्छ ।

म आफैँ कहिलेकाहीँ अन्योलमा पर्छु । 

म स्वयम् साक्षर हुँ कि होइन ? 

हो, अक्षरहरू चिन्छु । 

अक्षरका भाव र भङ्गी पनि बुझ्छु । 

यद्यपि पढ्ने के नपढ्ने के ? जान्न सक्दिन । लेखिएका सबै कुरा पढ्न सम्भव नहुन सक्छ । आफूलाई आवश्यक कुरा मात्रै पढ्ने होला । अनावश्यक कुरामा अल्झिनु र बाँधिनुको कुनै तुक छैन । 

म कस्तो छु ? म को हुँ ?

मलाई नजिकबाट चिन्ने र बुझ्ने मै हुँ । मैले देख्ने संसार कस्तो छ । रङ्गीन ! श्यामश्वेत वा ...? 

“मैले हेर्ने दृष्टिकोणले हेरिरहेको दृश्यमा पार्थ्यक्यता कत्तिको हुन्छ ?” मैले हेर्ने हरेक कोणमा म झल्किन्छु । मेरोपन झल्किन्छ । म कसैका आँखाले कुनै दृश्य नहेरौँ । कसैका आँखाहरूले मेरो दृश्यमा भ्रान्ति नल्याओस् । मेरो चेतनामा परनिर्भरता नदेखियोस् । म इन्द्रियमा सार्वभौमिकता खोज्न सकुँ । म आफूबाट सञ्चालित मानव हुन सकुँ । म त्यही चाहन्छु । मेरो मन त्यही चाहन्छ । मेरो जीवन त्यही चाहन्छ । जीवन मैले जोडेको थोरै ओठको हाँसो र अलिकति परेलीका बाँध भत्काउँदै बगेको दुःखको जोड हो ।

आफू चिन्न आफ्नै गहि-याइ-उचाइ-लम्बाइ-चौडाइ अनेकौँ कोणबाट हेर्न सक्नु पर्छ । हामीले चिनेको आकृति त केवल जीवनको खोल मात्रै हो ! मानिसको चित्र र चरित्र नितान्त फरक कुरा हुन् । मानिसको अनुहार हेरेर मानिस चिन्न सकिँदैन । जब मानिसले आत्माको सौन्दर्य बुझ्दैन, उसले दुनियाँ त के आफैँलाई चिनिरहेको हुँदैन ।

हरेक प्रहर म आफैँभित्र आफैँलाई खोजिरहेको हुन्छु । मेरो मस्तिष्कमा अनेकौँ प्रश्न नवरात्रिका जमरा झैँ लहलह भइरहन्छ । म आफैँलाई गतिशील बनाउँछु । हरेक पल भन्छु – चरैवेति चरैवेति ।

ओ ! प्रिय अभ्यागत ।

मैले तिमीलाई सग्लो प्राकृतिक आँखा दिन पनि सकेको छैन । म कृत्रिम आँखा अनुहारमा टाँसेर यो कङ्व्रिmटको घना जङ्गलमा गुमनाम जीवन बाँचिरहेको छु । शरीरलाई भौतिक सुखमा अनुवाद गरेर मनलाई वर्षांैदेखि कैद गरिरहे छु । कैद छ मेरो मन । गुमनाम छ मेरो मुटु । लोभ, मोह र आशक्तिमा चुर्लुम्म डुबेको छ मस्तिष्क । मानिसमा हुनुपर्ने कैयौँ गुण छन् मसँग । कैयौँ अवगुण छन् । गम्छु, मानिस त गुण–अवगुणले सजिएको चेतनाको थुप्रोबाहेक केही होइन रहेछ ।

लेखुँ भन्छु । लेख्न पनि सकिरहेको छैन । 

लेख्ने कुरा मस्तिष्कबाट भुरुरु उडेर कहाँ गएका छन् थाहा छैन ! यही हप्ता एउटा निबन्ध लेख्नु छ – समष्टि पत्रिकालाई । सम्पादकज्यूले दिएको डेटलाइन घर्किन लागिसक्यो । अङ्ग्र्रेजीमा अनुवाद मेरो एउटा निबन्ध पठाउनु छ । घरबेटीलाई हात्ती समाएर बुझाउनु छ । पसलेको उधारो चुक्ता गर्नु छ । काम बाँकी छन् । समयले कसैलाई पर्खिंदैन । समय हामीभन्दा निकै बलवान् छ । लेख्नु छ निबन्धमा आफ्नै जीवन गीत । आफैँलाई लेख्नु पनि त्यति सजिलो छैन । आफैँले नचिनेको स्व खोज्नु छ । आफैँले नदेखेको आफ्नै कथा लेख्नु छ । आफैँभित्रको चरित्र उतार्नु छ । आफैँलाई उतार्नु छ – चित्रमा-चरित्रमा-चेतनामा-शब्दमा ...। मस्तिष्कमा एउटा मन्त्र बनाउँछु – चरैवेति चरैवेति ।

आफ्नै सत्यलाई उजागर गर्नु छ । मभित्रको ‘म’ कति अमूर्त छ । मैले मभित्रको ‘म’ देख्नु छ । ऐनामा जति सजिलोसँग मानिस आ–आफ्नो आवरण हेर्न सक्छन् । त्योभन्दा कैयौँ गुणा अप्ठ्यारो हुन्छ । आफ्नो भित्री सौन्दर्य पर्गेल्न ।  म अहिले चुपचाप छु – कङ्व्रिmटको गुफाभित्र । मन कुनै खेलमैदान झैँ भएको छ । मन–मस्तिष्कभित्र अनेकौँ खेल चलिरहेका छन् । भौतिक चिज कति खतरनाक हुन्छ । म झ्यालको खापाबाट परसम्म चिहाउन पनि सकेको छैन । प्रकृतिको सानिध्यतामा डुबुल्की मार्न पनि भ्याएको छैन – हिमालको चित्ताकर्षक दृश्य हेरेर । पहाडका तरेलीमा ध्यानमग्न भएर । नदीका छालमा हराएर । हावाले धानका गाँजमा वयली खेलेको हेरेर । साँझमा चराको गीत सुनेर । रातमा जूनको सौन्दर्य हेरेर । 

खै ! किन हो म चुपचाप काँचका पर्दामा जीवन खर्चिरहेको छु ।

म एक आधुनिक होमो सेपियन्स; जो आकाशतिर ठडिएर संसार हेरिरहेको छु । नूतन चेतनाले विश्व चिह्याइरहेको छु । मस्तिष्कमा विचारको आगो बोकेर उज्यालोको गीत गुनगुनाइरहे छु । मैले सधँैका लागि झ्याप्प निभाउनु छ अँधेरो ! र, बाल्नु छ – जीवनको आलोक । शनैः शनैः मन्त्रोच्चारण गरिरहेछु – चरैवेति चरैवेति ।