• १२ मंसिर २०८१, बुधबार

छाउगोठमुक्त वडा निर्माणमा जुट्दै पातारासी गाउँपालिका

blog

पातारासी गाउँपालिका-४ का गाउँहरु घोषणा कार्यक्रम । तस्बिर : नेत्र शाही ।

नेत्र शाही

जुम्ला, पुस २६ गते । पातारासी गाउँपालिकामा छाउगोठमुक्त अभियान तीव्र रूपमा अगाडी बढेको छ । पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ को लुम, भोटगाउँ, तिर्खु, डिल्लीचौर, लाम्री, वैसेनी र डोल्काटी लगायतका गाउँ छाउगोठमुक्त वडा घोषणा गरिएको हो ।  

त्यस वडामा ५ सय घरधुरीका दुई हजार एक सय ९५ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार पातारासी गाउँपालिकालाई छाउगोठमुक्त बनाउने अभियान अन्तर्गत यसअघि वडा नम्बर २ र ५ वडा पनि छाउगोठ मुक्त घोषणा गरिसकेको छ । उहाँका अनुसार यसअघि वडा नम्बर २ का पेरे र तल्फि गाउँ, वडा नम्बर ५ का तलिलोर्पा र माथिलोर्पा गाउँ समेत घोषणा भइसकेका छन् । 

वडा नम्बर ४ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहोराले ब्यानर पढेर ४ नं वडा छाउगोठ मुक्तवडा घोषणा गर्नुभएको छ । उहाँले अबका अन्य वडा पनि छाउगोठमुक्त गर्नमा पहल गरिने बताउनुभयो । छाउगोठ मुक्त अभियानमा पातारासी गाउँपालिकामा पुग्नु भएका तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले मानव जीवनमा महिलाहरू गोठमा बस्ने कुप्रथाको समाजबाट जरो उखेल्ने कामको सुरुवात गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । उहाँले यस अभियानलाई पूर्णता दिन शुभकामना दिनुभयो ।  

वडा नम्बर ४ का वडाध्यक्ष कालीबहादुर ऐडिले सामाजिक विकृतिको रूपमा रहेको छुईप्रथाले महिलाहरूको जीवनमा पारेको असर जोगाउने उपायको रूपमा रहेको छाउगोठ मुक्त अभियान सफल पार्न सहयोग गर्ने स्थानीय सरकार, साझेदार संस्था सबैलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा अझ सचेतनाका कार्यक्रम अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । 

छुईगोठमुक्त गाउँ घोषणा गर्ने आधार तयार गर्न पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा र सर्वोदय नेपाल, किर्डाक नेपालको साझेदारीमा गाउँगाउँमा सचेतना दिलाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ । सर्वोदय नेपालका निर्देशक कमल खत्रीले लामो समयदेखि त्यस क्षेत्रमा छुईप्रथाको विरुद्धमा सचेतना तथा छाउगोठमुक्त अभियानमा काम गरिरहेको जानकारी दिनुभयो । छाउगोठमुक्त घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका मायादेवी खड्काले हिजो गोठमा बसेर महिलाहरूलाई सर्पले टोक्ने, बिरामी हुने, पाठेघरमा घाउ हुने समस्या गोठमा बस्नाले बढी थियो आज गोठमा नबस्ने घोषणापछि महिलाको जीवनमा परिवर्तन हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।  

महिला तथा बालबालबालिका शाखाका प्रमुख गिरीका अनुसार यसअघि वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा समेत घोषणा गरिएको छ । आगामी दिनमा अन्य वडाहरू घोषणाको तयारी गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार घोषणामा उपस्थित महिलाहरूलाई स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ । 

नमुनाको रूपमा १० जनालाई सेनेटरी प्याड, भित्रिवस्त्र, साबुन उपलब्ध गराइएको र सबै महिलालाई सो सामग्री वितरण गरिनेछ । यसैगरी छुईगोठ मुक्त घोषणा कार्यक्रममा अबदेखि गोठमा बस्दैनौ, गर्दैनौ भन्दै हस्ताक्षर अभियान समेत गरिएको र देउडामार्फत सचेतना दिइएको छ ।