• १३ साउन २०८१, आइतबार

आर्थिक सहयोग जुटेपछि सिकलसेल पीडित ताराको शल्यक्रिया सफल

blog

राष्ट्रिय ट्रमा सेन्टरमा श्रीमती ताराको उपचारमा सँगै रहेका छविलाल र उनका छोरा । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) पुस २६ गते । आर्थिक अभावमा सिकलसेल एनिमियाबाट पीडित घोडाघोडी नगरपालिका वडा नम्बर १ हिम्मतपुर मुक्तकमैया शिविरका ३२ वर्षीया ताराकुमारी चौधरीको आर्थिक सहयोग जुटेपछि अप्रेसन सफल भएको छ । 

पीडित ताराका श्रीमान छविलाल चौधरीले सबैको सहयोगबाट उपचार सम्भव भएको बताउनुभयो । उहाँले खुशी हुँदै भन्नुभयो, “साँझ बिहानको छाक टार्नै समस्या हामी जस्ता अपाङ्गलाई जटिल रोग लाग्दा उपचार गराउने कुनै उपाय थिएन, सबैको सहयोगबाट रकम जुटेपछि अप्रेसन भएको छ ।” छविलालले दुई लाख पच्चीस हजार रुपियाँ जम्मा गरेर श्रीमती ताराको अप्रेसन भएको जानकारी दिनुभयो ।

कैलालीमै सामान्य उपचारमा आफूसँग भएको सबै पैसा सकिएको बताउने चौधरीले काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी पुर्‍य ाउन घोडाघोडी नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको र अस्पतालले समेत सहुलियत दिएपछि उपचारमा सहज भएको बताउनुभयो । उहाँ आफैँ ह्विलचेयरमा हिँडेर अहिले बिरामी श्रीमतीको रेखदेख गरिरहनुभएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर बद्रीले अपाङ्ग चौधरीको पछाडिको दुवै खुट्टाको हिप जोइन्टसँग जोडिएको हड्डीको प्लेट नै खिइएकोले अप्रेसनको माध्यमबाट प्लेट रिप्लेस गरिएको बताउनुभयो । उहाँले बिरामी जनजाति समुदायअपाङ्ग त्यसमा पनि मुक्त कमैया परिवार भएकोले उपचारमा अस्पतालले गर्ने हदैसम्मको सहयोग गरेको बताउनुभयो ।

अस्पतालमा नभएको, बाहिरबाट मगाउनुपर्ने सामान र औषधिको शुल्क मात्र बिरामीले तिर्नुपर्ने भएपछि उक्त रकम सहयोग जुटेको हो । व्यक्तिगत रुपमा विभिन्न सङ्घसंस्थाबाट जुटेको आर्थिक सहयोगबाट ताराको उपचारमा सहज भएको हो । नगरपालिका कार्यपालिका सदस्य, घोडाघोडी क्याम्पसका कर्मचारी , प्राध्यापकहरु, भल्भन्सा, घोडाघोडी जेसिस, लगायत थुप्रै सङ्घसंस्थामार्फत सहयोग रकम प्राप्त भएको जनाइएको छ । 

ताराको मुख्य शल्यक्रिया भए पनि थप उपचारमा अझै रकम लाग्ने भएकाले छविलालले मनकारी मन भएकाहरुसँग अझै सहयोगको याचना गर्नुभएको छ । अपाङ्ग भएर पनि दुबै जोडीले समाजमा उदाहरणीय काम गरेकाले अहिले ताराको उपचारमा सहयोग गर्नेहरु खुलेर सहयोग गर्न जुटेका हुन् ।