• ११ मंसिर २०८१, मङ्गलबार

ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैनः मन्त्री बस्नेत

blog

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । फाइल तस्बिर

काठमाडौँ, पुस २४ गते । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मङ्गलबार बसेको बैठकमा बोल्नुहुँदै ऊर्जामन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले उद्योगहरूले प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल प्राधिकरणको तीन वटा बोर्ड र लेखा समितिको निर्देशन समेत भएकाले विद्युत उठाउनुको विकल्प नभएको दाबी गर्नुभयो । उहाँले विद्युत प्राधिकरण र उद्योगहरू बिचमा महसुलको विवाद समाधानको लागि विद्युत नियमन आयोगले दिएको निर्देशनलाई महान्यायाधिवक्ता कार्यालयको व्याख्याअनुसार अगाडि बढ्ने गरी काम भइरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले लेखा समितिले प्राधिकरणको व्यवस्थापकमाथि दबाब दिँदै बक्यौताको महसुल उठाउन निर्देशन दिएको स्थिति समेत रहेको बताउनुभयो । उहाँले प्राधिकरणले उठाउन बाँकी रहेको बक्यौता रकमलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउन पर्ने देखिएको दाबी गर्नुभयो । उहाँले प्राधिकरणले ६१ उद्योगहरूबाट २२ अर्ब २४ करोड उठाउन बाँकी रकममध्ये १५ अर्ब बक्यौता बापतको रकम रहेको र थप रकम ब्याज र जरिवानाबापतको भएको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले ट्रङ्क र डेडिकेटेड लाइनको विवादलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउनुपर्ने देखिएको भन्दै बाँकी पहिलो र तेस्रो खण्डको बक्यौताको विषयमा विद्युत नियमन आयोगले निर्णय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले २०७२ साल माघ १ गतेदेखि २०७५ साल वैशाख मसान्त लोडसेडिङ रहेको र विद्युत महसुल निर्धारण आयोगले ट्रङ्क र  डेडिकेटेड लाइन महसुल निर्धारण गरेको अवस्था रहेको बताउनुभयो । उहाँले २०७५ साल जेठदेखि २०७७ साल असार १ गतेसम्मको अवधिमा विद्युत महसुल निर्धारण आयोग खारेज हुँदा विद्युत महसुल तोक्ने निकाय नहुँदा पहिला विद्युत निर्धारण आयोगले तोकेको विद्युत महसुल परिमार्जन नभएको बताउनु भयो ।

मन्त्री बस्नेतले २०७७ मा विद्युत नियमन आयोग गठन भएर साउन १ गतेदेखि लागू हुनेगरी ट्रङ्क र  डेडिकेटेड नरहने घोषणा गरेको बताउनुभयो । उहाँले नियमन आयोग २०७५/२०७७ को बिचको विषयमा नबोल्दा समस्या भएको बताउनुभयो ।

मन्त्री बस्नेतले पञ्चेश्वर परियोजनामा नेपाल र भारतमध्ये कसले कति लगानी गर्ने भन्ने विषय टुङ्गो नलाग्दा आयोजना अघि बढ्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको भन्दै नेपाल र भारतबिच कसले कति लगानी लगाउने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । उहाँले परियोजनाबाट हुने लाभ दुवै मुलुकले बराबर लिने विषयमा स्पष्ट भए पनि  लगानीको सम्बन्धमा टुङ्गिन नसकेको बताउनुभयो । मन्त्री बस्नेतले सिँचाई र बिजुलीको लाभका आधारमा भारतको हिस्सा ठुलो भएकाले भारतले ठुलो लगानी गर्नुपर्ने नेपालको अडान रहेको तर भारतले लाभको हिसाब नगरी लगानी गर्नुपर्ने अडान राख्दा लगानीमा सहमति जुट्न नसकेको बताउनुभयो ।

मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर तीन महिनाभित्रै टुङ्गो लगाउने सहमति भएपनि सहमतिअनुसार विवाद समाधान हुन नसकेको बताउनु भयो ।