• १७ असार २०८१, सोमबार

अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

blog

अमरराज नहर्की

तनहुँ, पुस २४ गते । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । यस क्षेत्रका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी बेहोर्नु परेको छ । जिल्लास्तरीय यो अस्पतालमा शय्यालगायत आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।  

दमौली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. परिवर्तन बरालले दरबन्दी अनुसार आधाभन्दा कम जनशक्ति भएकाले बिरामीलाई सेवा प्रवाह गर्न समस्या परेको बताउनुभयो । बरालले भन्नुभयो, “अस्तालमा बिरामीको चाप धेरै छ तर स्वीकृत दरबन्दी ३० भए पनि हाल पदपूर्ति १३ मात्रै भएकाले सेवा प्रवाह प्रभावित भएको छ ।” मेसु बरालका अनुसार बहिरङ्ग विभागमा मेडिकल अधिकृत दुई जनाको दरबन्दी भए पनि एक जना लामो अध्ययन बिदामा छन् । तथ्याङ्क शाखामा मेडिकल रेकर्डर एक जना दरबन्दी रहेकोमा काजमा पोखरामा कार्यरत छन् ।

यसै गरी नर्सिङ शाखामा कार्यरत स्टाफ नर्स/अनमिको छ जना दरबन्दी रहेकोमा तीन जना अध्ययन बिदामा रहेकाले हाल तीन जना मात्रै कार्यरत छन् । एक्सरे शाखामा कार्यरत रेडियोग्राफिक्स दुई जनाको दरबन्दी रहेकोमा एक जना असाधारण बिदामा रहेका छन् । ल्याब शाखामा रहेका ल्याब असिस्टेन्ट दुई जनामध्ये एक जना मात्रै कार्यरत छन् । कार्यालय सहायक ११ जनामा पदपूर्ति एक जनाको मात्रै भएको छ । यस क्षेत्रमा यो अस्पतालको विशेष महत्व छ । ७२ किलोमिटर लामो पृथ्वी राजमार्ग अन्य सहायक मार्गमा हुने दुर्घटनाका घाइतेको उपचारलगायत अन्य उपचारका लागि पनि अस्पतालको स्तरोन्नति आवश्यक रहेको डा. बराल बताउनुहुन्छ । 

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले १५ शय्याको अस्पताल स्तरोन्नति अति आवश्यक भएकाले प्रदेश तथा सङ्घ सरकारको ध्यानाकर्षण गराइएको भए पनि माग पूरा नभएको बताउनुभयो । बिरामीको चाप अत्यधिक रहेकाले १५ शøयाको अस्पताललाई आन्तरिक व्यवस्थापन गरी ५० शय्याको बनाइएको थापाले जानकारी दिनुभयो । २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई समेत सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले सबै शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक पटक प्रयास भए पनि त्यसले मूर्त रूप लिन नसकेको थापाको भनाइ छ । 

बढ्दो चापसँगै अस्पताललाई एक सय शय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताउनुभयो । थापाका अनुसार अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ । २०३४ सालमा स्वास्थ्य चौकीका रूपमा स्थापना र २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल २०५९ सालमा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । अस्पतालमा फोहोर पानीको व्यवस्थापन, फोहोरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्षको सेवा दिइएको छ । अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधी कक्षलगायतका सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको छ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । हाल तीन सयदेखि ३५० जना दैनिक बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

नगरपालिकाको प्रयास  

दमौली अस्पतालको स्तरोन्नतिका लागि प्रयत्नशील व्यास नगरपालिकाले दुई चिकित्सक उपलब्ध गराउने भएको छ । पटक पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आएको नगरपालिकाले सुनुवाइ नभएपछि दुई चिकित्सक उपलब्ध गराउने भएको हो । सुत्केरी सेवा सहज बनाउन शल्यक्रियालाई निरन्तरता दिन स्त्रीरोग र एनेस्थेसियोलोजिस्ट गरी दुई चिकित्सका लागि पारिश्रमिक रकम अनुदान उपलब्ध गराउने तयारी भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । यस आर्थिक वर्षको छ महिनाका लागि दिइने पारिश्रमिकबापत छ लाख अस्पताललाई अनुदान उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । चिकित्सकलाई अनुदानबाट पारिश्रमिक उपलब्ध गराएर सुत्केरी महिलाको शल्यक्रियालाई निरन्तर कायम गर्ने नगरपालिकाले जनाएको छ ।