• १३ मंसिर २०८१, बिहिबार

मर्स्याङ्दी जलविद्युतको उत्पादन २० मेगावाट घट्यो

blog

हिमालबाट बगेर आएको मर्स्याङ्दी नदी । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, पुस २३ गते । सुख्खायाम सँगै नदीमा पानीको बहाव कम हुन थालेपछि मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्दै जान थालेको छ । उत्पादनमा २० मेगावाट घटेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६९ मेगावाट क्षमतामा हाल ४९ मेगावाट मात्रै उत्पादन हुने गरेको छ ।

सुख्खायाम भएकोले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेकाले तथा कतिपय सुकेको र पुस महिनामा घामको तापक्रम घटेकाले हिमाल कम पग्लिएकोले नदीमा पानी कम उत्पादन घट्दै गएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार जेठ लागेपछि हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जान्छ । सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ । 

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।