• १० मंसिर २०८१, सोमबार

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट सापकोटा र सुवेदीको उम्मेदवारी

blog

सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारहरु । तस्बीर : गोरखापत्र

लीलाधर वली 

घोराही, पुस २३ गते । राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट विष्णुकुमारी सापकोटा र झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा माओवादीलगायतका दलका नेता तथा कार्यकर्तासहित घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादीका झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।  

गुल्मी जिल्ला निवासी सापकोटाले महिला सदस्य र रोल्पा जिल्ला निवासी सुवेदीले अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सापकोटाको प्रस्तावकमा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी रहनुभएको छ ।  

सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढामगर रहनुभएको छ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन थालेको छ ।

उम्मेदवारी दर्ताका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल, माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, पूर्व सांसद दामा शर्मालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।