• १४ पुस २०८१, आइतबार

मारेर बोरामा फालेका दुई शवको पहिचान खुल्यो

blog

प्रहरीले सार्वजनिक गरेको मृतकको स्केच । फाइल तस्बिर

शालिग्राम नेपाल
चितवन, पुस २३ गते ।
मारेर बोराभित्र फालेको शवको पहिचान खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी दिएको छ ।

हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।

मृतक नागरिक भारत मोतिहारी घर भएका र  चितवनको भरतपुरमा व्यापार गर्दै बसेका थिए । दुबै जनालाई हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्टमुनि फालिएको अवस्थामा शव भेटिएको थियो । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

अनुसन्धानको क्रममा शवको तीन हप्ताअघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो । घटनाको विस्तृत विवरण पछि जानकारी गराउने जिल्ला प्रहरीले बताएको छ ।