• १५ मंसिर २०८१, शनिबार

उत्पादन तथा रोजगारमुखी योजना प्राथमिकतामा

blog

तनहुँ समाचारदाता

तनहुँ, पुस २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादन तथा रोजगारमुखी योजनालाई प्राथमिकता दिई पञ्चवर्षीय योजनामा समेटिने बताउनुभएको छ ।  प्रदेश नीति तथा योजना आयोगले तनहुँको बन्दीपुरमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि सुझाव सङ्कलन तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

युवा रोजगारी तथा अवसरको खोजीमा बिदेसिनुपर्ने बाध्यतासँगै गाउँमा जीविकोपार्जन नभएपछि सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा राखिने उहाँले प्रस्ट पार्नुभयो । रोजगारी, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा समेट्नुपर्ने उहाँको भनाइ छ  । तनहुँ–२ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले धार्मिक पर्यटनलाई प्राथमिकता दिएर योजनामा समावेश गर्नुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशमा मनकामना, मुक्तिनाथ, देवघाट, छाब्दीवाराही, ढोरवाराही जस्ता थुप्रै धार्मिक स्थलमा आउने धार्मिक पर्यटकले हजारौँलाई रोजगारी दिएकाले त्यस्ता क्षेत्रको प्रवर्धन गरी रोजगारी बढाउन सकिने धारणा उहाँको थियो । 

तनहुँ–२ का प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले योजनालाई प्राथमिकीकरण गरेर योजना बनाउनुपर्ने र टुक्रे योजना बनाउन नहुने बताउनुभयो । 

उहाँले छ महिनाको अवधिमा ४०३ अर्ब रुपियाँ मात्रै राजस्व सङ्कलन भएको जानकारी दिँदै सो रकम सरकार सञ्चालन तथा कर्मचारीको तलब व्यवस्थापनमा मात्र पुग्ने भएकाले विकास प्रभावित हुने बताउनुभयो । 

विकास निर्माणका लागि सङ्घ सरकारबाट रकम धेरै आउने सम्भावना नरहेकाले सोही अनुसारको योजना बनाउन उहाँले सुझाव दिनुभयो ।  सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले सुझावलाई मनन गर्दै प्रदेशको हित हुने गरी योजना बनाइने बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री हरिबहादुर चुमानले वन र नदीबाट हुने आम्दानीबाट गण्डकी प्रदेश सरकार आत्मनिर्भर बन्न सक्नेतिर सङ्केत गर्नुभयो । 

सरकारले जलविद्युत् आयोजना सञ्चालन गर्न सक्ने गरी प्रदेश सरकारलाई कानुनी रूपमा अधिकार नदिँदा समस्या पर्ने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्यहरू सुरेश आलेमगर, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ,  जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विविध विषयमा सुझाव दिनुभएको थियो । 

त्यस्तै गण्डकी प्रदेश सरकारलाई आत्मनिर्भर र समुन्नत प्रदेश बनाउनुपर्नेमा पालिकाका प्रमुख तथा अध्यक्षहरूले जोड दिनुभएको थियो  । सरकारले मात्रै विकासको काम पूरा गर्न नसक्ने हुँदा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सुझाव दिनुभयो । 

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आत्मनिर्भर प्रदेश बनाउने गरी योजना बनाउनुपर्ने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवा रोजगारी नपाएकाले विदेश पलायन हुनुपर्ने बाध्यता रहेकाले औद्योगिक क्षेत्र बनाउने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

योजनाको अवधारणापत्र तर्जुमाका लागि पहिलो चरणमा स्थानीय तह र जिल्ला तहका विभिन्न सङ्घसंस्थासँग सुझाव सङ्कलनका काम भइहरेको आयोगले जनाएको छ । गण्डकी प्रदेशभित्रका ११ वटा जिल्लाका ८५ वटै स्थानीय तहका प्रमुखसँग छलफल, समन्वय तथा विभिन्न अन्तर्क्रियाका कार्यक्रम सञ्चालन गरी सुझाव सङ्कलन गरिएको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र  देवकोटाले जानकारी दिनुभयो ।