• १४ मंसिर २०८१, शुक्रबार

हेलिप्याड समुद्घाटन तथा हस्तान्तरण

blog

कोकिला भण्डारी

धनकुटा, पुस २२ गते । नेपाल सरकारको नीति तथा कार्यक्रममा समाविष्ट इतिहास तथा ऐतिहासिक धरोहर एवम् सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धनका लागि नेपाली सेनाले विगतदेखि नै आफ्नो पहलकदमीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । 

यसै सिलसिलामा जनहित कार्य अन्तर्गत धनकुटा जिल्लाको भौगोलिक अवस्थालाई दृष्टिगत गरी धनकुटा नगरपालिका ९ का स्थानीय जनताको आवश्यकतालाई मनन गरी बाघखोर हेलिप्याड निर्माण गरिएको हो । उक्त बाघखोरमा निर्मित हेलिप्याड आइतबार एक कार्यक्रमका बिच समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम गरिएको छ ।

नेपाली सेना भीमदल गणद्वारा निर्मित हेलिप्याडको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । भीमदल गणका सकल दर्जाको श्रम तथा प्राविधिक सहयोग, बाघखोर हेलिप्याड निर्माण समितिको सक्रियता, धनकुटा नगरपालिका ९ कार्यालय, डिएन ग्रुप अफ कम्पनी र स्थानीय जनसमुदायको आर्थिक सहयोगमा निर्मित उक्त पक्की बाघखोर हेलिप्याड नम्बर २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रामकाजी थापाबाट समुद्घाटन एवम् हस्तान्तरण सम्पन्न गरिएको भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार उक्त हेलिप्याड पूर्व वडाध्यक्ष एवम् सामाजिक व्यक्तित्व मनोज रायमामाझीद्वारा प्रस्ताव आएपछि भीमदल गणबाट असोज १९ गतेबाट करिब १० दिनसम्म पर्खाल लगाई हेलिप्याडको ढलान, रङरोगनलगायतका सम्पूर्ण काम सम्पन्न गरी निर्माण गरिएको बाघखोर हेलिप्याड निर्माण समितिलाई हस्तान्तरण गरिएको हो । 

हेलिप्याडलाई अपुग ६० हजार रूपियाँ आफ्नो तलबबाट आएको रकम हेलिप्याड समितिलाई दिने वचन दिँदै नेपाली सेनाका यस्ता प्रकृतिका जनहित कार्यहरूले सेना र जनताबिच सुमधुर सम्बन्ध कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन टेवा पुर्‍याउनुका साथै नेपाली सेनाले प्रत्यक्ष रूपमा जनताप्रति आफ्नो दायित्व निर्वाह गरेको कार्यक्रमको अवसरमा प्रमुख अतिथि नम्बर २ वाहिनीका वाहिनीपति सहायक रथी रामकाजी थापाले बताउनुभयो । 

उक्त कार्यक्रममा नम्बर २ वाहिनी अड्डा हिलेका वाहिनीपति सहायक रथी रामकाजी थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, कोशी प्रदेश सभा पूर्व सदस्य कुसुमकुमारी श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुदनप्रसाद भारती, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत सबिना राई, वडा नम्बर ९ का वडाध्यक्ष टङ्क रोइला, पूर्व अध्यक्ष एवं संयोजक मनोज रायमाझी, बाघखोर हेलिप्याड निर्माण समिति पदाधिकारीलगायतको उपस्थिति थियो ।