• १४ मंसिर २०८१, शुक्रबार

दलित आन्दोलनलाई एकीकृत गर्न सहकारी

blog

रमेश विश्वकर्मा

गुल्मी, पुस २२ गते । गुल्मीमा दलित आन्दोलनलाई एकीकृत गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको छ । वि.सं. २०७८ असार ३१ गते लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकारी महाशाखामा यस जिल्लामा दलित आन्दोलनलाई एकीकृत गर्नका लागि एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना गरिएको अध्यक्ष कृष्ण विश्वकर्माले बताउनुभयो।

यस एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष विश्वकर्माका अनुसार गुल्मी जिल्लालाई कार्यक्षेत्र निर्धारण गरी लुम्बिनी प्रदेशभरी कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जिल्लाका अगुवा दलितकाे उपस्थितिमा २०७६ चैत १५ गते प्रथम प्रारम्भिक भेला गरिएको हो । दलितभित्रको एकता जुटाउन सहकारीको स्थापना गरिएको भन्दै सामाजिक तथा आर्थिक रुपमा पछाडि पारिएको दलित समुदायलाई सङ्गठित गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

नेपालको आर्थिक विकासको लागि तीनखम्बे अर्थनीति अपनाइएको भन्दै दलित समुदायका परम्परागत निर्वाहमुखी पेशा, कृषि प्रणाली एवम् पेशा व्यवसायको आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरण गरी आय–आर्जनमा समेत टेवा पुर्‍याउने अध्यक्ष विश्वकर्माले बताउनुभयो । नयाँ सोच र नयाँ कार्यका साथ स्थापना गरिएको भन्दै दलित आन्दोलनलाई बचाइराख्न यस सहकारीले ठुलो सहयोग गर्ने उहाँले बताउनुभयो ।

संस्थाले अहिले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । यस अवसरमा जिल्ला समन्वय समिति सदस्य शेरबहादुर विश्वकर्माले दलित समुदाय सबै एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले यस जिल्लाको दलित आन्दोलनमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । संस्थाका कोषाध्यक्ष उजेली विश्वकर्माले जिल्लाका दलित समुदायको आर्थिक उन्नति र जातीय विभेद तथा छुवाछूत मुक्तिको आन्दोलनलाई एकीकृत गर्न सहकारीका माध्यमबाट सहयोग पुग्ने बताउनुभयो । 

साधारणसभामा उत्कृष्ट शेयर सदस्यका रुपमा भुजेलखर्ककी खेमकला सुनार र असल ऋणीका रुपमा मुसिकोटका दलबहादुर परियारलाई सम्मान गरिएको छ । यस सहकारीमा हालसम्म १५४ जना शेयर सदस्य रहनुभएको व्यवस्थापक विष्णु विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ६७ जना महिला र ८७ जना पुरुष शेयर सदस्य छन् । दलित समुदायभित्रको जातिगत अवस्था अनुसार ९६ जना विश्वकर्मा, ४८ जना नेपाली, ९ परियार, १ जना गन्धर्व शेयर सदस्य हुनुहुन्छ । 

संस्थाको हालसम्मको शेयर पुँजी १४ लाख सात हजार रुपियाँ सङ्कलन भएको छ । ११ लाख ४५ हजार ५० रुपियाँ शेयर सदस्यहरुले बचत गर्नुभएको छ । एक जना बाल बचत रहनुभएको छ भने ४२ लाख २५ हजार रुपियाँ ऋण लगानी भएको व्यवस्थापक विश्वकर्माले बताउनुभयो ।