सिराज खान
नेपालगन्ज, वैशाख २८ गते । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज जिल्ला कारागार मा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग (टीबी) पहिचानका लागि परीक्षण सुरु गरिएको छ ।
कार्यालयका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहका अनुसार कारागारमा विशेष शिविर सञ्चालन गरी एआई आधारित एक्स–रे प्रविधिबाट क्षयरोगको खोजपड्ताल सुरु गरिएको हो ।
यो एआई एक्स–रे विधि कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्स–रे विश्लेषण गरी फोक्सोमा देखिने असामान्य दाग तथा संक्रमणका आधारमा क्षयरोगको सम्भावना पहिचान गर्ने आधुनिक प्रविधि हो ।
शाहका अनुसार बिरामीको छातीको एक्स–रे तस्वीर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले सम्भावित क्षयरोग संकेतहरूको विश्लेषण गरी जोखिमबारे रिपोर्ट प्रदान गर्छ । यस विधिबाट छिटो र प्रभावकारी रूपमा क्षयरोग पहिचान गर्न सकिने उहाँले बताउनुभयो ।
शिविरमा सहभागी रोशनलाल चौधरी ले प्रदेश सरकारले क्षयरोगमुक्त अभियानअन्तर्गत रोग पहिचान तथा उपचार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले प्रदेश सरकार तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो । निर्देशक चौधरीले एआई एक्स–रे विधिबाट फोक्सोसम्बन्धी क्षयरोग पहिचान गर्न सहज भएको बताउनुभयो ।
त्यस्तै ज्ञानेन्द्र श्रेष्ठले नेपाललाई क्षयरोगमुक्त बनाउन समुदायस्तरमै रोगीको पहिचान गरी उपचारमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । प्रकाश ढुंगानाले कारागारभित्र रहेका कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।
कारागार व्यवस्थापन विभाग, जिल्ला कारागार बाँके र विराट नेपाल मेडिकल ट्रस्ट को समन्वयमा सञ्चालन गरिएको यो शिविर तीन दिनसम्म चल्नेछ । शिविरमा कारागारका ८४७ जना कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारी गरी करिब ९०० जनाको क्षयरोगसँगै एचआईभी परीक्षणसमेत गरिने स्वास्थ्य कार्यालय बाँके ले जनाएको छ ।