• १७ असार २०८१, सोमबार

चिनी मिलमा उखु अभाव

blog

उखु बोकेको गाडी बाटोमा रोकिएको अवस्थामा । तस्विरः गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, पुस २२ गते । सर्लाहीका चिनी मिलहरूमा उखुको अभाव भएको छ । बरहथवा भएको विवादका कारण प्रशासनले लगाएको निषेधाज्ञाले सवारी साधन ठप्प भएपछि उखु अभाव भएको हो । 

स्थानीय प्रशासनले शुक्रवारदेखि निषेधाज्ञा जारी गरेदेखि यस रुटमा आवागमन ठप्प छ । जसका कारण चिनी मिलमा आवश्यक उखु आपूर्ति हुन नसकेपछि क्रसिङ प्रभावित हुँदै गएको रामनगरस्थित एभरेस्ट चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लले बताउनुभयो । 

मिलतर्फ आउँदै गरेका ८० वटा ट्रक शुक्रवार साँझदेखि बरहथवा एरियामा अलपत्र छन् । ती ट्रकमा १३ हजार क्विन्टल उखु छन् । सोही ठाउँमा इन्दुशङ्कर चिनी मिलका पनि २०÷२५ वटा उखु बोकेका ट्रक बाटामै छन् । क्रसिङ सिजन २०८०÷८१ मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएर पुस ४ गतेदेखि सञ्चालनमा आएको एभरेस्ट चिनी मिललाई क्रसिङका लागि दैनिक ४० हजार क्विन्टल उखु आवश्यक पर्छ । यसमध्ये दैनिक २० हजार क्विन्टल महोत्तरीबाट र बाँकी उखु बरहथवाको बाटो हुँदै आपूर्ति हुने गरेको छ । 

अहिले उखु क्रसिङको मुख्य सिजन हो । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले चलान वितरण गर्दैमा चाहिएको मात्रामा उखु आपूर्ति हुन नसक्ने बताउनुभयो । चलान पाएपछि मिल गेटसम्म उखु पुर्‍याउन किसानलाई कम्तीमा तीन चार दिनको समय लाग्ने हुँदा उखुको अभाव तत्कालै पूरा हुन नसक्ने उहाँको भनाइ छ ।