• ११ पुस २०८१, बिहिबार

चौतारी संस्कृति

blog

नेपाली जनजीवनको चिरपरिचित सांस्कृतिक विम्ब हो, चौतारी । यसलाई चिनाइरहनुपर्ने खाँचो पनि खासै छैन । यद्यपि यसको शास्त्रीय परिभाषासँग पनि परिचित हुनु श्रेयस्कर होला । ‘बृहत् नेपाली शब्दकोश’ (२०५८) ले चौतारीलाई वरपीपल आदिका छाहारीमुनि चारैतिर ढुङ्गा इँटले वा बनेको अग्ला पेटीमा बस्ने व्यवस्था भएको ठाउँ भनी परिभाषित गरेको छ (पृ. ४०९) । चौतारीलाई ठाउँ अनुसार ‘चौतारो’ वा ‘चौतारा’ भन्ने गरिएको पाइन्छ । स्याङ्जालगायत कतिपय भूगोलमा यसलाई ‘चौपारी’ पनि भन्ने गरिन्छ । 

चौतारीको पर्यायवाची (समकक्षी) शब्द ‘चौतारा’ को अर्को विशिष्ट अर्थ पनि छ । ‘बृहत् नेपाली शब्दकोश’ का अनुसार राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति (राजाको सहकारी), प्राचीनकालमा राजसिंहासनमा राखिने मञ्च र त्यसमा बस्न पाउने व्यक्ति ‘चौतारा’ हुन् । इतिहास शिरोमणि बाबुराम आचार्यका कृतिमा पूर्वउल्लिखित सन्दर्भमा ‘चौतारा’ शब्दको प्रयोग भएको पाइन्छ ।

चौतारी र नेपाली जनजीवनबीच पुरानो र बहुआयामिक साइनो छ । चौतारीसँग जोडिएको साइनोका अनगन्ती आयाम हाम्रै वरिपरि छरपष्ट छन् ।

इतिहास नियाल्दा चौतारीमा राजा पनि भेटिन्थे भन्न सकिन्छ । न्यायप्रेमी राजाका रूपमा सुपरिचित गोरखाका तत्कालीन राजा राम शाह चौतारीमा बसेर न्याय–निसाफ छिन्थे भन्ने कथन हामीले सुनिआएको हो । उनले न्याय–निसाफ छिन्न प्रयोग गरेका चौतारी अझै अस्तित्वमा छ, जुन ‘राम शाह चौतारा’ नामले परिचित छ ।

कास्कीस्थित रुपातालको दक्षिणतिर रहेको मालमूल फाँटमा एउटा ऐतिहासिक चौतारो छ, जो ‘राजाको चौतारो’ नामले चिनिन्छ । यसले बाइसे–चौबिसे राज्यकालको राजनीतिक इतिहासको साक्षी बनेर रहेको छ । तत्कालीन कास्कीका राजा शिव शाहका पालामा कास्की, तनहुँ, रिसिङ, घिरिङ, पर्वत, भीरकोट, गह्रौँ, ढोर, नुवाकोट, सतहुँ, लमजुङ र गोरखा राज्यका १२ राजा भेला भई ‘शान्ति सम्झौता’ गरेको इतिहास छ (गोरखापत्र, २०७८, मङ्सिर २२) ।

संस्कृतमा रहेको ग्रन्थ ‘रामायण’ लाई नेपालीमा सरस र बोधगम्य किसिमले अनुवाद गरी लोकजीवनमा ख्यातानामा कमाएका भानुभक्त आचार्यले राणाकालमा आएर आदिकवि उपाधि पाए । उनले चौतारीमा भेट भएका घाँसीको प्रेरणादायी मुखवाणीबाट प्रभावित भई काव्यरचनामा तल्लीन भएर कालान्तरमा काव्यधाराको विशिष्ट ‘आइकन’ बन्न सफल भएको चर्चा साहित्यिक वृत्तमा सेलाएको छैन ।

यसरी राजादेखि रङ्कसम्मको नाता चौतारीसँग जोडिएको छ । खेताला, गोठाला एवं बटुवाले विश्राम लिने गुनिलो थलो हो, चौतारी । यसका अतिरिक्त भरिया भारीसहित पसिनाले निथु्रक्कै भिजेको थकित शरीर बिसाएर सुस्ताउने ठाउँ पनि चौतारी नै हो । फुर्सदको समयमा बाघचाल तथा गट्टा खेलेर मनोविनोद गर्ने थलो पनि चौतारी हो । साथीसङ्गीसँग मनको बह पोख्ने साझा थलो पनि चौतारी नै हो ।

चौतारीमा भौतिक भारी मात्र बिसाइँदैन, मनको अभौतिक भारी पनि बिसाइन्छ । चौतारीमा दुई किसिमले मनको भारी बिसाइन्छ । एक, मन मिल्ने साथीसङ्गीसँग मन खोली वार्तालाप गरेर । दुई, चौतारीमा बसेर गीतमा मनको बह पोखेर । ‘चौतारीमा मै बसे होला कि, वरको डाली नुगेर छोला कि’, ‘यो मायाले गरेन वास्ता, चौतारीको छेवैमा मै बस्दा’, ‘चौतारीमा वर हैन पीपलु, काँ गएर होला मन शितलु’, ‘अलि यता सर न रेशम, चौतारीको वरपीपल झैँ बसन्’ जस्ता लोकगुञ्जनले लोकजीवनमा चौतारी मनको बह पोख्ने प्रिय थलो हो तथ्यलाई  प्रस्ट्याउँछ ।

विगतमा भद्रभलादमीबीच चौतारीमै सभा–कहचरी हुन्थ्यो । गाउँघरका सानातिना झैझगडा तथा मुद्दा–माम्लो चौतारीमै बसेर सुल्झाइन्थ्यो । यसरी चौतारीमा बसेर मुद्दा छिन्ने भद्रभलादमीले सधैँ न्याय–निसाफ गर्थे भन्न सकिन्न । दोषीले सजाय र निर्दोषले न्याय पाउँथ्यो भनेर किटान गर्न सकिन्न । 

भनाइ नै छ ‘न्यायको नौ सिङ’ । कतिपय भद्रभलादमीले कानुनको गलत व्याख्या गरी सही न्याय–निसाफ नगरेका दृष्टान्त पनि पर्याप्त भेटिन्छन् । ‘चोरलाई चौतारो, साधुलाई सुली’ लोकोक्ति त्यसै चलेको होइन । यस लोकोक्तिले तत्कालीन समयमा न्याय सम्पादनमा भएको चुक वा गम्भीर कमजोरीलाई इङ्गित गर्छ । 

न्याय सम्पादनदेखि सामाजिक जमघटसम्मका यावत् सामाजिक अवयवको साक्षी बनेको चौतारी समयक्रममा ओझेलिँदै र बिरानिँदै गएको सांस्कृतिक विरासतमध्ये एक हो । गाउँ गाउँमा नयाँ मोटरबाटो बन्दा हिजोका दिनमा चल्तीमा रहेका बाटोघाटोको रुट बदलिएको छ । ती बाटाघाटा बटुवा–शून्य हुन पुगेका छन् । बटुवा नै नहिँड्ने वातावरण बनेपछि चौतारी यसै बिरानो हुने भइहाल्यो । 

अर्कोतिर राजमार्ग विस्तार गर्ने तथा विद्युत् तार तान्ने क्रममा निर्मम तरिकाले असङ्ख्य चौतारी ध्वंस गरिएका छन् । पृथ्वी राजमार्ग र नारायण–बुटवल खण्ड विस्तार गर्दा ठूलो सङ्ख्यामा वरपीपल चौतारी नष्ट गरिए भन्ने समाचार पढ्न–सुन्न पाइन्छ । देशका अन्य भागमा चौतारी यही हविगत छ ।

गाउँघरमा चलेको ‘डोजर आतङ्क’ पनि चौतारी अधपतनको अर्को कारण बनेको छ । विकासका नाममा गाउँबस्तीमा निर्मम र योजनाविहीन किसिमले जोडर चलाइँदा सयौँ वर्ष पुराना चौतारी भत्कन पुगेका छन् । विकासका नाममा बुल्डोजरको थुतुनोले मनलाग्दी जमिन उधिन्दा ऐतिहासिक महत्वका शताब्दीऔँ पुराना चौतारी मासिएका छन् । यससँगै पानीका स्रोत सुक्न थालेको जनगुनासो पनि सुनिन थालेको छ । 

‘डोजर आतङ्क’ ले चौतारीको विनाश मात्र भएको छैन, बान्की परेका पाखा–पखेराहरू कुरूप र थोते बन्न पुगेका छन् । परिणामस्वरूप ठाउँ ठाउँमा पहिरोको राक्षसी रूप पनि जाग्न थालेको छ । 

विकासका नाममा भएका यी तमाम प्रकृति विरोधी क्रियाकलापले शताब्दियौँ अघिदेखि अस्तित्वमा रहेको चौतारीको अधपतन सुरु भएको छ । यससँगै चौतारी संस्कृतिसँग नेपाली जनजीवनको नाता–सम्बन्ध टुट्ने क्रममा तीव्रता आएको छ ।

समयको यस प्रकारको उलटफेरबाट चौतारी र पुराना बाटाघाटासँग जोडिएका रैथाने जीवनपद्धतिका धेरै आयाम उजाडिन पुगेका पनि छन् । आजकल चौतारी बिरानिएको छ । चौतारी संस्कृतिको अधपतनसँगै ग्रामीण जीवनको सांस्कृतिक सहकाल गुम्दै गएको छ । ‘चौतारी संस्कृति’ ले युगौँदेखि निर्माण गरेको सामाजिक तथा सांस्कृतिक परिवेशका जीवन–भोगाइहरू विस्मृत बन्दै गएको छ । चौतारी, पाटी–पौवा, धर्मशालाजस्ता नेपाली जनजीवनको रैथाने सार्वजनिक थलो हुन्, जो आधुनिक लवजमा ‘सार्वजनिक वृत्त’ कहिन्छन् ।

जर्मन दार्शनिक योर्गन हावरमासले सार्वजनिक वृत्तको महत्वबारे विश्वचर्चित पुस्तक नै लेखे । उनको पुस्तक प्राज्ञिक वृत्तमा बहुचर्चित छ । सार्वजनिक वृत्तमा जनसरोकारका विषयमा विचार–विमर्श हुने गर्छ । यसको फैलावटले प्रजातन्त्रलाई सबल बनाउँछ भन्ने योर्गन हावरमासको मान्यता छ । चौतारी पनि एउटा महìवपूर्ण सार्वजनिक वृत्त हो, जहाँ जनस्तरका नागरिकको भेटघाट र विचार–विमर्श हुन्छ । यद्यपि पश्चिमा सन्दर्भमा लेखिएको योर्गन हावरमासको पुस्तकले चौतारीलाई चिन्दैन, त्यो बेग्लै कुरा हो ।

सार्वजनिक वृत्तका सन्दर्भमा पनि हामी उल्टो बाटो हिँडिरहेका छौँ । हामीले सार्वजनिक वृत्तलाई साँघुरो बनाउँदै लगिरहेको प्रतीत हुन्छ । एकातिर भइरहेका सार्वजनिक थलोलाई बेवास्ता गरिँदै छ भने अर्कोतिर कतिपय ठाउँमा यस्ता सार्वजनिक थलो (सार्वजनिक वृत्त) लाई निजी प्रयोजनका लागि खुलेआम हडप्ने प्रवृत्ति पनि मौलाउँदो छ । हामीकहाँ सार्वजनिक वृत्तलाई फराकिलो दायरामा विस्तार गनुर््को सट्टा खुम्च्याउने होड पो चलिरहेको हो कि भन्ने लाग्छ । भन्दा वा सुन्दा सामान्यजस्तो लाग्ने यस्ता गम्भीर विषयमा कसले ध्यान दिने ?

चौतारी सार्वजनिक वृत्त भएकाले सार्वजनिक पाटोसित गाँसिएका अनगन्ती क्रियाकलाप हुन्छन् । सांस्कृतिक दृष्टिले पनि चौतारी पूजनीय थलो पनि हो । चौतारीको वरपीपल पुजिन्छ । वैशाख पूर्णिमामा चौतारीमा चण्डीपूजा गरिन्छ । मध्यपहाडी भेगका दुरा, गुरुङ, मगर आदि समुदायमा कतिपय प्रचलित घाँटु चौतारीमै सेलाइन्थ्यो । 

विगतमा विद्यालय नहुँदा लालाबालालाई घरका पिँढी, पाटी–पौवा वा चौतारीमा पढाइन्थ्यो भन्ने संस्मरण पाका पुस्ताबाट सुनिन्छ । दुराडाँडामा ‘टीका चौतारी’ नामको चौतारी छ । कास्कीका टीकाराम पौडेल नामका गुरुले चौतारीमा लालाबालालाई पढाउने गरेकाले त्यसको नाम ‘टीका चौतारी’ रहन गयो भन्ने भनाइ छ ।

ग्रामीणजनले चौतारीलाई धर्म कमाउने पवित्र थलोका रूपमा चिन्ने गर्छन् । चौतारी बनाएमा पुण्य मिल्छ भन्ने मान्यताबाट हाम्रो पुराना पुस्ता निकै ओतप्रोत छ । परोपकारी भावना भएका हाम्रा पुर्खाले बटुवा एवं भरिया हिँड्ने डाँडाकाँडा, देउराली र भन्ज्याङमा चौतारी बनाए । उनीहरूलाई छहारी र आश्रय दिए । चौतारीमा वर, पीपल, समी, लाँकुरीजस्ता छहारीदार वृक्षहरू रोपेर चराचुरुङ्गीलाई समेत आश्रय दिए । राष्ट्रकवि माधव घिमिरेको ‘वैशाख’ रचनामा परेको काव्यांशले पनि पूर्वजको कल्याणकारी भावनासँग मितेरी गाँस्छ :

चौतारीमा वरपीपलको बोट नौलो लगाउँ

छाहारीको तलतिर बसी गीत एउटा म गाउँ

सुक्खा याममा तिर्खा मेटाउने पानी नपाएर काकाकुल बनेका बटुवा र भरियाका लागि समर्पण गरेर चौतारीको छेउमा घैँटोमा पानी र लोटा राखिदिने चलन हामीकहाँ थियो । अरूको मन चिन्न सक्ने ती गुनी मनहरूको जति यशोगान गाए पनि कमै हुन्छ । परिवारको कुनै सदस्य खस्दा उसको सम्झनामा चौतारी बनाउने चलन हामीकहाँ छ । मनको घाउ निको पार्ने पूर्वजको रचनात्मक उपाय कम्ता प्रशंसनीय छैन । 

यी गुनी मनहरूको कल्याणकारी भावना अभिव्यक्त हुने चौतारी कुनै बेला बेजोड सञ्चार केन्द्रको रूपमा पनि स्थापित थियो । अनौपचारिक र अन्तरवैयक्तिक सञ्चारले चौतारी गुल्जार बन्थ्यो । गन्धर्व दाजुभाइले चौतारीमा सारङ्गी रेटेर कर्खा गाउँथे । कर्खा गीतले सुमधुर लयमा ग्रामीणजनले समाजका घटेका राम्रा नराम्रा घटनाबारे जानकारी पाउँथे । 

लेखको अग्रभागमा चर्चा भइसकेको ‘राजाको चौतारो’ मा हुलाकीबीच चिठीपत्र आदानप्रदान हुन्थ्यो भनिन्छ । यसै गरी चौतारीमा थकाइ मार्ने अपरिचित बटुवाबीच चिनापर्ची हुन्थ्यो । उनीहरूबीच हुने अनौपचारिक किसिमको अन्तरवैयक्तिक सञ्चारबाट विचार विनिमय हुन्थ्यो । आधुनिक सञ्चार प्रणाली विकास नभएको बेला यसैबाट एक ठाउँको खबर अर्को ठाउँमा पुग्थ्यो । चिनाजानीको दायरा फराकिलो हुन्थ्यो । स्नेह–सेतु जोडिन्थ्यो । चौतारीमा हुने अन्तरवैयक्तिक सञ्चारले आपसी सदभाव र स्नेह बाँड्न सघाउँथ्यो । 

समयले फेरो मारिसक्यो । चौतारीको कन्तविजोक छ । यद्यपि चौतारीको झल्को दिने अनगन्ती स्थान नामले यसलाई लोकस्मृतिमा बचाउने काम गरिरहेका छन् । सर्वविदितै छ सिन्धुपाल्चोकको सदरमुकामको नाम ‘चौतारा’ हो । यसबाहेक बेलचौतारा, पीपल चौतारा, डिलको चौतारी, विजय चौतारी, अर्जुन चौपारीजस्ता अनगन्ती स्थाननाममा चौतारी संस्कृतिको ढुकढकी भेटिन्छन् । यी नामले ‘चौतारी संस्कृति’ को साक्षी बकिरहेका छन् ।

निष्पट अँधेरो बिजुलीको झिल्कोले प्रकाश छरेझैँ कतै कतै चौतारी संरक्षणका दिशामा भएका एकाध सकारात्मक प्रयासले आशाको किरण छर्ने काम गरेको छ । म्याग्दीलगायत देशका केही भागमा चौतारी संरक्षण गर्ने अभियान सञ्चालन गरेको समाचार आएको छ, जुन वन्दनीय कदम हो । 

यति मात्र होइन गण्डकी प्रदेशले ‘वर, पीपल, समी र चौतारो संरक्षण ऐन, २०७५’ जारी गरिसकेको रहेछ । यस दुर्लभ ऐनले वर, पीपल, समी र चौतारो संरक्षण समिति तथा वर, पीपल, समी र चौतारो संरक्षण कोषको पनि व्यवस्था गरेको छ । त्यस ऐनमा वर, पीपल, समी र चौतारो संरक्षण गरी उद्यानका रूपमा विकास गर्न सकिने रचनात्मक प्रावधान पनि राखिएको छ । यसको कार्यान्वयन पक्ष कस्तो हुने हो ? त्यो त समयले नै बताउला । 

समग्रमा चौतारीको नाता हाम्रो धर्म–संस्कृति, जीवन पद्धति र वातावरणसँग गहिरो गरी जोडिएको तथ्य मननीय छ । ‘चौतारी संस्कृति’ को ऐतिहासिकता, मर्म–धर्म एवं वातावरणीय पक्षलाई गहिरिएर मनन गर्न आवश्यक छ । ‘चौतारी संस्कृति’ को गाथा–गरिमालाई शिरोपर गरी व्यवहारमा उतार्ने जिम्मेवारी हाम्रै काँधमा छ ।    

Author

यमबहादुर दुरा