• १४ मंसिर २०८१, शुक्रबार

नमुना सडक सात वर्षसम्म बनेन

blog

बेलबास–बेथरी सडकखण्डको बुटवल–११, नहरपुर क्षेत्रको सडकको अवस्था । तस्बिर : कपिल ज्ञवाली 

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस २२ गते । नमुना भनिएको रुपन्देहीको बेलबास–बेथरी सडक निर्माणको काम सुरु भएको सात वर्ष भइसक्दा पनि सडकले पूर्णता पाउन सकेको छैन । बुटवल उपमहानगरपालिकाको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २२ किलोमिटर लम्बाइको सडक अलपत्र छ । २०७३ सालमा एक अर्ब ६७ करोड रुपियाँको लागतमा निर्माण थालिएको सडकलाई तीन खण्डमा विभाजन गरेर काम सुरु गरिएको थियो । बेलबासबाट यही बाटो हुँदै लुम्बिनी पुग्न सकिन्छ । 

बेलबास–बेथरी सडक आयोजनाको दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भएको छ तर उत्तरतर्फको खण्ड अलपत्र पारिएको छ । २०७६ साल असार मसान्तसम्म सम्पन्न गर्ने गरी बुटवल–बेतानी साढे आठ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । २०७३ साल असार ३० गते बज्रगुरु कान्छाराम जेभी र रमण जेजेसिसिएल जेभीसँग ठेक्का सम्झौता भएपछि सुरु भएको यो आयोजना तीन वटा प्याकेजमा ठेक्का लगाइएको थियो । 

यो सडकखण्डमा जम्मा साढे आठ किलोमिटरमध्ये तीन किलोमिटर खण्ड कालोपत्रे हुन सकेको छैन । सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका प्रमुख लालु गिरीले सडक सम्पन्न गर्न पत्राचार गरे पनि सडकको काम पूरा नभएको जानकारी दिनुभयो । गिरीले भन्नुभयो, “रमण जेभीले काम सम्पन्न गरेको छ, बज्रगुरु कान्छारामको काम सकिएको छैन । अहिले पनि अलपत्र छ । हामीले पत्राचार गरेर काम छिटो सकाउन भनेका छौँ ।”

कम्पनीले ६८ करोड ३६ लाख १२ हजार २९४ रुपियाँमा सम्झौतासहित काम सुरु गरेको थियो । त्यस्तै दक्षिणतर्फको एउटा साढे आठ किलोमिटर र अर्को चार किलोमिटर सडक गरी दुई वटा प्याकेजको ठेक्का रमण कन्स्ट्रक्सनले ३७ करोड ८२ लाख ७० हजार ३४४ रुपियाँमा सम्झौता गरेको थियो । यो कम्पनीले अघिल्लो वर्ष नै काम सम्पन्न गरिसकेको छ । 

बज्रगुरु कान्छाराम जेभीले ६० करोड ८८ लाख ६१ हजार ४८४ रुपियाँमा ठेक्का पाएको थियो । सम्झौता अनुसार २०७६ असार मसान्तमा काम सकिनुपर्ने थियो तर पाँच पटक म्याद थप्दा पनि सडकले पूर्णता पाएको छैन । 

सियारी गाउँपालिका–७, हिरागन्जका टीकाराम सुवेदीले समयमा सडक सम्पन्न नहुँदा यात्रुले सास्ती भोग्नु परेको बताउनुभयो । सोही सडकखण्ड अन्तर्गत बुटवल–११, नहरपुरका स्थानीय तोयाराम पौडेलले सडकले साह्रै दुःख दिएको गुनासो गर्नुभयो । ज्ञानपुञ्ज इङ्ग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसमेत रहेका उहाँले भन्नुभयो, “स्कुलअगाडिको सडक अलपत्र छ । हिलो, धुलोमैलो सबै सहनु परेको छ । विद्यार्थी मर्कामा परेका छन् ।”

दुवैतिर सडक र बिचमा नहर रहेकाले नमुना सडक भनिए पनि समयमै निर्माण नसकिँदा स्थानीयले सात वर्षदेखि हिलो, धुलो र निर्माण सामग्रीका कारण झन् बढी दुःख पाउनु परेको छ ।