• १४ मंसिर २०८१, शुक्रबार

‘समन्वय नहुँदा काम गर्न समस्या’

blog

बुटवल समाचारदाता

बुटवल, पुस २२ गते । रुपन्देहीका पालिका प्रमुख तथा उपप्रमुखले पालिकाबिच समन्वय हुन नसकेको गुनासो गरेका छन् । रुपन्देहीका पालिकाको ११ औँ घुम्ती बैठकका अवसरमा कञ्चन गाउँपालिकामा आयोजित बैठकमै पालिकाका प्रमुख तथा उपप्रमुखले घुम्ती बैठकमा सहमति गर्ने तर त्यसलाई कार्यान्वयन गर्ने सवालमा पन्छिने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । रुपन्देहीका १६ वटा पालिकाको घुम्ती बैठक हरेक महिना बस्ने गर्छ । घुम्ती बैठकमा विकास निर्माणलगायत काम गर्दा आइपर्ने समस्या र विभिन्न गतिविधिका विषयमा छलफल गर्ने गरिएको छ । 

घुम्ती बैठकलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना–१० मा बन्ने फोहोरमैला प्रशोधन केन्द्र अलपत्र पर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले यसबाट राज्यको करोडौँ लगानी भए पनि सानो कुरामा अल्झाउने काम भएकोमा असन्तुष्टि जनाउनुभयो । उहाँले फोहोर प्रशोधन केन्द्रको वातवरणीय अध्ययन भइसकेको, जिल्लाबाट स्वीकृत भएर गइसकेको र विभागले समेत स्वीकृत गरेर पठाए पनि सामान्य उजुरीका भरमा काम रोकिएकोमा आफू गम्भीर बनेको उल्लेख गर्नुभयो ।  

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले घुम्ती बैठकका निर्णय कसरी कार्यान्वयनमा लैजाने भन्नेमा ध्यान जानुपर्ने बताउनुभयो । उहाँले गर्न सक्ने जति निर्णय गरौँ तर नसक्ने कुराको निर्णय नगरौँ भन्नुभयो । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले रुपन्देहीका पालिकाका प्रमुख र उपप्रमुखबिच नै समन्वय हुन नसकेको गुनासो गर्नुभयो । घुम्ती बैठकमा भएको सहमति अनुसार काम गर्नुपर्नेमा सहमति पालना नभएको उहाँको गुनासो छ ।  देवदह नगरपालिकाका अध्यक्ष धु्रवप्रसाद खरेल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल र लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले समेत घुम्ती बैठकलाई प्रभावकारी बनाउन सहमति र सहकार्यको खाँचो औँल्याउनुभयो ।