साधन घर्ती
म्याग्दी (दरबाङ), पुस २० गते । म्याग्दी सदरमुकाम बेनीमा जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र करातेका अन्तर्राष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो ।
शाही रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३ पिप्ले र गर्बुजा सोही गाउँपालिका–४,दग्नाम निवासी हुनुहुन्छ । जिल्ला समन्वय समितिका प्रमुख थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शाही र गर्बुजालाई नगद तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
उद्घाटन खेलमा एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ मालिकाका विशाल सुनारले स्वर्ण, रघुगङ्गा सुझाव पूजाले रजत र बेनी नगरपालिकाका ईश्वर न्यौपाने कांस्य तथा छात्रातर्फ रघुगङ्गाकी कञ्चन भण्डारीले स्वर्ण, सोही गाउँपालिकाकी सोनियाँ खड्काले रजत र धवलागिरि गाउँपालिकाकी अञ्जना विकले कांस्य पदक जित्न सफल हुनुभएको छ । पदक विजेताहरूलाई जिसस प्रमुख थापा, खेलकुद विकास समितिका अध्यक्ष केसीसहितका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभयो ।
त्यसैगरी उद्घाटन समारोहमा भएको मार्चपासमा अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिका क्रमशः प्रथम, द्वितीय र तृतीय भए । जिसस प्रमुख थापा र प्रजिअ ढकालले स्थानीय तहहरूले खेलकुद क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिनुभयो । अनुशासन, लगनशीलता, इमान्दारिता र मेहनतका साथै स्वास्थ्य रहन पनि खेलकुदले सहयोग पुग्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भलिबल, एथलेटिक्स, कबड्डी, मार्सल आर्टका ३६ विभिन्न विधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । प्रथम हुने पालिकाले रनिङ्ग शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । धवलागिरि र रघुगङ्गा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कबर्ड हल, कबड्डी कालीपुलको बास्केटबल खेलमैदान भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने समितिका सदस्य प्रविन शाहीले बताउनुभयो । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।
यसपालि अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधिकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष केसीले बताउनुभयो । यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागी गराइनेछ । बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धवलागिरिमा सम्पन्न भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी यहाँ सहभागी भएका छन् ।