• ६ माघ २०८१, आइतबार

तलबको माग गर्दै शिक्षक र कर्मचारी धर्नामा

blog

तलबको माग गर्दै नगरपालिका कार्यालय अघि धर्नामा बसेका शिक्षक । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, पुस २० गते ।
 छ महिनादेखि तलब नपाएपछि रौतहटको फतुवा विजयपुरका शिक्षक तथा कर्मचारी तीन दिनदेखि धर्नामा छन् ।

जनप्रतिनिधिबिचको आन्तरिक द्वन्द्वका कारण नगर सभा नहुँदा रोकिएको तलबको माग गर्दै पालिकाका शिक्षक–कर्मचारी नगरपालिकाको कार्यालय अगाडि नै पालैपालो धर्नामा बसेका छन् ।  नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा रहेका कर्मचारीले गत साउन महिनादेखि नै तलब पाएका छैनन् । पालिकामा आधारभूत, निम्न माध्यमिक र माध्यमिक तह गरी ३२ वटा विद्यालय छन् ।

धर्नामा प्रत्येक माध्यमिक विद्यालयबाट तीन जना, निम्न माध्यमिक विद्यालयबाट दुई जना र प्राथमिक विद्यालयबाट एक जना शिक्षकको सहभागी रहने शिक्षक रञ्जन खरेलले बताउनुभयो । उहाँका अनुसार समस्या समाधान नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म धर्ना जारी रहने छ । नेपाल शिक्षक सङ्घ रौतहटका अध्यक्ष रामकृपाल यादवले भन्नुभयो, “यो पहिलो चरणको दबाब मूलक आन्दोलन हो । यदि समस्या समाधान भएन भने दोस्रो चरणको आन्दोलनमा पालिका भित्रका सबै सामुदायिक विद्यालय बन्द गरिने छ ।”

तत्कालीन पालिका प्रमुख गोपाल राय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख अमवेय खातुन र अन्य जनप्रतिनिधिबिच विवाद उत्पन्न भएको हो । विवादकै कारण नगर सभा हुन नसकेकाले शिक्षक–कर्मचारीले तलब पाउन नसकेको कार्यवाहक प्रमुख खातुन बताउनुहुन्छ । उहाँकाअनुसार नगर सभा गर्नका लागि पटक/पटक बैठक आह्वान गर्दा अधिकांश जनप्रतिनिधि अनुपस्थित रहन्छन् ।

उक्त नगरपालिकामा नेपाली कांग्रेस पार्टीका प्रमुख, उपप्रमुख सात जना वडा अध्यक्ष र आठ जना, मनोनीत गरी १७ जना र अन्य दलका चार जना वडा अध्यक्ष एवम् प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।

कांग्रेस पार्टीका निर्वाचित सात जना वडा अध्यक्ष र आठ जना कार्यपालिका सदस्य अनुपस्थित भएपछि नगर सभाका लागि आह्वान गरेको बैठक प्रभावित हुँदै आएको वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादवले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान भन्नुहुन्छ, “कार्यपालिका बोर्ड बैठक बसेर नगर सभाको दिन तोक्न तीन पटक लिखित सूचना पठाउँदा प्रमुख बाहेक कांग्रेस समर्थित जनप्रतिनिधिले पत्र नै बुझ्दैनन् । नगर सभा नभएकै कारण शिक्षक तथा कर्मचारीको तलबभत्ता ‘रिलिज’ हुन नसकेको हो ।”