• १३ मंसिर २०८१, बिहिबार

वस्तु विनिमयमा व्यापारीबाट ठगिँदै गाउँवासी

blog

नेपाली गाउँमा आलु, प्याज बिक्री गर्न आएका भारतीय व्यापारी ।

अविनाश चौधरी

धनगढी, पुस १९ गते । कैलारी गाउँपालिका–६ बेनौलीकी प्रमीला चौधरीका बच्चाले सिङ्गडा (तालमा पाइने फल) खाने रहर गरे । बच्चाको रहर पूरा गर्न करै लागेपछि उहाँले धान दिएर सिङ्गडा साट्नुभयो । 

“दुई धान दिएर एक सिङ्गडा (दुई केजी धान दिएर एक केजी सिङ्गडा) लियौँ” उहाँ भन्नुहुन्छ, “पैसा भए वा नभए पनि गाउँतिर यसरी नै भारतीयबाट सामान खरिद गरिन्छ ।” कैलालीको बजारमा सिङ्गडाको मूल्य प्रतिकेजी ५० रुपियाँ छ । धान प्रतिकेजी २७ देखि ३० रुपियाँमा खरिद बिक्री हुन्छ । 

आफूले खरिद गरेको वस्तुको मूल्यभन्दा धानको मूल्य बढी हुन गएको थाहा भए पनि बच्चाको रहर पूरा गर्न बाध्य भएर धानले सिङ्गडा साटेको चौधरीले सुनाउनुभयो । ग्रामीण क्षेत्रमा भारतीय व्यापारीबाट आलु, प्याज खुर्सानी, सिद्रा, सखरखण्डजस्ता वस्तु पनि घरमा रहेको कृषिउपज सामान साट्ने गरिएको छ । 

कृषि कार्यमा अग्रसर ग्रामीणवासीको घरमा पैसाभन्दा पनि अन्नबाली नै रहने गरेकाले सजिलोको लागि वस्तुसँग वस्तु नै साट्ने गरिएको हो । आर्थिक कारोबार अनलाइन–डिजिटल युगमा पुगिसके पनि कैलालीको ग्रामीण क्षेत्रमा भने यस्तो वस्तु विनिमय प्रचलन अझै कायम रहेको छ । वस्तु विनिमय गर्दा भारतीय व्यापारीले सोझासाझा गाउँलेलाई झुक्याउने, ठग्नेगरेका छन् । 

वर्षैभरि व्यापारका लागि नेपाल आउने घुमन्ते व्यापारीले सस्तो वस्तु पनि दोब्बर बढी अन्नबाली लिएर साटेर लग्नेगरेका छन् । उनीहरूले दिने वस्तुको बजार मूल्य साटेर लगेको अन्नकोभन्दा निकै कम हुन्छ ।

भारतको जिल्ला खिरीका कैलाश चौहानले नेपालमा व्यापार गरेर गुजारा चलाउनेगरेको बताउनुभयो । बयलगाडा लिएर आलु, खुर्सानी बिक्रीका लागि नेपाली गाउँ छिर्नुभएका उहाँले नेपालमा व्यापार गर्दैआएको २५ वर्ष पुगिसकेको सुनाउनुभयो । “वर्षमा १० पटकसम्म आलु, सिद्रा, खुर्सानी, प्याज, मुम्फलीको व्यापारका लागि नेपाल आउनेगरेको छु” चौहानले भन्नुभयो । 

भारतीय व्यापारीले दुई धान एक आलु (दुई केजी धान लिएर एक केजी आलु), पाँच धान एक खुर्सानी (पाँच केजी धान लिएर एक केजी खुर्सानी), तीन पसेरी धान एक सिद्रा (साढे सात केजी धान लिएर एक केजी सिद्रा) दिने गरेका छन् । 

भारतीय व्यापारीले वस्तु विनिमय गरे पनि फर्कने बेला मुद्रा लिएर जाने गरेका छन् । अन्नबाली लिएर जाँदा भन्सार लाग्ने भएकाले भन्सार छल्नका लागि उनीहरू नेपालमै अन्नबाली बिक्री गरेर पैसा लिएर जानेगरेको जनाइएको छ ।