प्रतिकइच्छुक शर्मा
सल्यान, पुस १९ गते । सल्यान :कपुरकोट गाउँपालिकाले खरको छानोमुक्त गाउँपालिका अभियान अघि बढाएको छ । रकम अभावका कारण खरको छानामुनि जीवन बिताइरहेका नागरिकलाई गाउँपालिकाले जस्तापाता दिन थालेको हो ।
सङ्घीय सरकारको बजेटमा ११८ घर र पालिकाको बजेटमा ८२ घरमा जस्तापाता लगाउने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले बताउनुभयो । उहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमसँग जोडेर गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा खरले छाएका दुई सय वटा घरमा रङ्गिन जस्तापाता लगाउने भएको हो ।
१५ दिने सार्वजनिक सूचनामार्फत खरको छानामुक्त गाउँपालिका कार्यक्रममा परेका निवेदन अनुसार प्राथमिकताका आधारमा दलित, विपन्न तथा एकल महिलाको खरले छाएको घरमा जस्ता पाता लगाउन लागेको जनाएको छ । यो आर्थिक वर्षमा पालिकाभित्र रहेका वडा १, २, ३ र ४ मा २०-२० घर तथा वडा नम्बर ५ र ६ मा ४०-४० घरमा जस्तापाता लगाइने छ ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जस्तापाता लगायत सम्पूर्ण घर फिटिङका सामग्री खरिदका लागि ५० हजार दिने बताउनुभयो । उहाँका अनुसार तीन वर्षमा खरको छानामुक्त पालिका बनाउने योजना छ ।
पालिकबासीलाई सुरक्षित बसोबास गराउन यो अभियान कार्यक्रम ल्याइएको हो । गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले खरको छानामुक्त आवासका लागि वडास्तरमा सम्झौता भइरहेको बताउनुभयो । उहाँका अनुसार खरको छानामुक्त बनाउन यो वर्ष एक करोड रुपियाँबाट यो अभियान सुरु गरेको हो । दुई करोड ४८ लाख ५० हजार बजेटको लागतमा तीन वर्षभित्र पालिकामा रहेका ४९७ घरमा खरको छानामुक्त अभियान सञ्चालन गर्ने छ ।