• २५ वैशाख २०८१, मङ्गलबार

फलाम उत्खनन कार्यले गति लिँदै

blog

धौवादीमा रहेको फलाम खानी उत्खननको पर्खाइमा । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट 

हुप्सेकोट, पुस १८ गते । नेपालकै पहिलो फलाम खानी उत्खनन गर्ने उद्देश्यका साथ सुरु भएको फलाम उत्खनन कार्यले गति लिन थालेपछि यहाँका बासिन्दा उत्साही बनेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन सुरु गरेको थियो । लामो अनुसन्धानपछि छ वर्षअघि मात्र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादीडाँडामा फलाम खानी भेटिएको थियो । 

अहिले फलाम खानी उत्पादनका लागि प्रारम्भिक वातावरणीय परीक्षण कार्य सम्पन्न भएको छ । फलाम खानी पुग्ने सडकको कामसमेत ८० प्रतिशत सकिएकाले फलाम खानीको उत्खनन हुनेमा आशावादी रहेको धौवादी फलाम खानी लिमिटेडका कार्यकारी निर्देशक डा. जनकबहादुर चन्दले बताउनुभयो । अब प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भएपछि डिपिआरको प्रक्रियामा जाने र त्यसको आधारमा आर्थिक र प्राविधिक मूल्याङ्कनसमेत हेरिने गरी काम अगाडि बढाइएको कार्यकारी निर्देशक डा. चन्दले बताउनुभयो । 

हुप्सेकोटको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको र सो परीक्षणसमेत प्राप्त भई फलाम उत्खानन गर्न सकिने सुनिश्चित भएको डा. चन्दले बताउनुभयो । 

अहिले त्यस ठाउँमा २२० केभी प्रसारण लाइन पनि सुनिश्चित भएको छ भने यसका लागि एआई प्रतिवेदनसमेत प्राप्त भइसकेको लिमिटेडले जनाएको छ । छ वर्षअघि हुप्सेकोटको धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र १० किलोमिटर क्षेत्रफलमा फलाम बढी रहेकाले सरकारले फलाम उत्खनन गरेर कारखाना सञ्चालन गर्न प्रक्रिया अघि बढाएको थियो । अहिले त्यसका लागि फलाम खानी लिमिटेडले धेरै प्रक्रिया पार गरेर अघि बढेको लिमिटेडका कार्यकारी निर्देशक डा. चन्दले बताउनुभयो । 

सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड दुई वर्षअघि गठन गरिसकेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा उद्योग वाणिज्य मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेलाई तोकेको छ । समितिमा अन्य चार जना सदस्य रहेका छन् । विभागका महानिर्देशक, उद्योग र अर्थ मन्त्रालयका सहसचिव र खानी तथा भूगर्भ विभागका सहसचिव रहेको पाँच सदस्य समिति गठन भएको छ । 

सङ्घीय संसद्को गत वर्षको बजेटमा धौवादी फलाम खानी सञ्चालनका लागि यो वर्ष २९ करोड ५० लाख बजेट विनियोजन गरेर निकासाको चरणमा रहेको लिमिटेडले जनाएको छ । फलाम उत्खननले विकाससँगै मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नुका साथै अहिले निर्यात भइरहेको फलाममध्ये २५ प्रतिशत यहाँको खानीले धान्ने पनि कार्यकारी निर्देशक डा. चन्दले बताउनुभयो । 

सरकारले हरेक वर्षको बजेट, नीति तथा कार्यक्रममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादी फलाम खानीको उत्खनन कार्य थालिने उल्लेख हुँदै आएको थियो । अहिले यो फलाम खानी उत्खनन प्रक्रिया अन्तिम चरणमा पुगेको र यसको उत्खनन सुरु भएपछि यहाँ दुई हजार पाँच सय जनाभन्दा बढीले रोजगारी पाउने कार्यकारी निर्देशक डा. चन्दको भनाइ छ । 

 उत्खनन हुने क्षेत्रमा अहिले नापनक्सा र त्यहाँको पूर्वाधारको काम सम्पन्न भइसकेको छ । धौवादी फलाम खानी उत्खनन यसै वर्षदेखि सुरु गर्ने गरी काम अगाडि बढेको छ भने यसले दैनिक एक हजार पाँच सय टन फलाम उत्पादन गर्ने लक्ष्य राखिएको लिमिटेडले जनाएको छ । भूगर्भविद्ले यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको प्रतिवेदन सरकारलाई बुझाएका थिए । उनीहरूका अनुसार धौवादी फलाम खानीमा च्यानल ग्याप कम रहेकाले भित्रभित्रसम्म प्रचूर रूपमा फलाम भेटिएको छ र यसको पुष्टिसहितको प्रतिवेदन सरकारलाई बुझाइएको र त्यही प्रतिवेदनका आधारमा सरकारले धौवादी फलाम खानी उत्खननमा चासो दिएको जनाइएको छ ।

उत्खनन थाल्ने भएपछि यहाँका चार सय घर परिवारका तीन हजार बासिन्दा विस्थापित हुने हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । यहाँको फलाम खानीले गाउँपालिकाको वडा नं ४, ५ र ६ का चार सय घर परिवार विस्थापित हुने छन् भने बौदीकाली गाउँपालिका–५, नरमका ५० घरपरिवार विस्थापित हुने बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो ।

यहाँको फलाम खानी वरपरका बासिन्दालाई तत्काल अन्य क्षेत्रमा पुनस्थापित गर्नुपर्ने चुनौती छ । सबैभन्दा बढी हुप्सकोट गाउँपालिकाका वडा नं. ५ को बस्ती नै जोखिममा पर्ने र वडा नं. ४ र ६ का एक सय परिवार जोखिममा पर्ने भएकाले राज्यले उनीहरूलाई सम्बोधन गरी धौवादी फलाम खानीको उत्खनन सुरु गर्नुपर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।