• १० मंसिर २०८१, सोमबार

माईस्थानमा अस्थायी जलसरोवर निर्माण

blog

सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित ग्वाङखोलामा निर्माण गरिएको अस्थायी जल सरोवर । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुली, पुस १७ गते । सिन्धुली जिल्लाको कमलमाई नगरपालिका-५ स्थित ऐतिहासिक शक्तिपिठ कमलामाई मन्दिर माईस्थान अगाडि अस्थायी जलसरोवर निर्माण गरिएको छ । कमलामाई मन्दिर व्यवस्थापन समितिले मन्दिर अगाडिको ग्वाङखोलामा ड्याम कसेर करिब चार सय मिटर लम्बाइको अस्थायी जल सरोवर निर्माण गरी परीक्षणका रुपमा सञ्चालनमा ल्याएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले एउटा डुङ्गा (बोट)बाट मासिक दश हजार रुपियाँ मन्दिरलाई आम्दानी हुने गरी जल सरोवर निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "ड्याम निर्माण गर्न अढाई लाख रुपियाँ खर्च भएको छ । तलाउको सुरक्षाका लागि तारले घेराबेरा गर्नुका साथै एक जना कर्मचारी भर्ना गरिएको छ ।" तलाउमा डुङ्गा चढेर घुम्ने यात्रुका लागि लाइफ ज्याकेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हिउँदकाे मौसमलाई लक्षित गरी जलसरोवर सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । अहिले तलाउमा दुई वटा डुङ्गा सञ्चालनमा रहेको र अहिलेसम्म दुई साताको बिचमा  करिब आठ सय जनाले डुङ्गामा यात्रा गरिसकेका व्यवसायी विक्रम बुर्जामगरले बताउनुभयो ।

माईस्थानमा शुक्रबार र शनिबार मात्रै २० देखि २५ वटा समूह वनभोज खान आउने र उनीहरुसहित स्थानीय व्यापार व्यवसायलाई टेवा पुर्‍याउन जल सरोवर निर्माण गरी सञ्चालनमा ल्याएको उहाँले सुनाउनुभयो । 

व्यवसायी मगरले भन्नुभयो, "तलाउको गहिराइ एकदेखि दुई मिटरसम्म छ । यात्रुको सुरक्षाका लागि सकेसम्म सबै उपाय अपनाइएको छ ।" त्यसो त कमलामाई मन्दिरमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्दै आएको छ । 

जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थलहरुमध्ये एक यस मन्दिरमा यो वर्ष पनि मेलाको तयारी सुरु भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलामा भाकल पूरा गर्न भक्तजनहरु रातभरि कमलामाई मन्दिरमा जाग्राम बसी बत्ती बाल्ने र बिहानीपख झिसमिसेमा नै देवीका नाममा पाठी बलि चढाउने परम्परा छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार माघे सङ्क्रान्तिका दिन लाग्ने मेला भर्न छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतको विभिन्न सहरबाट श्रद्धालु भक्तजनहरु आउने गर्छन् । कमलामाई मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र स्वदेश तथा विदेशमा समेत प्रसिद्धि फैलिएको छ । 

यस्तै, मेलाका दिन बाहेक अन्य दिनमा पनि मन्दिरमा सयौंको सङ्ख्यामा भक्तजनहरु दर्शन गर्न पुग्ने उहाँले बताउनुभयो । स्थानीयका अनुसार कमलामाई मन्दिर उत्पत्तिका सम्बन्धमा छुट्टै किम्बदन्ती छ । स्थानीय मगर जातिको परिवारमा कमला नाम गरेकी एउटी कन्या थिइन् । एक दिन बिहानै झिसमिसेमा उनी घैँटोमा पानी बोकेर घरतर्फ जाँदै गर्दा घैंटो फुटेर पानी पोखियो र उनी त्यही अलप भइन् । त्यही पोखिएको पानी बगेर कमला नदीको उत्पत्ति भयो र कमला नदीको नामबाट कमलामाई मन्दिरको उत्पत्ति भएको मानिन्छ।

अहिले पनि कमला नदीमो मुहान एउटा माटाको फुटेको घैँटो जस्तै रहेको उक्त वडाका अध्यक्ष पूर्णबहादुर खड्का बताउनुहुन्छ । उहाँका अनुसार कमलामाई मन्दिर र सदरमुकाम सिन्धुलीमाढीमा रहेका कालीमाई मन्दिर दिदीबहिनी हुन् । त्यसैले पहिले दिदी कालीमाई मन्दिरमा परेवा बली चढाई पूजा गरेपछि मात्रै बहिनी कमलामाई मन्दिरमा बलि दिने र पूजाआजा गर्ने परम्परा छ ।