४० वर्षको उमेरमा पहिलो कृति प्रकाशमा आएपछि साहित्य क्षेत्र पनि उहाँको योगदानको क्षेत्र बन्न पुग्यो । केट्यौले उमेरदेखि सङ्गीतमा रुचि राखेर गाउँदै हिँड्दा पुरस्कार पनि हात पार्नुभएको थियो उहाँले । साहित्य–सङ्गीत एकातिर, उहाँ अर्कोतिर लाग्नुभयो अध्ययनमा केन्द्रित बन्न । अनि त यी क्षेत्र छुटेसरह भयो, मन भने यसैमा रम्थे उहाँका । डाक्टर पढेर त्यसैमा खटिँदै उहाँले देशका विभिन्न जिल्लालाई कर्मथलो बनाउनुभयो । नेपालगन्जको पहिलो डाक्टर भनेर धेरैले चिनेजानेको छविमा कवि भनेर चिनिने अर्को पाटो थपिन पुग्यो । विश्व स्वास्थ्य सङ्गठनमा रहेर विदेशमा पनि बिते समय । त्यति बेलाको समय डाक्टरको अभाव भएको समय, जताततै भ्याउनुपर्ने व्यस्तता, विश्व स्वास्थ्य सङ्गठनको जागिरले देश विदेश पुगेर सेवा गर्नुपर्ने व्यस्त जागिरे जीवनले साहित्य सिर्जना कम हुन पुग्यो । लेख्न त २३ वर्षको उमेरदेखि नै थालेको, गाउनमा सिपालु, बेलाबखत अन्ताक्षरी खेल्न पनि उत्तिकै हौसिने गर्नुहुन्थ्यो र भारतमा पढ्न बस्दा पुरस्कार पनि हात पारेको हो । सङ्गीतको यही माहोलले साहित्यतिर पनि मोडियो उहाँको लगाव । सङ्गीतमै लाग्दा साहित्यकारहरूलाई चिन्ने, नाम सुन्ने गरेर मात्र होइन सुमित्रानन्दन पन्त, जयशङ्कर प्रसाद, सुरदास, तुलसीदास, महादेवी बर्मा, कविर, रहिम, मीरा, हरिवंश राय बच्चन, त्रिपाठी, निरालाका कविता पढेर पनि साहित्यमा उहाँको  रस बस्न थाल्यो । आफ्नै अन्तर्मुखी स्वभावले हतपत्त साथी बनाउन अघि नसर्ने उहाँका लागि केटाकेटी उमेरदेखि नै साथी भनेकै सङ्गीत भयो, अलि पछि साहित्य ।  ११–१२ क्लास पढ्दा थालियो साहित्य लेखन तर हिन्दीमा । जीवनमा औपचारिक रूपले नेपाली भाषा नपढेको, अनि नेपालगन्जको परिवेशमा जन्मिएको, भारतमा पढेकाले नेपाली भाषा उहाँका लागि त्यति सहज भएन । तर नेपाली भाषाको ज्ञान भने थियो र त लेख्नु भयो दुई दर्जन कृति । उमेर बढेसँगै साहित्यमा रुचि पनि बढ्दै छ उहाँको, अब त सबै छाडेर साहित्यमै केन्द्रित बन्नुभएको छ । दुई चार जना भेट भयो भने उहाँ गुनगुनाउँदै आफ्नै गीत गजल कविता सुनाउनुहुन्छ । साहित्यका बारेमा आफूले जानेका धेरै कुरा सुनाउनुहुन्छ ।
जङ्गबहादुर राणा खलकमा जन्मिनुभयो उहाँ विसं १९८८ सालको भाद्र कृष्णाष्टमीमा । बुवा भगवत् जङ्ग राणा र आमा मीनकुमारी राणाका आठ छोरा र एक छोरीमध्ये तीन छोरा र एक छोरीको केटाकेटी अवस्थामै निधन भइसकेको थियो । केटाकेटी अवस्थादेखि नै डाक्टर बन्ने सपना साँचेर अघि बढ्नुभएका कृष्ण जङ्ग राणालाई भाग्यले मात्र होइन तत्कालीन शिक्षामन्त्री शारदा शमशेरले पनि साथ दिनुभयो र छात्रवृत्ति पाएर डाक्टर पढ्न भारत जानुभएको हो । सात सालको व्रmान्तिपछि छात्रवृत्तिका लागि पहिलो पटक काठमाडौँ आउनुको कारण पनि यही थियो । नेपालगन्ज छँदै आफ्नै आँखा अघिल्तिर भाइहरूको झाडापखालाबाट लगालग निधन भएको टुलुटुल हेर्दा भोगेको पीडा धेरै कमले भोगे होलान् । कक्षा १ देखि ६ सम्म नेपालगञ्जमा पढ्नुभएका उहाँले त्यसपछिको पढाइ भारतको लखनउमा गर्नुभयो । किङ्ग जर्ज मेडिकल कलेज, लखनउबाट एमबिबिएस, कलकत्ता विश्वविद्यालयबाट डिपिएच गर्नुभएपछि उहाँले कोलम्बिया प्यासिफिक विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभयो । यसैले पनि होला नेपाली बोल्न पनि हम्मे पर्ने, मधेसमा जन्मिएको उहाँ विसं २०१५ सालमा डाक्टर बनेपछि जागिरेका रूपमा पाल्पा पुग्नुभयो । अनि त सिर्जिए त्यही पाल्पाको बारेमा कोर्नुभयो–
सररर बतासैले मन मेरो झुम्यो ।
गाऊँ गाऊँ लाग्यो कि गाऊँ गाऊँ लाग्यो ।
मन मेरो मुग्ध भई गाऊँ गाऊँ लाग्यो
इलाम पुग्दा पनि यसरी नै सिर्जिए उहाँका रचना–
इलामे डाँडामा गोरेटे नानीले
पित्तले भाँडामा पानी ओसारेको
जागिरे कर्मले सिर्जना गर्न समय त्यति नदिए पनि लेखन उहाँको धर्म थियो र पाल्पा टेक्न नपाउँदै उहाँको सिर्जना पक्ष फेरि जुर्मुराउन पुग्यो । यसपछि त जहाँ जहाँ पुग्यो त्यहीको गीत–कविता सिर्जना गर्न अभ्यस्त हुनुभयो । कात्तिक महिनाको चिसो साँझ वरिष्ठ गजलकार डा. सनतकुमार वस्तीका साथ ललितपुरको धोबीघाटमा अवस्थित भव्य घरमा उहाँ समक्ष पुग्दा उहाँ उही पुरानै सुरिलो गलामा आफ्ना कविता गीत गुनगुनाउन थाल्नु हुन्छ । अनि खोतल्न थाल्नु हुन्छ जीवन बाँचेका विगत । जीवन बाँच्ने योजना अनि जीवनमा भए गरेका उपलब्धि र योगदानका बारेमा ।
सन् १९५२ मै कलेजको पत्रिकामा पहिलो रचना छापिएको थियो उहाँको । साहित्यको मोह व्यस्तताले पाखा लगाई दिएपछि लामो अन्तरालपछि ४० वर्षको उमेरदेखि आरम्भ भयो साहित्यिक सिर्जना र सव्रिmयताको समय । यसको पनि कारण रहेछ, त्यतिबेला किताब लेख्ने कर्मचारीले बढुवाका लागि नम्बर पाउँथे, त्यही नम्बरका लागि पनि किताब निकाल्न हौसिएको हो उहाँ । यतिबेला ९३ वर्षको उमेरमा उहाँ साहित्यमा सिर्जनारत मात्र हुनुहुन्न त्यत्तिकै सव्रिmय पनि । आनन्दी पाराले उहाँ भनिदिनुहुन्छ– साहित्य र सङ्गीतप्रतिको मेरो रुचि आजसम्म कम भएको छैन । यसो भन्दा हुन्छ– जति उमेर बढ्दैछ, त्यति नै मेरो रुचि यी क्षेत्रमा दिन प्रतिदिन बढिरहेको छ ।
मलाई महफिलमा गीत गाउन, कविता तथा गजल सुनाउन असाध्य मन पर्छ । गजल पहिले म लेख्दिनथेँ । सनतकुमार वस्तीसँग सङ्गत गर्न थालेपछि गजलतिर मेरो रुचि गएको हो । नेपाली कविता म फाट्टफुट्ट लेख्ने भए पनि यो क्षेत्रमा मेरो गहिरो रुचि त्यसबेलादेखि जान थाल्यो जति बेला नेपालगन्जमा भएको एउटा कवि सम्मेलनमा मलाई आमन्त्रित गरेर सभापतिको आसन ग्रहण गराइयो । सभापति बनाइएपछि मलाई गहिरो जिम्मेवारीको बोध भयो । रुचि त मेरो थियो नै, वश लेखनलाई निरन्तरता दिइरहन सकेको थिइनँ ।
२०७० मा उहाँकै अग्रसरतामा साहित्यकार एवं साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली र गजलकार डा. सनतकुमार वस्तीसँग मिलेर महफिल–ए काव्यउपासना सुरु गरेपछि साहित्यिक चहलपहल बढ्न पुग्यो । बढ्दो उमेरले निम्त्याएको एक्लोपनलाई यो महफिलले सघाउ पु¥यायो उहाँलाई । उहाँकै शब्दमा– महफिल सुरु गर्नमा पनि मेरो स्वार्थ लुकेको छ । उमेर ढल्किँदै गएपछि मान्छे एक्लिँदो रहेछ । मलाई एक्लोपनको महसुस हुन्थ्यो । भेट्न आउने मान्छे पनि खासै थिएनन् । यस्तोमा महफिलको आयोजना गरेपछि बोल्न पाइयो, आफूले लेखेको गीत, गजल, कविता सुनाउन पाइयो, मैले बोल्दा वाह वाह गर्ने मान्छेहरू पाइयो, नयाँ मान्छेहरूसँग चिनजान हुन थाल्यो र व्रmमशः मभित्रको एक्लोपन घट्दै जान थाल्यो । सव्रिmय हुँदै जान थालेँ म ।
जीवनसाथी शान्ता राणा, छोराहरू वरदान, अभियान, विज्ञान र अनुदानसहितको परिवारसँग नजिकिएर बस्नुभएको छ । साहित्यलाई अँगालेर ९३ वर्षको उमेरसम्म आइपुग्दा अनेकौँ रोग पालेर बाँचेको जीवन साहित्यमै केन्द्रित बनेको छ । झट्ट हेर्दा कुनै रोगै नलागेको जस्तो देखिए पनि उठ्न, बस्न, हिँडडुल गर्न हम्मे छ र पनि साहित्य भनेपछि उहाँको उत्साह हेर्नलायक देखिन्छ । यसैले पनि होला मृत्युको मुखबाट बच्दै बच्दै पाएको जीवन नेपाली, हिन्दीमा गरी दुई दर्जन कृति प्रकाशन गरेर साहित्यमा अलग स्थान बनाउन सक्नु भयो । नेपालगन्जको परिवेशमा जन्म, भारतमा अध्ययनले नेपाली भाषा उहाँका लागि त्यति सहज भएन रे– अझै पनि पर्फेक्ट छैन, स्कुल पढ्दा हमारा देश हिमालय से कन्या कुमारी तक भनेर पढाइन्थ्यो भन्नुहुन्छ । दुःख, गरिबीबाट बितेको जीवन अहिले सम्पन्न र सुखद बन्न पुगेको छ ।
देशका लागि मन दुखाउ (वि.सं २०२८), मेरो गीत तिम्रो लागि (२०३२), मनका उद्गार (२०६२), अन्तर्भाव (२०६७), नेपाली कविता सङ्ग्रह, मनकै सेरोफेरोमा (२०६७), आस्थाको खोजीमा (२०६७), भाव थरीथरी (२०६८), मायाको सँगालो (२०६८), छल्किएका भाव मनका (२०६८), उकाली ओराली (२०६९) नेपाली गजल सङ्ग्रह गरी नेपाली भाषामा १० वटा कृति प्रकाशित भइसके उहाँका ।
हिन्दीमा उहाँका गीत, गजल, कविताका १३ वटा कृति प्रकाशित भइसके । सङ्ग्रह गरेर कृति निकाल्ने हो भने दुई चारवटा त अझै पुग्छन्, त्यतातिर भने उहाँले अहिले सोच बनाउनुभएको छैन ।
अवकाशपछिको जीवन समाजसेवामा लगाउनु भएका उहाँका चिनारीका चार पाटा–चिकित्सक, राष्ट्रसेवक, साहित्यकार र समाजसेवीमध्ये उहाँलाई मन परेको क्षेत्र साहित्य नै हो । यहीँबाट नै उहाँले आनन्द पाउनुभयो । गीत, कविता गजल लेखनमा केन्द्रित उहाँको लेखन यता केही समयदेखि गजलकेन्द्रित छ ।
अचेल त जे लेख्न खोजे पनि गजल नै लेख्न पुग्छु, कलम समायो कि अभिव्यक्ति बहरमै आउँछन् । यही लेखन र साथीभाइबिच साहित्यिक माहोल बनाउनबाहेक यो उमेरमा मलाई अरू कुराप्रति रुचि छैन । कुनै समय जे जति गर्नु थियो गरियो, काममा, समाजसेवामा यस्तरी लागियो कि स्वास्थ्यमा समस्या आएपछि छोराहरूले अब बन्द भनेर घरमै राखे । पटक पटक मुटुको समस्याले दुःख दिएको शरीरलाई विश्राम दिन पनि उनीहरूले मलाई घरमै बढी समय बिताउन सुझाव दिएका छन् । यही घरमा लेख्यो, साहित्यिक गतिविधि ग¥यो यही नै मेरो दिनचर्या बनेको छ ।
उहाँको स्वास्थ अनि ढल्किदै गरेको समय सम्झेर हामी छुट्टने तरखर गर्दागर्दै म फेरि सोध्न पुग्छु– गीत,गजल,कवितामध्ये कुन बढी मन पराउनुहुन्छ । कुनमा बढी परिचित भएजस्तो लाग्छ ?
गीत, गजल, कविता सबै उस्तै त हुन, यी सबै कविता नै हुन । कुनलाई राम्रो भन्ने कुनलाई नराम्रो । तर पनि गजल लेखनमा बढी सन्तुष्ट छु, यसैमा बढी रुचि छ मेरो । मलाई के कुरामा दुःख लाग्छ भने भित्रैबाट नेपाली भाषामा अभिव्यक्त गर्न सकेको छैन । म स्विकार्छु मेरो नेपाली कमजोर छ र पनि निरन्तर लेखेर जीवन अलग रूपले चिनाउने डा. कृष्ण जङ्ग राणालाई पहिला चिन्नेहरूले नेपालगन्जको डाक्टर भनेर चिने, पछि धेरैले चिने, यता केही दशकदेखि साहित्यकार भनेर चिनेका छन् । उहाँलाई थाहा छ साहित्यले पनि आफ्नो चिनारी दिएको छ भने अनि सन्तोष र आनन्द पनि पाउनुभएको छ साहित्यबाट । बिदा हुने बेला उहाँ फेरि गुनगुनाउनुहुन्छ–
मै गजल लिखता नही
खुद गजल मुझे लिखता है
 
                                
                             
                                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                