घोराही समाचारदाता
घोराही, पुस १५ गते । दाङको घोराही उपमहानगरपालिकाले अघिल्लो कार्यकालमा उपमहानगर क्षेत्रका विद्यालयमा मातृभाषामा पढाउने निर्णय गर्यो । झन्डै तीन वर्षअघि गरिएको यो निर्णय कार्यान्वयनका लागि लागेको उपमहानगरले नगर क्षेत्रमा थारू भाषाको पढाइ सञ्चालन गर्ने निधो गरेको थियो । उपमहानगरको यो निर्णयउपलब्धिमूलक देखिएन ।
उपमहानगरका अनुसार यसै शैक्षिक सत्रदेखि मातृभाषाको पढाइ त सुरु भयो तर एउटा विद्यालयमा मात्रै । त्यो पनि एक कक्षामा मात्रै । घोराही उपमहानगरका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले घोराही उपमहानगरपालिका–३ स्थित रात्रि प्राथमिक विद्यालय बेलुवाको कक्षा १ मा मात्रै अहिलेसम्म मातृभाषाको पढाइ सुरु भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हाम्रो उपमहानगरको एउटा विद्यालय त्यो पनि १ कक्षामा मात्रै अहिले पढाइ सुरु भएको छ । अब अर्को वर्षदेखि यो विद्यालयमा दुई कक्षाको पनि पढाइ सुरु हुन्छ ।” उहाँका अनुसार मातृभाषाको पठनपाठनका लागि अरू कुनै पनि विद्यालय इच्छुक देखिएनन् तर उपमहानगरले यसबारे पूर्वजानकारी नलिएर एकै पटक मातृ भाषाको पढाइ सञ्चालन गर्ने निर्णय लियो ।
उहाँले भन्नुभयो, “थारू भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने उपमहानगरको निर्णयसँगै थारू भाषाको पढाइ पनि सञ्चालन गर्ने निर्णय भएको थियो । एउटा विद्यालय मात्रै थारू भाषा पढाउन इच्छुक भयो, अरू कुनै पनि विद्यालयले थारू भाषाको पढाइका लागि इच्छा देखाएनन् ।” अन्य विद्यालयले भने थारू भाषाको पढाइभन्दा पनि स्थानीय पाठ्यक्रम कार्यान्वयन गरेर पढाइ सञ्चालन गर्ने बताएका छन् । उपमहानगरले १ कक्षाका विद्यार्थीका लागि पुस्तक प्रकाशन गरेको जनाएको छ । प्रमुख गौतमले भन्नुभयो, “पुस्तकहरू पनि विद्यार्थीलाई उपलब्ध गराइएको छ । एउटा विद्यालयबाहेक अरू विद्यालयले स्थानीय पाठ्यक्रम लागु गरेर पढाइ सञ्चालन गर्ने बताएको अवस्था हो ।” उपमहानगरले घोराही क्षेत्रका विद्यालयमा १ देखि ३ कक्षासम्म मातृभाषाको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको छ । उपमहानगरले सुरुमा सादा पुस्तक तयार पारेको थियो ।
सादा पुस्तक विद्यार्थीका लागि उपयोगी नभएको भन्दै पछि पुनः रङ्गिन पुस्तक छापिएको थियो । अहिले मातृभाषा पढाइ सञ्चालन भइरहेको विद्यालयका कक्षा १ मा अध्ययनरत २१ जना विद्यार्थीले ‘हमार थारू भाषा’ पढिरहेका छन् । मातृभाषा पढाउँदै आउनुभएका विद्यालयका शिक्षक लक्ष्मीमान चौधरी भन्नुहुन्छ, “हाम्रो विद्यालयमा कक्षा १ का २१ जना विद्यार्थीले थारू भाषा पढिरहेका छन् । थारू समुदायका बालबालिका यो विषय पढ्न उत्साहित देखिन्छन् ।”