• १३ मंसिर २०८१, बिहिबार

कसैको भागमा दालभात कसैको पुरपुरोमा हात

blog

बैतडी समाचारदाता

बैतडी, पुस १५ गते । शिक्षकले तलबबाहेक पाउने थप सुविधा भनेको घरनजिकको विद्यालयमा अध्यापनको मौका मात्रै हो तर अङ्ग्रेजी विषय पढाउने शिक्षक गणेशदत्त पाण्डेयको जीवनमा भने यो सुविधा कहिल्यै लागु भएन । उहाँ झिसमिसेमै उठेर विगत २७ वर्षदेखि दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य हुनुहुन्छ । दशरथचन्द नगरपालिका–४, जरगौँका पाण्डेय ४, ५ र ८ नम्बर वडाका आधा दर्जन विद्यालय छिचोलेर दशरथचन्द नगरपालिका–१०, बाराकोटास्थित दानेश्वर माविमा पुग्नुहुन्छ । 

निम्नमाध्यमिक तह तृतीय श्रेणीका शिक्षक गणेशको गाउँमै शिवस्थली मावि भए पनि आफ्नो गाउँमा पढाउने मौका पाउनुभएको छैन । उहाँ करिब दुई घण्टा हिँडेर अर्कै स्कुल पढाउन बाध्य हुनुहुन्छ । 

पैदल यात्रा हिँड्दा एक घण्टाको दुरीमा वीरेन्द्र मावि शाहीलेक, जगन्नाथ आधारभूत विद्यालय, डेढ घण्टाको दुरीमा दशरथचन्द मावि सुन्दरखाली र जगदम्बा मावि भए पनि उहाँ यी सबै विद्यालय छिचोलेर दानेश्वर मावि, बाराकोटमा पुग्नुहुन्छ । 

उमेर पनि ५९ वर्ष पुगेकाले हिँड्न नसक्दा कहिलेकाहीँ विद्यालय पुग्न तीन घण्टासम्म लाग्ने गरेको शिक्षक पाण्डेयले बताउनुभयो । समयमै विद्यालय पुग्न घाम नझुल्किँदै घरबाट हिँड्ने गरेको उहाँले बताउनुभयो । 

घरनजिकको विद्यालयमा सरुवाका लागि राजनीतिक पहुँच चाहिने भएकाले कसैले सहयोग नगरेको उहाँले बताउनुभयो । शिक्षा क्षेत्र हेर्ने निकायले काम गर्ने र नगर्ने शिक्षकको स्पष्ट मूल्याङ्कन नगर्दा दुःख लागेको पाण्डेयले बताउनुभयो । 

नेता शिक्षकबाट नियमित विद्यालय जाने आफू जस्ता इमानदार शिक्षक उल्टै पीडित बन्ने गरेको गुनासो उहाँको छ । शिक्षकलाई घरपायक सुविधा भन्ने नारा ‘कसैलाई दालभात त कसैलाई कपालमा हात’ जस्तै बनेको पीडा उहाँले सुनाउनुभयो । विसं २०३८ देखि शिक्षण पेसा अपनाउँदै आएका पाण्डेय २०४१ सालमा अङ्ग्रेजी विषयको शिक्षक सेवा पास गरेपछि स्थायी हुनुभएको होे ।

तीन वर्षको करार अवधिपछि अनवरत ४२ वर्षसम्म जिल्लाका दुर्गम विद्यालयमा शिक्षण गरेको अनुभव उहाँले सुनाउनुभयो । शिक्षक सेवा पास गरेपछि गाउँकै शिवस्थली विद्यालयबाट निङ्लासैनी मावि देहीमाडौँमा सरुवा भएको थियो । त्यसपछि विकट चौखामस्थित उदय मावि च्वाँगन्सुर भएको हो । 

बझाङको सिमानामा बसेर त्यहाँ पनि पैदल हिँडेर दुई वर्ष पढाएका शिक्षक पाण्डेयको गाउँलाई सडकले छुन सकेको छैन । घरबाट आधा घण्टा हिँडेर पक्की सडकमा पुगिने भए पनि झुलाघाट सडकखण्डमा चल्ने सवारीसाधन नियमित नपाइने भएकाले उहाँ दुई घण्टा हिँडेर विद्यालय आउने जाने गर्नुहुन्छ । 

अनुभवी शिक्षक पाण्डेयलाई स्थानीय जनप्रतिनिधि, अभिभावक र विद्यालयले सम्मान र माया दिएको दानेश्वर माविका प्रधानाध्यापक हरकसिंह विष्टले बताउनुभयो । विद्यालयको वार्षिकोत्सव होस् वा अन्य सामाजिक कार्यमा उहाँलाई सम्मान गर्ने गरिएको उहाँले बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले शिक्षक पाण्डेय इमानदार र जिम्मेवारी निर्वाह गर्ने कुशल शिक्षक रहेको बताउनुभयो । उहाँप्रति सहानुभूति राख्दै एकाइ प्रमुख अवस्थीले भन्नुभयो, “सरुवाका लागि दुवैतर्फका विद्यालयको सहमति आवश्यक पर्ने भएकाले चाहेर पनि सिधै सरुवा गर्न नसकिएको हो ।”