ललिता साह
वोदेवर्साइन, (सप्तरी), पुस १४ गते । सप्तरीको जिल्ला ट्राफिक कार्यालय जीर्ण अवस्थामा छ । सप्तरी ट्राफिक प्रहरी कार्यालय देशको पुरानोमध्येको एक हो। वर्षौँदेखि कार्यालयको भौतिक संरचना निर्माणमा कसैको चासो नहुँदा यहाँको भवन जीर्ण बनेको छ ।
कार्यालय प्रमुखको रूपमा इन्स्पेक्टर सहित ३२ जनाको दरबन्दी रहेको यहाँको भवनमा स्थापना कालदेखि हालसम्म २६ वटा कार्यालय प्रमुख फेरिसक्यो तर कार्यालय भवन कहिले बनेन् ।२०७२ को भूकम्प यता भवन कामकाज सञ्चालन गर्नै नसक्ने तथा बस्नै नसक्ने गरी जीर्ण भइसकेको कार्यालय प्रमुख मेदनी प्रसाद साहले बताउनुभयो । २०५५ मा स्थापना भएको यो कार्यालयले सप्तरीको सडक सुरक्षादेखि यातायात व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनमा सन्तोषजनक काम गर्दै आइरहेको छ ।
कार्यालय संरचना मर्मत र पूर्ण निर्माणको लागि कार्यालयले सरोकारवाला निकायहरूलाई दर्जनौँ पत्रमार्फत आग्रह गरिसकेको छ । तर वर्षौँ बितिसक्दा नेपाल सरकारले भवन निर्माणमा चासो नलिँदा कार्यालय प्रमुखदेखि ट्राफिक प्रहरी जवानहरूलाई बस्न समस्या भएको हो ।
"कार्यालयको आफ्नै प्रशस्त जग्गा हुँदाहुँदै भवन अभावमा हामीलाई भाडाको घरमा बस्नु परेको छ," कार्यालय प्रमुख साहले भन्नुभयो । राती ड्युटी हुने धेरैले त चर्केको जीर्ण भवनमा ज्यानको जोखिम उठाएर पनि बस्नु परेको पेसागत बाध्यता रहेको ट्राफिक प्रहरी जवानहरू बताउनुहुन्छ ।