• १५ असार २०८२, आइतबार

प्रशासन कार्यालयबाटै नागरिकता व्यवस्था गर्न माग

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुस १४ गते । लिखु गाउँपालिका-६, ७, ८ र ९ वडाका नागरिकले इलाका प्रशासन कार्यालय खिजिफलाटेबाट नागरिकता प्राप्त गर्ने व्यवस्था गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा नागरिकता बनाउन टाढा र असाध्यै खर्चिलो भएकाले यहाँका स्थानीयले इलाका प्रशासन कार्यालय खिजिफलाटेमार्फत् नागरिकता लिने व्यवस्था गर्न माग गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले लिखु गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यी चार वडाका वडा अध्यक्षहरूले इलाका प्रशासन कार्यालय खिजिफलाटेमार्फत् वडाका नागरिकलाई नागरिकता दिने व्यवस्था गर्न माग गरेका छन् । गाम्नाङटार, टारकेराबारी र पोकलीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय आउनुभन्दा खिजिफलाटेको इलाका प्रशासन जान सहज हुने वडा अध्यक्षहरूको भनाइ छ । 

लिखुदेखि ओखलढुङ्गा सदरमुकामसम्म सिधै सडक जोडिएको भएपनि गाडी नपाइने भएकाले सिन्धुलीको नवलपुर वा रामेछापको मन्थली घुमेर मध्यपहाडी लोक मार्ग हुँदै जिल्ला प्रशासन आउनुपर्ने बाध्यता छ । नागरिकता लिन तीन दिन लाग्ने र पाँचदेखि दश हजार खर्च हुने स्थानीयको भनाइ छ । लिखुका नागरिकले नागरिकता लिन रामेछाप, सिन्धुली, उदयपुर घुमेर जिल्ला प्रशासन पुग्नुपर्ने भएकाले समय र पैसा धेरै लाग्ने साथै कुनै कागजात अपुग वा प्रक्रिया नपुगे फर्केर जानुपर्दा दोहोरो सास्ती हुने गरेको छ । 

स्थानीयको मागको सम्बन्धमा गृह मन्त्रालयमा पत्र पठाइएको र निर्णय आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणप्रसाद गौतमले बताउनुभयो । जिल्ला प्रशासनमार्फत ताकेता गर्न लिखु गाउँपालिका–९ पोकलीका वडा अध्यक्ष केशवहरि ढुङ्गेलले अनुरोध गर्नुभएको छ । लिखु गाउँपालिकाले आफ्ना चार वडाका नागरिकलाई इलाका प्रशासनमार्फत नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासनबाट गृह मन्त्रालयमा लिखित माग गरिएको जनाइएको छ । गाम्नाङटार, टारकेराबारी र पोकलीदेखि पैदल हिँडेरै करिब तीन घण्टामा इलाका प्रशासन कार्यालय खिजिफलाटे पुग्न सकिने स्थानीयले बताएका छन् ।